News Summary
Generated by OK AI. Editorially reviewed.- नेत्रा र वाम्सी गदिराजुको विवाह नोभेम्बर २३ मा उदयपुरको जगमन्दिर आइल्याण्ड प्यालेसमा शाही शैलीमा आयोजना हुँदैछ।
- विवाहमा हलिउड स्टार जेनिफर लोपेज र अमेरिकी गायक विज खलिफा लगायत बलिउडका रणवीर सिंह, वरुण धवन, कृति सेननले प्रस्तुति दिएका छन्।
- जेनिफर लोपेजले सन् २०१५ मा संजय हिन्दुजाको विवाहमा साढे ६ करोड भारु पारिश्रमिक लिएकी थिइन् र यस विवाहमा पनि ठूलो पारिश्रमिक दिइएको छ।
मुम्बई । भारतीय मूलका अमेरिकी अर्बपति राजु मन्टेना र पद्मजा मन्टेनाकी छोरी नेत्राको विवाह राजस्थानको उदयपुरमा शाही शैलीमा आयोजना हुँदैछ । त्यहाँ सहभागी हुन हलिउड र बलिउडका हस्ती पुगेका छन् ।
रणवीर सिंह, वरुण धवन, कृति सेनन, जान्हवी कपूर र ज्याकलिन फर्नान्डेजले आफ्नो सांगीतिक प्रस्तुतिमा आफ्नो ग्ल्यामर थप्नेछन् । हलिउड स्टार जेनिफर लोपेज पनि भारत पुगेकी छिन् ।
अभिनेत्री लोपेज मन्टेनाको भव्य विवाहमा भाग लिन त्यहाँ पुगेकी छिन्, जसले वाम्सी गदिराजुसँग विवाह गर्दैछिन्, र ती दुई अमेरिकाका लोकप्रिय जोडी हुन् ।
रिपोर्टअनुसार, यस शाही विवाहमा पैसाको खोलो बगाइएको छ । प्रस्तुति दिने सेलिब्रेटीलाई राम्रो पारिश्रमिक दिइएको छ, जसमा जेनिफर पनि समावेश छिन् ।
लोपेज भारत पुग्ने वित्तिकै विमानस्थलमा उनलाई फ्यान र पापाराजीले घेरेका थिए । जेनिफरले चुम्बन फ्याँकेर मुस्कुराउँदै हात हल्लाइन् । उदयपुरमा जेनिफरको यो पहिलो प्रस्तुति भने होइन । उनले यसअघि सन् २०१५ मा संजय हिन्दुजाको विवाहमा प्रस्तुति दिएकी थिइन् ।
’एनडीटीभी’ को रिपोर्ट अनुसार, लोपेज सन् २०१५ मा संजय हिन्दुजा र अनुसूया महतानीको विवाहमा उपस्थित भएकी थिइन् । यसको लागि उनले साढे ६ करोड भारु पारिश्रमिक लिइन् । त्यतिबेला उनलाई विलासी कोहिनूर सुइटमा राखिएको थियो, जसको प्रति रातको मूल्य ३ लाख भारु रहेको बताइएको छ ।
यसैबीच, उक्त विवाहमा प्रस्तुति दिन विश्वचर्चित अमेरिकी गायक विज खलिफा पनि भारत पुगेका छन् ।
नेत्र र वंशीको विवाह नोभेम्बर २३ मा उदयपुरको पिचोला तालको बीचमा रहेको जगमन्दिर आइल्याण्ड प्यालेसमा हुने जनाइएको छ ।
उनीहरूको विवाह उत्सव नोभेम्बर २४ सम्म जारी रहनेछ । विवाह उत्सवहरू द लीला प्यालेसमा आयोजित संगीत समारोहबाट सुरु भयो । नेत्रा र वाम्सी गदिराजुको ‘म्युजिकल नाइट’ कार्यक्रम करण जोहरले सञ्चालन गरेका थिए र रणवीर सिंहले प्रस्तुतिबाट मन जिते ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई ‘ह्वाट झुम्का’ गीतमा नाच्न लगाए । केही वर्षअघि जामनगरमा भएको भारतीय अर्बपति मुकेश अम्बानीको छोराको विवाहमा रिहाना, जस्टिन बिबर लगायतले प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया 4