हुन त, सामाजिक आन्दोलनको लडाइँ हिजो वा आज मात्रै सुरु भएको पक्कै होइन। आजभन्दा धेरै वर्ष अगाडि, ७०० ईसापूर्वमा याज्ञवल्क्य र विदुषी गार्गीबीच ब्रह्मवादबारे शास्त्रार्थ भएको थियो भनिन्छ। साथै यो पनि भनिन्छ कि, गार्गीसँगको तर्कमा हार्ने डर भएपछि, याज्ञवल्क्यले गार्गीलाई, ‘यदि अरू प्रश्न गर्यौ भने तिम्रो शिर शरीरबाट अलग हुनेछ’ भनेर तर्साएका थिए रे !
हामी त्यस्तो ‘मिथक’बाट निर्देशित हुँदै आएका समाजका बासिन्दा हौँ। हामी त्यही समाजका बासिन्दा हौँ, जहाँ उखान टुक्कामा समेत महिलाहरूलाई बारम्बार अपमानित गरिन्थ्यो/गरिन्छ। यहाँका महिलाहरूलाई अस्तित्वविहीन गराउँदै भनिन्छ, ‘पानीको रङ्ग हुँदैन, आइमाईको जात हुँदैन; रङ्ग नहुनेको ढङ्ग हुँदैन…’ आदि इत्यादि।
उखान टुक्काको प्रसङ्ग आइसकेपछि हाम्रै दिमागमा पत्तै नपाई, द्वेष, घृणा, नजानिकन नै लैङ्गिक विभेद कति गहिरोसँग जरा गाडेर बसेको हुने रहेछ भन्ने आफ्नै अनुभव लेख्न मन लाग्यो। करिब दुई दशक लैङ्गिक विभेदका कुराहरूको बारेमा चेतनामूलक आवाज उठाएर आफूलाई ‘खुबै जान्ने’ भन्ठानिसकेकी मैले, एकदिन फेसबुकमा कसैको स्टाटसमा प्रतिक्रिया जनाउँदै एउटा उखान टुक्का लेखेँ, ‘लुटको धन फुपूको श्राद्ध भनेको यही होला !’
वर्षौंवर्षदेखि महिला विरुद्ध हुने ज्यादती, हिंसा र भेदभावको विरुद्धमा कलम र आवाज दुवै माध्यमबाट सर्वसाधारणसामु आवाज उठाउँदै आएको यो दिमागमा उक्त आख्यानले पनि महिला विरुद्ध भेदभाव गर्दै आइरहेको छ भन्ने तथ्य त दिमागमा घुसेकै रहेनछ!
त्यसबाट आँखा उघारिदिनुभयो पोखरा निवासी इन्जिनियर/साहित्यकार वसन्त गौतमले; उहाँले शालीन शब्दमा शिक्षित गराउँदै लेख्नुभयो, ‘दिदी, हामीले यस्ता उखान टुक्काहरूलाई हटाउँदै जानुपर्छ। यसले पनि महिलामाथि विभेद गरेको छ। किनभने एउटै आमा बाबुको सन्तान काका र बाबुहरूको श्राद्ध गर्न हुने फुपूहरूको नहुने किन ?’
यो प्रसङ्गलाई कोट्याउनुको कारण, हामीले हाम्रो दैनिक जीवनमा जानी/नजानीकनै कति विभेदकारी भाषा, उखान र टुक्काहरूको प्रयोग गर्दा रहेछौँ भन्ने प्रमाण पेस गर्नु हो।
तर हामीले दिनहुँ भेट्ने, पढ्ने र व्यवहार गर्ने व्यक्तिहरू वसन्त गौतमको सोच भएका एकदमै कम मात्र पाउँछौँ। जतासुकै होस्, पढेलेखेका अर्थात् आफूलाई शिक्षितको श्रेणीमा राख्ने हुन् या सडकका भाषा बोल्ने व्यक्तिहरू नै किन नहुन्, उनीहरू महिलाहरूमाथि त्यति धेरै मात्रामा विभेदकारी भाषाहरूको प्रयोग गर्दछन् कि, कहिलेकाहीँ त ती आफूलाई शिक्षित भन्न रुचाउनेहरूले ‘साँच्चै शिक्षाको महत्त्व पनि बुझेका होलान् त ?’ भन्ने प्रश्न उठाउन मन लाग्दछ।
यसै क्रममा यहाँ एक दुईवटा उदाहरणहरू पेस गर्न चाहन्छु। आजको अति लोकप्रिय सामाजिक सञ्जालमा महिलालाई होच्याउने या अपमान गर्ने यस्ता वाक्यहरू बग्रेल्ती देखिन्छन्। आश्चर्य त तब हुन्छ, जब त्यस्ता वाक्यहरूको विरोध गर्नुको सट्टा धमाधम ‘लाइक’ (मन पराएको अभिव्यक्ति पोख्ने) गर्ने मात्रै होइन, अझै अपमानजन्य शब्दहरूको वर्षा गरिन्छन्।
केही वर्ष अगाडि ‘नेपाल आमा’ भनेर आफूलाई चिनाउन चाहने व्यक्तिले लेखेको पढ्न पाइयो, ‘भ्रष्टाचारीको बुढी बहुलाओस् ! अनि प्यारी छोरी पोइला जाओस् !’
सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्न चाहने र जान्ने व्यक्तिलाई अशिक्षितको कोटीमा पक्कै पनि राख्न सकिँदैन; तर यदि ती व्यक्ति शिक्षित हुन् भने शिक्षाले के यस्तै ज्ञान प्रदान गर्दछ त ? त्यो पनि नेपाल आमा जस्तो नामबाट ? कुनै आमाले आफ्ना सन्तानको मानसिक सन्तुलन खलल होस् या छोरी पोइला जाओस् भन्ने कामना गर्लिन् त ? त्यो त पछिल्लो चरणमा उठ्ने कुरो ! पहिले त कुनै भ्रष्टाचारीले गरेको गलत कामको परिणाममा उसको श्रीमती र छोरीलाई किन संलग्न गराउने ? के अधिकांश पुरुषहरूले घुस खानुभन्दा अगाडि ‘म घुस खाउँ कि, नखाउँ ?’ भनेर घर सल्लाह गरेका हुन्छन् र ?
अर्को अत्यन्तै आपत्तिजनक वाक्य २०७२ सालको संविधान बन्नु अगाडि जताततै देख्न सकिन्थ्यो, ‘संविधान नबनाउने सभासद्का छोरी बहिष्कार गरौँ !’
फेरि पनि महिलाकै अपमान ? यस्ता कुराहरू लेख्दा र बोल्दा किन ती व्यक्तिहरूले बिर्सन्छन् कि ती छोरीहरूको अपमान गर्नु भनेको आदिमकालीन समाजको सोच हो। पढेलेखेका भनिने ती दिमागमा कसरी स्वच्छ विचारहरू भित्र्याउन सकिन्छ होला ?
अझ यतिले नपुगेर एक सुन्दर युवतीको पछाडि फर्किएको फोटो राखेर अर्को व्यक्तिले जवाफ दिन्छ, ‘पछाडिबाट देख्दा त यति राम्री छ, कसले बहिष्कार गर्ला ?’ यस्ता नीच र कुत्सित विचारहरूसित कहिलेसम्म जोरी खोज्दै हिँड्नुपर्ने ? नपढेका व्यक्तिहरूलाई त शब्द र वाक्यको अर्थ सम्झाएर सकारात्मक सोच भर्न सकिएला तर … र गोबर छुट्याउन नसक्ने पढेलेखेकाहरूलाई के भनेर त्यसभित्रको फरक सम्झाउने ?
आख्यान र उक्तिकै प्रसङ्ग उठाउँदा नेपाली भाषामा त्यस्ता थुप्रै उखान-टुक्कादेखि लिएर आमाचकारी बोल्नेहरूको सङ्ख्या पनि कम छैन। सबैभन्दा आश्चर्य त त्यस बेला हुन्छ जब कुनै व्यक्तिले अरूलाई गाली गर्नुपर्दा आफूलाई जन्माउने आमाको हदैसम्म नीच भाषामा अपमान गरिरहेको हुन्छ।
ती बाहेक यहाँ त्यस्ता केही उखान-टुक्काहरूको उल्लेख गर्न चाहन्छु, जुन आजको समय र परिप्रेक्ष्यमा महिलाको आत्मसम्मानमा ठेस पुर्याउने खालका छन्।
त्यसैमध्येको पहिलो उदाहरण, ‘छोरीको जन्म हारेको कर्म !’: आजको समयमा छोरीहरूले विपरीत लिङ्गीसँगै काँधमा काँध मिलाई घर, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा समेत विद्वता हासिल गरिरहेको परिप्रेक्ष्यमा यो आख्यानको उपादेयता किन र कति ?
त्यस्तै अर्को उदाहरण, ‘खुट्टा भए जुत्ता कति कति; मर्दको हजारवटी’: जुन बेला नेपालमा बहुविवाहको प्रचलन थियो, सायद, त्यति बेलै यो कथनको सुरुवात भएको थियो होला ! तर कानुनी रूपमा नै बहुविवाहलाई बन्देज लगाइसकिएको चार दशक बितिसक्दा पनि महिलाहरूलाई निचा देखाउन उनीहरूको अस्तित्व नै नकारे र खुट्टामा लगाउने जुत्ताको रूपमा मात्रै होइन, बहुविवाह या बहुसम्बन्ध स्थापित गराउन प्रोत्साहित गर्ने खालका कुत्सित विचारहरू लड्नको लागि ठाउँ-कुठाउँमा प्रयोग गरिने यस्ता प्रसङ्गहरूलाई सभ्य भनिने समाजमा कतिसम्म स्थान दिइरहने ?
त्यस्तै, ‘छोरी हुनेले कहिले तुजुक गर्नु हुँदैन’ भन्ने टुक्काले के खोजेको ? छोरी र छोरा भनेका एउटै कोखका सन्तान होइनन् र ? बढ्ने, हुर्कने क्रममा केही साना ठूला गल्ती गरिहाले पनि छोराले चाहिँ छुट पाउने, छोरीको कारणले भने मानमर्दन खप्नुपर्ने ? यही हो समाजको न्याय ? या मानवताको धर्म ?
‘आइमाईको रुद्रघण्टी हुँदैन’, यो उखान लेख्ने एकजना पुरुषलाई केही दिन अगाडि प्रश्न राखेँ, ‘यो कुरा लेख्दा दिदी, बहिनी, आमा, सहकर्मी कसैको पनि विचार आएन ?’ जवाफ आयो, ‘तीबाहेक भनेर लेखेको छु।’
वा क्याबात !
महिला भन्नेबित्तिकै घर बाहिरकालाई जे भने पनि हुन्छ, जे लेखे पनि हुन्छ। अनि रुद्रघण्टीकै प्रश्न उठाउने हो भने पुरुषहरू कम वाचाल हुन्छन् ? यदि त्यसो हो भने, वकिल, पत्रकार, शिक्षक आदि पेसामा पनि पुरुषको सङ्ख्या शून्य नै हुनुपर्ने !
किनभने, ‘रुद्रघण्टी’ नभएको भन्न खोजिएको आशय मनमा कुरा नरहने वा धेरै बोल्ने हो र यहाँ उल्लेखित पेसाहरूमा त जति धेरै बोल्यो त्यति धेरै बिक्छ; कि कसो ? त्यो कुरो साँचो हो भने त्यस्ता पुरुषको पनि रुद्रघण्टी नभएकै ठान्नु पर्यो त, हैन र ?
‘पुरुषको भाग्य र नारीको चरित्र दैवले पनि जान्दैन !’ पुरुषको चरित्र मात्रै कसैले बुझेको हुन्छ र ?
स्वास्नी मारेर प्रमाण लुकाउन गरिने तिकडमदेखि लिएर यता फर्कियो एउटा कुरो, अर्कोतर्फ फर्कियो अर्को कुरा गरेर जालझेलमा अरूको जिन्दगी चौपट पारिदिने व्यक्तिहरूको पनि कमी नदेखिएको होइन दिनानुदिनको व्यवहारमा; चरित्र भन्ने कुरा त व्यक्ति व्यक्ति पिच्छे फरक हुने कुरा हो। यस्तो कुरालाई गाई गङ्गा बराबर गरेर महिलाहरूलाई आरोपित गरिरहन पाइन्छ र ?
‘ढिलो होस्, छोरो होस् ! वा छोरो जन्मे खसी खाउँला, छोरी जन्मे फर्सी’ जस्ता उखानहरूको प्रयोग बारम्बार गर्दा अन्तर्राष्ट्रिय स्तरमै विभेदकारी समाज निर्माण प्रक्रियामा गरिएको लगानी, सोच र मिहिनेतको धज्जी उडाउन खोजिएको होइन र ?
कि, दातृसंस्थाले पैसा दिँदा हात थापेर ‘जे भन्छौ, त्यही मान्छु’ भन्ने त्यसपछि व्यवहारमा लत्याइदिने ?
‘पोथी बासेको अलक्षण हुन्छ’, ‘पोथी बासेको घर’ आदि आदि भनेर महिलालाई गिराउनेहरूले मार्गरेट थ्याचर, इन्दिरा गान्धी, बेनजिर भुट्टो, एन्जेला मर्केल, सोनिया गान्धी, हिलारी क्लिन्टन जस्ता पोथीहरू बासेरै त भालेहरूको भलो भएको छ नि, हैन र ?
यति हुँदाहुँदै पनि त्यस्ता पुरातनवादी टुक्काहरूको उपादेयता बाँकी होला र ?
‘तीन गोरुको हल बलियो, दुई स्वास्नीको घर बलियो’, फेरि बहुविवाहलाई प्रश्रय दिने कुरो ! नियम कानुन भन्ने कुराहरू पालन गर्न बनाएको कि, देउतालाई राख्ने खोपी जस्तै खोपीमा राख्न बनाएको ? यसको जवाफ कोसँग माग्ने होला ?
‘राँडीलाई लान्छु नभन्नु, गरिबलाई दिन्छु नभन्नु ।’ एकल महिलामाथि कति हेय दृष्टि राखेको ? दोस्रो विवाह गर्न किन नपाउने ? पुनर्विवाहको प्रतियोगिता गराउने हो भने विधवाहरू भन्दा बढी विधुरहरू नै दोस्रो विवाह गर्नमा दक्षता हासिल गरेका उदाहरण पाइन्छन् त ! तर पनि महिलाकै धज्जी उडाउन नचुक्ने ?
‘आइमाईको सिप रछ्यानमा।’ यो उखान पढे भने ठूला ठूला पदमा बस्ने महिलाहरूले के सोच्दा होलान् भन्ने लाग्दछ कहिलेकाहीँ, तर के गर्नु र ! अहम् र पुरुषत्वको घमण्डले भरिएको पुरुष चाहे स्वास्नीकै कमाइ खाएर जिन्दगी किन नबिताओस् सबैभन्दा पहिले उसैको मुखबाट त्यस्ता आख्यानहरू सुन्न पाइन्छ।
समाजमा बिहान बेलुकीको दालभात खाएझैँ सहज रूपमा लिएर बोलिने, लेखिने र मजाकका विषय बनाइने यस्ता नकारात्मक शब्द, वाक्य र आख्यानहरू कोट्याउन थाल्ने हो भने एउटा ठेली नै तयार हुन्छ; न त एउटा लेखमा ती सबै कुराहरू अट्दछन् न यो लेखकमा ती सबै वर्णन गर्ने बुता छ। यहाँ त अब आइन्दा यस्ता कुराहरूमा पनि ध्यान दिन सकिन्छ कि भनेर समाजका सकारात्मक सोच भएका व्यक्तिहरूलाई सावधान गराउन मात्र खोजिएको हो।
यो पङ्क्तिकारको आशय रस लिम्बो र डन आइमस (दुवैजना अमेरिकन रेडियो पर्सनालिटी जो महिलाहरूलाई एकदमै गिराएर बोल्थे, उनीहरू जस्ता प्रवृत्तिका मानिसहरूलाई परिवर्तन गराउन सकिन्छ भन्ने पक्कै होइन।
निष्कर्षमा भन्नुपर्दा, हरेक वर्ष अङ्ग्रेजी शब्दकोशहरूमा कतिपय शब्दहरूमाथि प्रतिबन्ध लगाइन्छ; कतिपय शब्दहरू थपिन्छन्। आख्यानकै कुरा गर्दा केही वर्ष अगाडिसम्म बेलायतमा प्रचलनमा आएको आख्यान, ‘आइरिस, ब्ल्याक एन्ड डग्स आर नट एलाउड’ या अमेरिकामा प्रयोगमा आउने, ‘कालेहरू यस्ता या उस्ता’ भनेर ठाडै गरिने टिप्पणी आजको समयमा कसैले मुखबाट निकाल्यो भने त्यो व्यक्ति ठुलो समस्यामा पर्न सक्छ; जेल नै पनि जान सक्छ। त्यसैले समय अनुसार आफ्नो विचारलाई पनि सभ्य बनाउँदै लाने कि ? सुट टाइमा ठाँटिएर मुखबाट क्षुद्र भाषाको सदावहार वर्षात गर्न नहिचकिचाउने भलादमी बन्ने ? निर्क्यौल गर्ने जिम्मा यी हरफहरू पढ्नेलाई वा पढेर अरूको पनि आँखा खुलोस् भनेर अरूसम्म पुर्याउनेहरूलाई नै छाडौँ।
यो समाज अझै पनि कस्तो मोडमा उभिएको छ भने महिला जतिसुकै सक्षम होऊन् कुनै अर्थ छैन तर पुरुष हुन साँच्चैको सक्षम पुरुष हुनु पर्दैन केवल चराचुरुङ्गीले बाली खाला भनेर आफ्ना खेत खलियानमा पुरुषको भेषमा लठ्ठीमा बनाएर झुन्ड्याएको ‘बुख्याँचा’ मात्र भए पनि पुग्छ।
यसलाई अझै प्रस्ट पार्नुपर्दा, ‘बुख्याँचा’ ले आफू त केही गर्न सक्दैन नि, तर अरूले त्यही लट्ठीमा टोपी र हात बनाएर झुन्ड्याइदिएपछि उसले केही गरोस्/नगरोस् ती निरीह प्राणीहरू जसलाई तर्साउन बनाएको हो तिनीहरूले भाग्नै पर्छ।
त्यसो हुनुमा उसलाई, अरूले आशीर्वाद दिएर पठाएको अस्तित्व उसले प्राप्त गरेको हुन्छ। नेपाली महिलाले पनि समाजका बुख्याँचाहरूले दिने पीडाबाट मुक्ति पाउन अझै कतिसम्म पर्खनु पर्ने हो थाहा छैन !
प्रसङ्ग बदलौँ, नेपाली महिला आन्दोलनको कुरा गर्नुपर्दा, नालापानी (सन् १८१४ अक्टोबर) र काँगडाको युद्ध (सन् १८०६ देखि १८०९) देखिको कुरा निस्कन्छ; तर, ती युद्धहरूमा, महिलाले आफ्नो हक र अधिकारको लागि छुट्टै कदम उठाएको नभई, राष्ट्रको लागि भएको युद्धमा पुरुषहरूको साथमा सँगसँगै लागेको देखिन्छ।
हुन त, सन् १८९७ (वि.सं. १९५४) तिर दुर्गादेवी आचार्यले ‘स्त्रीशिक्षा’ बारे लेख लेखेको कुरा अनुसन्धानकर्ताहरूले खोजेका छन्; तापनि, योगमायालाई नारीवादी आन्दोलनको थालनीकर्ताको प्रतीक बनाउने प्रयत्न गरिएको छ।
भोजपुर जिल्लाको मजुवाबेसीमा १९१७ सालदेखि १९२५ को बिचमा जन्मिएकी भनिएकी योगमायाले, जातभात हटोस्; सतीप्रथा बन्द होस् आदि, ‘सत्य-धर्म-भिक्षा’को माग राणा प्रधानमन्त्री जुद्धशमशेर समक्ष राखिन्।
योगमाया न्यौपानेको बारेमा शोधकार्य गर्ने बारबरा निम्रीका अनुसार योगमायाले सामाजिक न्याय र समानताको बारेमा आवाज उठाएकी थिइन् । राणा प्रमले ती कुराहरूमा ध्यान नदिएपछि, विद्रोहस्वरूप, ३१ असार १९९८ मा अरुण नदीमा हामफालेर देहत्याग गरिन्। उनका साथमा, उनका ६८ जना अनुयायीहरू थिए।
त्यो समय राणाकाल थियो, सर्वसाधारणलाई नै बोल्न, पढ्न, लेख्न प्रतिबन्ध लगाइएको समयमा, ठूलो सङ्ख्यामा महिलाहरू त झनै कहाँ अगाडि देखिन सक्थे र ! तर, केही महिला थिए, जसले १९७४ सालमा नै ‘महिला समिति’ गठन गरेर महिलाहरूको सामाजिक स्तर उकास्न काम गर्ने उद्देश्य राखे।
यस पछि नै चन्द्रशमशेर राणाले २५ असार १९७७ मा ‘सती प्रथा’ अन्त्य गरेको घोषणा गरेका थिए।
चन्द्रकान्ता मल्लले महिलाहरूलाई शिक्षा दिन १९९३ सालमा कन्या स्कुलको स्थापना गरिन् र महिला शिक्षाको सुरुआत गरिन् भनेर महिला शिक्षाको श्रेय इतिहास लेखनको कतिपय ठाउँमा उनलाई दिइए पनि देवशमशेरको पालामा अर्थात् ३० वैशाख १९५८ मा विभिन्न स्थानमा कन्या पाठशाला खोलिएको जानकारी उनको पालाको इतिहास पढ्दा थाहा हुन्छ।
त्यसरी नै २२ असार १९८० मा काठमाडौँ, पाटन र भक्तपुरमा पनि कन्या पाठशालाहरू खोलिएको देखिन्छ। ती पाठशालाहरू चार श्रेणीसम्मको पढाइको लागि खोलिएको रहेछ। बरु, चन्द्रकान्ताको ‘कन्या स्कुल’ व्यक्तिगत पहलमा खोलेको पहिलो भन्न सकिन्छ कि ?
२००३ सालमा कन्या मन्दिर माविको स्थापना भएको देखिन्छ । र, २००४ सालको श्रीपञ्चमीको दिन पद्मकन्या विद्याश्रमको स्थापना भयो। त्योभन्दा अगाडि नै पद्मकन्या विद्याश्रम लगिएका विद्यार्थीहरू दरबार हाईस्कुलमा पढिरहेका थिए।
रेवन्तकुमारी आचार्यले २००३ सालमा ‘आदर्श महिला सङ्घ’को स्थापना गरिन्।
‘नागरिक अधिकार आन्दोलन’ २००४ सालमा महिलाहरूले पनि भाग लिएका थिए। त्यतिबेला आन्दोलनमा सक्रिय हुने महिलाहरूमा दिव्या कोइराला, कनकलता, स्नेहलता ओन (गुरुवाचार्य) श्रेष्ठ, मङ्गलादेवी, साधना प्रधान, सहाना प्रधान आदि हुनुहुन्थ्यो।
सोही वर्ष नै म्हेपीमा भेला भएका महिलाहरूको भेलाले ‘नेपाल महिला सङ्घ’को स्थापना भयो। २००७ सालको आन्दोलनमा पनि थुप्रै महिलाहरूले भाग लिएका थिए। पुण्यप्रभादेवी ढुङ्गानाको नेतृत्वमा २००६ सालमा ‘अखिल नेपाल महिला सङ्घ’ गठन भयो। महिलाहरूले भोट हाल्न पाउने अधिकार २००८ सालमा प्राप्त गरे ।
त्यसभन्दा अगाडि महिलाहरूले अनमेल विवाह, बालविवाह, बहुविवाहको अन्त्य गर्ने, विधवा विवाहलाई मान्यता दिने, महिला शिक्षामा जोड दिने, भोट हाल्न पाउनुपर्ने विषयहरूमा आवाज उठाउँदै आए तापनि, उनीहरूलाई मतदानको अधिकार प्राप्त भएको थिएन।
२०१० सालमा भएको काठमाडौँ म्युनिसिपालिटीको चुनावमा महिलाहरूले पहिलोपटक मतदान गरे; र, उक्त निर्वाचनमा साधना प्रधान निर्वाचित जनप्रतिनिधिको रूपमा विजय प्राप्त गर्ने पहिलो महिला बनिन्।
२०११ सालमा राजा त्रिभुवनद्वारा गठित सल्लाहकार सभामा मङ्गलादेवी सिंह, मायादेवी शाह, विद्यादेवी देवकोटा, पुण्यप्रभादेवी ढुङ्गाना र प्रतिभा झा मनोनित भएका थिए। २०१५ सालको पहिलो प्रतिनिधि सभाको निर्वाचनमा १०५ स्थानको लागि १५ जना महिलाहरूले उम्मेदवारी दिए पनि नेपाली काँग्रेसको तर्फबाट डडेलधुराकी द्वारिकादेवी ठकुरानी निर्वाचित भएर, निर्वाचन पछिको सरकारमा स्वास्थ्य सहायक मन्त्री बनिन्।
२०१६ सालको पहिलो संसद्को माथिल्लो सदनमा राजा महेन्द्रद्वारा श्रीमती कमल राणालाई मनोनित गरिएको थियो; र, उहाँ माथिल्लो सभाको उपाध्यक्ष हुनुहुन्थ्यो।
२०१५ सालदेखि २०१७ सम्म राजा महेन्द्रले २०१७ सालमा देशमा पञ्चायती व्यवस्था लागु गरेपछि महिलाहरूको राजनीतिमा सक्रियता व्यवस्थाले चाहे मात्र भयो । पहिलेका विभिन्न राजनैतिक दलका महिलाहरूमध्ये कोही भूमिगत रूपमा राजनीति गर्न थाले; कसैले विश्राम लिए। तर, पञ्चायतकालभरि नै राज्यव्यवस्थाको समर्थन गर्ने महिलाहरूको नाम सीमित रूपमै भए पनि सरकार र सत्ताको वरिपरि सुनिइरहन्थ्यो।
यो प्रसङ्गलाई यति मै बिट मार्न चाहन्छु।
प्रतिक्रिया 4