News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साका सात जना प्रभावशाली युवा नेताले नेकपाको नेतृत्व अस्वीकार गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका छन्।
- यी नेताहरूले नेकपाको नेतृत्व वृद्धहरूले कायम राखिएको र नयाँ पुस्ताको माग सम्बोधन हुन नसकेको असन्तुष्टि पोखेका छन्।
- सात युवा नेताले नयाँ संगठनात्मक विधि र विचारसहित जनताको बीचमा गई प्रलोपा मार्फत समानुपातिक समावेशी प्रतिनिधित्वका लागि काम गर्ने निर्णय गरेका छन्।
१९ मंसिर, काठमाडौं । विभिन्न दल र वामपन्थी घटकबीच एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व अस्वीकार गर्दै पर्साका सात जना प्रभावशाली युवा नेता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा समाहित भएका छन् ।
तत्कालीन माओवादी केन्द्रका युवा नेता सन्तोष घिमिरे, नेवा: राष्ट्रिय मुक्ति मोर्चा नेपा: का केन्द्रीय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभ बच्चन दास लगायतका नेता जनार्दन शर्मा, बाबुराम भट्टराईहरूको अग्रसरतामा बनेको प्रलोपामा समाहित भएका हुन् ।
यस्तै साविकको माओवादीकै पर्सा क्षेत्र २ का क्षेत्रीय संयोजक सुनिल रौनियार, पर्साकै कालिकामाई गाउँपालिकाका इन्चार्ज दिनेश प्रसाद यादव, युवा नेता फनिद्र प्रसाद गुप्ता र अखिल क्रान्तिकारीकै केन्द्रीय लेखा आयोग उपाध्यक्ष रहेकी गायत्री सिंहले प्रचण्डको साथ छाडेका छन् ।
देशमा विकसित भएको राजनीतिक परिवर्तनपछि पनि कम्युनिस्ट पार्टीको कार्यशैली नसच्चिएको भन्दै जनवादी केन्द्रियताका नाममा गोजीबाट नेतृत्व छान्ने प्रवृत्ति कायम रहेको उनीहरूको निष्कर्ष छ ।
पार्टी एकताका नाममा जनताले तिरस्कार गरिसकेको पुस्तालाई समेटेर बनेको नेकपाको नेतृत्वमा वृद्धहरू नै कायम राखिएको प्रति उनीहरूले असन्तुष्टि पोखेका छन् ।
प्रचण्ड, माधव नेपाल लगायतको नेतृत्वबाट आजको पुस्ताको माग सम्बोधन हुन नसक्ने पर्साका युवा नेताहरूको ठहर छ ।
‘एआई पुस्ताले चाहेको राजनीतिक नेतृत्व सम्भव नरहेको तथ्यप्रति सहमत हूँदै नि:शुल्क शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्याय, संघीयता र जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वका लागि नेपाली समाजवाद प्राप्तिको निम्ति नयाँ संगठनात्मक विधि र विचारसहित जनताको बीचमा गई क्षेत्रीय, जातीय, लैङ्गिक लगायतका आम मुद्दालाई वर्गीय मुक्ति गर्नका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा समाहित हुने निर्णय गरेको तथ्य सार्वजनिक गर्दछौं,’ सात युवा नेताले जारी गरेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया 4