News Summary
Generated by OK AI. Editorially reviewed.- वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्दै सोरा एआई भिडियो जेनेरेटरमा स्टार वार्स, पिक्सार र मार्वल पात्र प्रयोग गर्न अनुमति दिएको छ।
- डिज्नी र ओपनएआईबीच ३ वर्षे सम्झौताअनुसार सन् २०२६ देखि मिकी माउस, सिन्ड्रेला र मुफासा पात्र प्रयोग गरेर भिडियो उत्पादन सुरु हुनेछ।
- कलाकार र मनोरञ्जनकर्मीको युनियनहरूले डिज्नी र ओपनएआईसँग रचनात्मक श्रमको सम्मान र क्षतिपूर्तिको विषयमा छलफल गरिरहेका छन्।
रोयटर्स । वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ ।
यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ ।
बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सलाई अँगाल्ने एउटा महत्वपूर्ण कदम हो । रचनात्मक रोजगारी र बौद्धिक सम्पत्ति अधिकारमा एआईले पार्न सक्ने सम्भावनाबारे चिन्ता व्यक्त भइरहँदा दुई ठूला कम्पनीबीच यस्तो सम्झौता भएको हो ।
सम्झौताको एक भागको रूपमा, सोरा र च्याटजीपीटी इमेजेजले सन् २०२६ को सुरुदेखि नै मिकी माउस, सिन्ड्रेला र मुफासा जस्ता इजाजतपत्र प्राप्त डिज्नी पात्रलाई प्रयोग गरेर भिडियो उत्पादन गर्न थाल्नेछन् ।
“ओपनएआईसँगको यो सहकार्य मार्फत हामी सिर्जनाकर्ता र उनीहरूका कामको सम्मान र संरक्षण गर्दै जेनेरेटिभ एआईमार्फत हाम्रो कथावाचनको पहुँचलाई विचारशील र जिम्मेवारीपूर्वक विस्तार गर्नेछौं,’ डिज्नीका सीईओ बब इगरले भने ।
जेनेरेटिभ एआईको विस्तारित प्रयोगको निगरानी गरिरहेका हलिउडका पेशागत संस्थाहरूले सम्झौताप्रति सावधानीपूर्वक प्रतिक्रिया जनाएका छन् ।
सीईओ इगर र ओपनएआईका साम अल्टम्यानले डिज्नीका पात्र र कथासँग मिलाएर जेनेरेटिभ एआईको सम्भावना प्रदर्शन गर्ने तरिकाहरूबारे वर्षौंदेखि छलफल गरेका थिए ।
ओपनएआईसँगको सम्झौताको एक भागको रूपमा, प्रयोगकर्ताद्वारा चयन गरिएका भिडियोलाई डिज्नी प्लसमा स्ट्रिमिङको लागि उपलब्ध गराइनेछ, जसले स्ट्रिमिङ प्लेटफर्मलाई छोटो भिडियो सामग्रीको लागि अझै बलियो तुल्याउनेछ ।
हलिउडको क्रिएटिभ आर्टिस्ट एजेन्सीले सोरा मार्फत कलाकारलाई जोखिममा पार्ने प्रयास भैरहेको र यस्तोमा व्यवसायिक रचनात्मक कलाकारलाई उनीहरूको कामको लागि क्षतिपूर्ति दिइनेछ कि छैन भनेर प्रश्न गरेको महिनौं पछि यो साझेदारी निर्माण भएको हो ।
एनिमेसन गिल्डका अध्यक्ष ड्यानी लिनले कलाकारको लागि क्षतिपूर्तिको कुरा चिन्ताको विषय भएको बताए । राइटर्स गिल्ड अफ अमेरिकाले आफ्ना सदस्यको श्रमको कति भाग प्रयोगकर्ता–उत्पन्न भिडियोहरूमा प्रयोग गरिन्छ भनेर थाहा पाउन डिज्नीसँग भेट्ने बताएको छ ।
कलाकार र अन्य मनोरञ्जनकर्मीको प्रतिनिधित्व गर्ने साग- आफट्राले डिज्नी र ओपनएआईको यो सम्झौताले प्रविधिको नैतिक र जिम्मेवार प्रयोग सुनिश्चित गर्ने आश्वासन दिन युनियनलाई सम्पर्क गरेको बताएको छ ।
प्रतिक्रिया 4