News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा कराची सिटी एफसीलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ।
- रश्मी कुमारी घिसिङले ५२औं मिनेटमा हेडमार्फत एक मात्र गोल गरिन्।
- एपीएफ ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लेको छ र अन्तिम खेलमा इस्ट बंगालसँग प्रतिस्पर्धा गर्नेछ।
२८ मंसिर, काठमाडौं । रश्मी कुमारी घिसिङले गरेको एक मात्र गोलको मदतमा एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा आइतबार पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफका लागि रश्मीले ५२औं मिनेटमा एक मात्र गोल गरिन् । उनले रेनुका नगरकोटीको क्रसमा हेड मार्फत गोल गरेकी हुन् ।
दोस्रो जितपछि एपीएफ ३ खेलबाट ७ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । पहिलो खलमा नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गरेको एपीएफले दोस्रो खेलमा ट्रान्सपोर्ट युनाईटेड लेडिजसँग गोलरहित बराबरी खेलेको थियो ।
अब एपीएफले लिग चरणको अन्तिम खेलमा अर्को अपराजित टोली इस्ट बंगालसँग खेल्नेछ । इस्ट बंगालले २ खेलमा ६ अंक जोडेर हाल दोस्रो स्थानमा छ ।
लिग चरणमा शीर्ष २ हुने टोलीले आगामी शनिबार उपाधिका लागि खेल्ने छन् ।


प्रतिक्रिया 4