News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-३ जुकोटमा दुईवटा भवन स्थानीयको विरोधका कारण चार वर्षदेखि अलपत्र अवस्थामा छन्।
- गाउँपालिकाले भवन निर्माणमा २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च गरेको सूचना अधिकारी सुविस्तबहादुर शाहीले बताए।
- स्थानीयले भवन निर्माणमा सहकार्य नगरेको र तल्लो जुकोट र माथिल्लो जुकोटबीच विवादले भवन प्रयोगमा आउन नसकेको जसवीर विकले बताए।
११ मंसिर, बाजुरा। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-३ जुकोटमा करोडौं खर्च गरेको भवन स्थानीयको विरोधपछि अलपत्र अवस्थामा परेको छ।
पालिकाले क्याम्पस स्थापना गर्ने भन्दै बनाएका दुईवटा भवन प्रयोगविहीन भएर अलपत्र अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।
उनले भने, ‘म निर्वाचित हुनुभन्दा अघिल्लो कार्यकालमा निर्माण भएको हो। निर्वाचित भएपछि प्रयोगका लागि प्रयास गरेका थियौं, तर स्थानीयको विवादले प्रयोग गर्न सकेनौं।’
उनका अनुसार जुकोटको डाँडामा रहेका उक्त भवन निर्माण भएको ४ बर्ष बढी भइसकेको छ । उक्त जग्गा खरिद तत्काल शम्भुसुन्दा माविका नाममा गरिएको थियो। प्रयोगमा नआएर बनाएका संरचना पनि ध्वस्त हुने अवस्थामा पुगेका छन् ।
उक्त ठाउँमा भवन निर्माणका लागि २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको पालिकाका सूचना अधिकारी सुविस्तबहादुर शाहीले बताए ।
उनले भने, ‘जग्गा खरिदमा ७ लाख ७१ हजार १ सय ९०, भवन निर्माणमा १ करोड ५८ लाख ८९ हजार १ सय ३६ र पर्खाल निर्माणमा ६० लाख खर्च गरेको थियो । भवन निर्माणको ठेक्का भने ३ करोड बढीमा गरेको थियो। तर अहिले भवन प्रयोगविहीन बनेका छन्। भवनका कोठामा गाइ गोरु बस्छन्।’
जुकोट स्वास्थ्य चौकी जीर्ण र पुरानो भवनमा सञ्चालनमा छ। वडा कार्यलयको पनि आफ्नो भवन छैन। तर निर्माण भएको नयाँ भवनमा सेवा सञ्चालन गर्न खोज्दा स्थानीयहरूको तीव्र विरोधका कारण प्रयोगमा आउन नसककेको सूचना अधिकारी शाहीको भनाइ छ ।
‘जुकोट स्वास्थ्य चौकी जीर्ण भइसकेको अवस्थामा छ। वडा कार्यालयको समेत आफ्नै भवन छैन। तर निर्माण भएको नयाँ भवनमा सञ्चालन गर्न खोज्दा स्थानीयको अवरोध छ।’ उनले भने।
जुकोटका स्थानीय ४८ वर्षीय जसवीर विकले भने वडा कार्यालय र स्वास्थ्य चौकी तल र स्कुलमाथि भएकाले स्थानीयहरूले निर्माण भएको भवनमा आउन नचाहेको बताए।
उनले भने, ‘निर्माण भएको भवन हाम्रो स्कुलको नाममा खरिद भएको हो। तर हामीलाई नसोधी बनाइयो। हामी कसरी त्यो भवनमा जान्छौं ?’ उनका अनुसार गाउँपालिकाले स्थाद्दीयसँग सहकार्य नगरीकनै भवन निर्माण गरेको हो।
तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवनलाई प्रयोगमा ल्याउन प्रयास गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4