News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, रूस, चीन र जापानसँग मिलेर नयाँ समूह कोर फाइभ (सी-५) ल्याउने तयारी गरिरहेका छन्।
- सी-५ समूहले ग्रुप सेभेन (जी७) को स्थान लिनेछ र यसको पहिलो एजेन्डा इजरायल-साउदी अरबबीचको सम्बन्ध सुधार्ने हुनेछ।
- ट्रम्पको योजना शक्तिशाली देशहरूलाई समेट्ने नयाँ मञ्च बनाउने हो जसमा लोकतान्त्रिक देशहरू मात्र हुनु आवश्यक छैन।
२७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, रूस, चीन र जापानसँग मिलेर एउटा नयाँ समूह कोर फाइभ (सी-५) ल्याउने तयारी गरिरहेका छन्। अमेरिकी वेबसाइट ‘पोलिटिको’ का अनुसार यो मञ्चले ग्रुप सेभेन (जी७) देशहरूको स्थान लिनेछ।
जी७ धनी र लोकतान्त्रिक देशहरू (अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानाडा, इटाली र जापान) को मञ्च हो। यद्यपि, ट्रम्पको चाहना शक्तिशाली देशहरूलाई लिएर एउटा नयाँ मञ्च बनाउने छ।
यस बारेमा अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। तर पोलिटिकोका अनुसार सी५ वाला यो नयाँ विचार वास्तवमा राष्ट्रिय सुरक्षा रणनीतिको एक लामो ड्राफ्टमा लेखिएको थियो। यो ड्राफ्ट सर्वसाधारणका लागि सार्वजनिक गरिएको छैन ।
पोलिटिकोले यो लामो ड्राफ्टको थप अवस्था बारे केही पुष्टि गर्न नसके पनि अर्को मिडिया ‘डिफेन्स वन’ ले यसको पुष्टि गरेको छ। ट्रम्पले यस पहलका लागि बाँकी ४ देशहरूसँग कुनै कुरा गरेका छन् वा छैनन् भन्ने जानकारी भने छैन।
सी५ को पहिलो एजेन्डा- इजरायल-साउदी सम्बन्ध सुधार्ने
रिपोर्टका अनुसार यो समूह बनाउनुको पछाडिको उद्देश्य एउटा फरक नयाँ मञ्च तयार पार्नु हो जसमा केवल ठूलो शक्ति राख्ने देशहरू मात्र अटाउने छन् । ती देशहरू लोकतान्त्रिक हुनैपर्छ भन्ने छैन ।
रिपोर्टमा भनिएको छ- ‘कोर फाइभ’ वा सी५ मा अमेरिका, चीन, रूस, भारत र जापान समावेश हुनेछन्। यस्ता देशहरू जसको जनसङ्ख्या १०० मिलियन (१० करोड) भन्दा बढी छ। यसले जी७ जस्तै नियमित बैठकहरू गर्नेछ र विशेष मुद्दाहरूमा सम्मेलनहरू हुनेछन्।
सी५ को पहिलो बैठकको एजेन्डा मध्यपूर्वको सुरक्षा, विशेष गरी इजरायल र साउदी अरबबीचको सम्बन्धलाई सामान्य बनाउने विषयमा केन्द्रित हुनेछ।
ट्रम्पको सोचसँग मेल खाँदैछ सी५ बनाउने योजना
पहिले यस्तो योजना असम्भव लाग्थ्यो। तर अब सी५ को योजना ट्रम्पको सोचसँग मेल खाने विश्लेषकहरू बताउँछन्। राष्ट्रपति डोनाल्ड ट्रम्प अक्सर प्रतिस्पर्धी देशहरूसँग सीधा सम्झौता गर्ने प्रयास गरिरहेका छन्।
उदाहरणका लागि, बेइजिङलाई एनभिडियाको एच२०० एआई चिप्स बिक्री गर्न अनुमति दिनु, वा आफ्ना दूत स्टिभ विटकोफ र जेरेड कुश्नरलाई मस्को पठाएर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सीधा कुराकानी गर्न लगाउनु।
ट्रम्प प्रशासनमा काम गरिसकेका एक अधिकारीले (नाम गोप्य राख्ने शर्तमा) पोलिटिकोसँग अमेरिका, चीन, भारत, जापान र रूस वाला सी५ विचार बिल्कुलै अचम्मलाग्दो नरहेको बताएका छन् ।
उनले ट्रम्पसँग पहिले सी५ माथि कहिल्यै आधिकारिक चर्चा भएको थिएन तर जी७ वा संयुक्त राष्ट्रसंघ आजको संसारको हिसाबले प्रभावकारी नरहेको बारे भने कुरा भएका थिए । वैश्विक शक्ति समीकरणहरू बदलिसकेका पृष्ठभूमिमा यसबारे ट्रम्पसँग कुराकानी हुने गरेको उनले बताए ।
बाइडेन प्रशासनको समयमा राष्ट्रिय सुरक्षा परिषदमा युरोप मामिलाकी निर्देशक रहेकी टोरी टाउसीगले सी५ को विचार ट्रम्पले संसारलाई हेर्ने तरिकासँग मेल खाने बताइन् । यस्तोमा विचारधाराभन्दा शक्तिशाली नेताहरूसँगको तालमेल र ठूला शक्तिहरूसँग काम गरेर उनीहरूलाई आ-आफ्नो क्षेत्रमा प्रभाव कायम राख्ने मौका दिइने उनको तर्क छ ।
ट्रम्पको अघिल्लो नीतिभन्दा फरक छ यस पटकको विचार
पहिलो ट्रम्प सरकारमा सिनेटर टेड क्रूजका सल्लाहकार रहेका माइकल सोबोलिकले सी५ को विचार ट्रम्पकै पहिलो कार्यकालको चीन नीतिभन्दा बिल्कुल उल्टो रहेको बताए ।
उनले भने, ‘पहिलो ट्रम्प सरकारले ‘महान शक्ति प्रतिस्पर्धा’ को ढाँचा अपनाएको थियो र चीनसँगको सम्बन्धलाई त्यही नजरबाट हेरिन्थ्यो, तर यो त्यसभन्दा बिल्कुलै फरक दिशा हो।’
तर ट्रम्प प्रशासनले नयाँ विश्व व्यवस्था तयार गर्न काम गरिरहेको यो पहिलो पटक भने होइन। रक्षा मन्त्री पीट हेगसेथले नोभेम्बरमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको जी२ बैठकको बारेमा उल्लेख गरेका थिए।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4