१० मंसिर, म्याग्दी । विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेन्डिसाइटिस’ र ‘हर्निया’ लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।
विशेषज्ञ डा. अशोक पन्त १ मंसिरदेखि राजीनामा दिएर गएको र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अर्का चिकित्सक पठाउन नसक्दा सेवा बन्द भएको हो । गत १५ कात्तिकदेखि बन्द भएको शल्यक्रियामार्फत गरिने प्रसूति सेवा पनि अझै सुरु भएको छैन । अस्पतालको करार दरबन्दीमा कार्यरत चिकित्सक सरोज यादवले राजीनामा दिएपछि शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि बागलुङ र पोखरा जानुपर्ने बाध्यता सुरु भएको छ ।
प्रदेश सरकारले विषेशज्ञ चिकित्सक खटाउन ढिलाइ गर्दा शल्यक्रियामार्फत गरिने प्रसूति सेवाका लागि समय र रकम खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको बेनीका स्थानीय दिनेश ढुङ्गानाले गुनासो गरे । सेवा बन्द हुँदा म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका सर्वसाधारण मर्कामा परेका छन् । म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चिकित्सकको व्यवस्थाका लागि स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई ताकेता गरेको बताए ।
‘चिकित्सक खटाउन स्वास्थ्यमन्त्रीलाई दैनिकजसो फोन गरेर ताकेता गरेका छौँ,’ उनले भने, ‘एक दुई दिनमा चिकित्सक आउने प्रतिबद्धता जनाए पनि ढिलाइ भएको छ ।’
गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समिति प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पताल नेतृत्वविहीन भएका हुन् ।
बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले बताए । वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको २०७४ सालदेखि सुरु भएको भवन निर्माणले पूर्णता नपाउनु र दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौती बनेको छ ।
प्रतिक्रिया 4