२८ मंसिर, काठमाडौं । सीमा सुरक्षाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले दुवैतर्फ (भारत-चीन) का सीमा नाकामा छलफल र बैठकलाई तीव्रता दिएको छ ।
पछिल्लो साढे दुई वर्षको तथ्यांक केलाउने हो भने भारतसँग मात्रै हजार ५३३ पटक सीमा सुरक्षाबारे छलफल र बैठक भएका छन् ।
सशस्त्र प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६२६ पटक नेपाल-भारतबीच सीमा सुरक्षाका विषयलाई लिएर बैठक तथा छलफल भएका छन् । जसमा सशस्त्र आईजीपी र एसएसबीका डीजीबीच १ पटक, एआईजीस्तरमा १२ पटक, डीआईजीस्तरमा ७ पटक, जिल्ला स्तरमा ३७ पटक छलफल भएको देखिन्छ ।
त्यस्तै बटालियन स्तरमा १८२ पटक, कम्पनीस्तरमा १५७ पटक, स्थानीय स्तरमा २३० पटक छलफल भएको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ मा ६८२ पटक नेपाल-भारतबीच सीमाबारे छलफल भएको छ । यो आर्थिक वर्षमा आईजी/डीजी स्तरको १ पटक, एआईजी स्तरको १० पटक, डीआईजी स्तरको ७ पटक, जिल्ला स्तरको २५ पटक भएको थियो । त्यस्तै बटालियन, कम्पनी र स्थानीय स्तरमा पनि छलफल भएका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ मा आईजी/डीजी स्तरमा १ पटक, एआईजी स्तरमा ४ पटक, डीआईजी स्तरमा ५ पटक र जिल्ला, स्थानीय स्तरमा गरी २२५ पटक छलफल भएका छन् ।
चीनतर्फ भने यही अवधिमा जम्मा ५० पटक सीमा सुरक्षाबारे छलफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १८, आर्थिक वर्ष २०८१/८२ मा २८ र चालु आर्थिक वर्ष २०८२/८३ मा ४ पटक सीमा सुरक्षाबारे छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले बताए ।
उत्तरी सीमाको तुलनामा दक्षिणी सीमातर्फ खुला सीमा भएको र मान्छेको आवतजावत समेत बढी भएकाले भारतीय पक्षसँग धेरै पटक छलफल भएको प्रवक्ता थापाको भनाइ छ ।
खुला सीमा हुनका साथै उत्तरतर्फ भन्दा दक्षिणतर्फ सीमाको समस्या बढी रहेको यो पनि तथ्यांकले इंगित गर्छ । सशस्त्रको उपस्थिति पनि दक्षिणतर्फ बाक्लो छ । सशस्त्र प्रहरीका २६० वटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । तीमध्ये २४९ बीओपी दक्षिणतर्फ छन् भने उत्तरतर्फ जम्मा ११ वटा मात्रै बीओपी छन् ।
३ हजार संयुक्त गस्ती
करिब पाँच महिनाको अवधिमा सीमा सुरक्षासम्बन्धी तीन हजारको हाराहारीमा संयुक्त गस्ती भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म २ हजार ८३२ संयुक्त सीमा गस्ती भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले बताए ।
उनका अनुसार यो तथ्यांक भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरीको संयुक्त गस्ती हो । चालु आर्थिक वर्षको पाँच महिनामा सशस्त्रको एकल सीमा गस्ती भने १२ हजार ८६५ रहेको डीआईजी थापाले बताए ।
आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ७९८ संयुक्त गस्ती भएको थियो । त्यतिबेला सशस्त्रको एकल गस्ती भने ३१ हजार ८१२ थियो । आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ८५१ संयुक्त सीमा गस्ती र ३१ हजार ५२३ सशस्त्रको एकल सीमा गस्ती भएको थापाले बताए ।
पिलर मर्मत सशस्त्रको सक्रियता
सशस्त्रले दशगजामा रहेका सीमा पिलरहरू मर्मतलाई प्राथमिकतामा राखेको देखिन्छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६९० सीमा स्तम्भको मर्मतसम्भार गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ हजार १३७ सीमा स्तम्भको मर्मतसम्भार गरिएको थियो । जसमध्ये १९७ सीमा स्तम्भरको मुख्य मर्मत अर्थात् ठूलो मर्मत गरिएको थियो । ४९४ सीमा स्तम्भरको सहायक मर्मत र १ हजार ४४६ सीमा स्तम्भरको सानो मर्मत गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ४९८ सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ। जसमा मुख्य ४८, सहायक १२६ र सानो मर्मत ३२४ छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने ५५ सीमा स्तम्भको मर्मतसम्भार गरिएको छ। जसमा मुख्य १३, सहायक ३९ र सानोमा ३ वटा छन् । यो सशस्त्र प्रहरीले गरेको मर्मतको तथ्यांक हो ।
त्यसैगरी भारतीय पक्षले पनि सीमाको मर्मत गरेको छ । तर नेपाली पक्षको तुलनामा भारतीय पक्षको सक्रियता भने निकै कम देखिन्छ ।

सीमा स्तम्भको नम्बर जोर-बिजोरको आधारमा नेपाली पक्ष र भारतीय पक्षले मर्मतसम्भार र रंगरोगनको काम गर्दै आएका छन् । जसमा भारतीय पक्षले भने नेपाली पक्षको तुलनामा एकदमै सानो संख्यामा सीमा स्तम्भको मर्मतसम्भार गरेको पाइएको छ ।
भारतीय पक्षले पछिल्लो तीन आर्थिक वर्षको अवधिमा जममा ९२५ सीमाको मर्मतसम्भार गरेको छ । जबकि, यो अवधिमा नेपली पक्षले करिब २ हजार ७०० सीमा स्तम्भको मर्मतसम्भार गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा मुख्य २०, सहायक ९ र सानो ३४९ गरी ३७८ सीमा स्तम्भ भारतीय पक्ष अर्थात् भारतीय सीमा सुरक्षा (एसएसबी)ले गरेको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ मा भने भारतीय पक्षले एउटा पनि सीमा स्तम्भको मर्मतसम्भार गरेको देखिँदैन ।
चालु आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म भने ५४७ सीमा स्तम्भको मर्मतसम्भार गरेको छ । जसमा मुख्य ६७, सहायक १९५ र सानो २८५ छन् ।
सीमा स्तम्भको मर्मतसम्भार सरकारले सशस्त्र प्रहरी बललाई दिएपछि सशस्त्रले मर्मतको काम सुरु गरेको हो । नेपाल भारत बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को पाँचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरका सीमा स्तम्भ भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरका सीमा स्तम्भ नेपालले मर्मतसम्भार गर्ने निर्णय भएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णयअनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरू सशस्त्र प्रहरी बल नेपाललाई मर्मतसम्भार गर्ने जिम्मेवारी प्राप्त भएबमोजिम अहिले मर्मतको कार्य भइरहेको छ ।
यसका साथै सशस्त्र प्रहरीले पछिल्लो समय सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम पनि गर्दै आएको छ । यो कार्यक्रमअन्तर्गत सामाजिक कार्यक्रमदेखि स्वास्थ्य शिविर, सिपमूलक तालिम, निर्माण कार्य, अन्तर्क्रिया, बृक्षरोपण, भाषा परीक्षण, जनचेतना कार्यक्रमलगायत गर्दै आएको छ ।
प्रतिक्रिया 4