News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताएका छन्।
- कार्कीले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरेका छन्।
- उनले यस्ता प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी आवश्यक रहेकोमा जोड दिए ।
२८ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरे ।
जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन् ।
विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताउँदै उनले भने, ‘मुलभूत रुपमा नेपाल प्रहरीका थुप्रै संरचनाहरु आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रुपमा पर्छ ।’
‘यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ,’ उनले थपे ।
उनले यस्ता प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी आवश्यक रहेकोमा जोड दिए । त्यसतर्फ ध्यान दिन उनले सबै प्रहरी तथा कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
‘नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले मात्रै मुलुकभरीमा शान्ति सुव्यवस्था कायम हुने यो शास्वत कुरा भएको हुनाले नागरिक र प्रहरीको सामिप्यतापूर्ण सम्बन्ध निरन्तर कायम राख्दै काम गर्न म हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिन्छु,’ आईजीपी कार्कीले भने ।
प्रतिक्रिया 4