+
+
WC Series
पोखरा एभेन्जर्स 2025
4/0 (0.2)
VS
कर्णाली याक्स 2025
0/0
Shares

बाल अस्पताल निर्माण प्रगतिबारे मन्त्री कुलमानले गरे स्थलगत निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पताल निरीक्षण गरेका छन्।
  • कियोच नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा दुई सय शैयाको अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल निर्माण गरिरहेको छ।
  • सरकारले अस्पताल निर्माणका लागि करिब ४१ रोपनी जग्गा लिजमा उपलब्ध गराएको र संघीय तथा बागमती प्रदेश सरकारले अनुदान रकम दिने निर्णय गरेको छ।

१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पताल निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पताल निरीक्षण गरेका हुन् ।

घिसिङले सोमबार झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गरेका थिए । अस्पतालको मुख्य भवन निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा. कोइरालासँग छलफल गर्नुका साथै स्थलगत निरीक्षण गरेका थिए ।

अस्पतालमा चालू आर्थिक वर्षमा संघीय सरकारले ८ करोड र बागमती प्रदेश सरकारले १ करोड रुपैयाँ अनुदान विनियोजन गरेका छन् । यसमध्ये संघीय सरकारको तीन करोड र प्रदेश सरकारको एक करोड बूढानीलकण्ठ नगरपालिकामार्फत अस्पतालको भवन निर्माणमा खर्च हुनेछ । बाँकी ५ करोड रुपैयाँ उपकरण खरिदमा खर्च हुनेछ ।

विभिन्न आर्थिक वर्षमा भवन निर्माणमा सरकारले विनियोजन गरेको ७ करोड २९ लाख रुपैयाँ खर्च भई त्यसको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षणसमेत भइसकेको छ ।

डा. कोइरालाको अगुवाइमा अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको बाल अस्पताल बनाउन लागिएकाले त्यसको प्रशंसा गर्दै मन्त्री घिसिङले अस्पताललाई सरकारकातर्फबाट आवश्यक सहयोग रहने बताए ।

उनले भने, ‘दमकमा सञ्चालित बाल अस्पताल निरीक्षण गर्यौं, उक्त अस्पतालबाट त्यस क्षेत्रमा ठूलो सेवा पुगेको रहेछ, काम गर्न सक्नेलाई देशको समग्र क्षेत्रको विकासका लागि थप जिम्मेवारी दिएर अगाडि बढाउन जरुरी छ ।’ उनले अस्पताल निर्माणमा सहयोग गर्ने सबै दातालाई धन्यवाद दिए ।

सबै नेपालीको पहुँच पुग्नेगरी अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न बाल अस्पतालको निर्माण गरिएको उल्लेख गर्दै डा. कोइरालाले अस्पताल गैरनाफामूलक, समाज सेवामा विशेष केन्द्रित हुने र कमजोर वर्गले पनि गुणस्तरीय उपचार पाउने बताए ।

उनले बालमृत्युदर उच्च रहेको कर्णाली प्रदेशमा अस्पताल निर्माणका लागि पहल भइरहेको उल्लेख गरे । डा. कोइरालाले सात प्रदेशमा बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?