+
+
Shares

८३ वर्षको उमेरमा ‘धान्द्रुके बाजे’ ले नागरिकता, भत्ता पनि पाए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते ९:३३

३ पुस, गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाएको हो ।

नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे । उनले नागरिकता प्राप्त गरेसँगै पहिलोपटक ८ हजार वृद्धभत्तासमेत प्राप्त गर्नुभएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आउनुभएका उहाँ बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन भएका थिए ।

नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए । नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

‘सानै उमेरमा बागलुङ नगरपालिका–१० स्थित भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकत्वमा नागरिकता लिनुभयो’, खड्काले भने ।

बाँसका सामग्री बनाउँदै आएका उनको जीवनको उत्तरार्द्धमा चन्द्रबहादुर थापा नामकरण गरी नागरिकता उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?