+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

चेपाङ विद्यार्थीले बनाएको नानो स्याटेलाइट चीनबाट प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते ११:५९

२४ मंसिर, काठमाडौं । चेपाङ विद्यार्थीहरुले बनाएको भूउपग्रह (स्याटेलाइट) चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यो स्याटेलाइट बिहान पौने दस बजे प्रक्षेपण गरिएको हो ।

उक्त स्याटेलाइट अहिले अन्तरिक्ष पुगिसकेको प्रोजेक्ट म्यानेजर रिसभ अधिकारीले जानकारी दिए । ‘अन्तरीक्ष पुगिसक्यो । अब १२ बजे त्योसँग अनलाइन कनेक्सन हुन्छ । त्यसको लागि नास्टको ग्राउन्ड स्टेसनमा हामी पुग्दैछौँ । अनलाइन कनेक्सनमा आएपछि हामीले प्रारम्भिक सफलता हात पारेको मानिन्छ,’ अधिकारीले अनलाइनखबरसँग भने ।

एक किलो २० ग्राम तौलको यो ट्युब आकारको नानो स्याटेलाइटमा दुईवटा उच्च क्षमताका क्यामेरा जडान गरिएको छ । यी क्यामेराले नेपालको वनस्पति आवरण र जलस्रोतको वास्तविक समयको तस्वीर तथा डेटा संकलन गर्नसक्छन् ।

स्याटेलाइटको अर्को महत्त्वपूर्ण विशेषता भनेको भूकम्पको पूर्वसूचना प्रणाली हो । भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्गहरू मापन गरी पूर्वसूचना दिने प्रविधि यसमा समावेश गरिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए ।

साथै, स्याटेलाइटमा विद्युतीय चुम्बकीय प्रणाली (इलेक्ट्रोम्याग्नेट) जडान गरिएको छ, जसले पृथ्वीबाटै स्याटेलाइटको गति रोक्न र कक्ष परिवर्तन गर्नसक्छ ।

मूल योजना अनुसार यो स्याटेलाइट कम्तीमा ५ वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको थियो। तर, हाल सूर्यको २५औँ सौर्य चक्र (सोलार साइकल) आफ्नो उच्चतम बिन्दु (सोलार म्याक्सिमम) मा पुगेकाले सौर्य विकिरणको तीव्रता अत्यधिक रहने अनुमान छ । यसले स्याटेलाइटको कक्षीय आयु (अर्बाइटल लाइफटाइम) छोट्याउने जोखिम रहेकोले अब कम्तीमा डेढ वर्षसम्म मात्र सञ्चालन हुने प्रक्षेपण टोलीको अनुमान छ । यो परियोजना एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । परियोजनामा चितवनका चेपाङ समुदायका बालबालिकालाई पनि संलग्न गराइएको थियो ।

स्याटेलाइटबाट प्रसारित सबै डेटा विश्वभरका वैध एमेच्योर रेडियो फ्रिक्वेन्सी लाइसेन्सधारी व्यक्ति तथा संस्थाले निःशुल्क प्राप्त गर्न र उपयोग गर्न सक्नेछन् । ‘स्लिपर्स टु स्याट’ नेपालबाट निजी क्षेत्रको समन्वयमा बनाइएको तेस्रो स्याटेलाइट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?