+
+
Shares

असन्तुष्टि बढेपछि बैतडी कांग्रेसले सोझै केन्द्रमा पठायो उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस आकांक्षीको नाम केन्द्रीय कार्यसमितिमा पठाएको छ।
  • सुदूरपश्चिम प्रदेश कार्यसमितिले बैतडीका दुई असन्तुष्ट नेताद्वयको निवेदनसहित सिफारिस नामहरू केन्द्रीय कार्यालयमा पठाएको छ।
  • जिल्ला सभापति चतुरबहादुर चन्द र सचिव देवराज जोशीले संयुक्त रूपमा केन्द्रलाई आकांक्षी सिफारिसबारे जानकारी दिएका छन्।

३ पुस, काठमाडौँ । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस आकांक्षीको नाम सोझै केन्द्रीय कार्यसमितिमा पठाएको छ ।

बैतडीका दुई असन्तुष्ट आकांक्षीहरूले प्रदेश कार्यसमितिमा दर्ता गरेको निवेदनसहित केन्द्रीय कार्यसमितिमा आएपछि जिल्लाले सिफारिस आकांक्षीहरूको सूची केन्द्रमा पठाएको हो ।

यसअघि जिल्ला कार्यसमितिले गरेको सिफारिसका आधारमा सुदूरपश्चिम प्रदेश कार्यसमितिले बैतडीका आकां‍क्षीहरूको नाम अन्य जिल्लाबाट सिफारिस नामहरूसँगै केन्द्रमा पठाइसकेको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिले क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिलाई र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्ड बनाएको थियो ।

सुदूरपश्चिम प्रदेश कार्यसमितिले बैतडीका असन्तुष्ट नेताद्वय उत्तरबहादुर ऐर र तेजबहादुर चन्दको निवेदन पनि सँगै पठाएको थियो ।

‘जिल्लामा अवैधानिक ढंगले आकांक्षी छनोट गरिएको भन्दै दुई जनाले प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो,’ प्रदेश प्रवक्ता सुरतबहादुर रावतले भनेका थिए, ‘हामीले त्यो निवेदनसहित उहाँहरूको नाम केन्द्रीय कार्यालयमा पठाइदिएका हौं ।’

नेताद्वय ऐर र चन्दसहित पाँच जना आकांक्षीहरूले २० मंसिरमा विज्ञप्ति जारी गरेर जिल्ला सभापति चतुरबहादुर चन्द पक्षीय नेताहरूले एकलौटी गरेको आरोप लगाएका थिए ।

‘दाबेदारहरू बीच सहमति जुटाउने प्रयास चलिरहेकै समयमा हठात् रुपले पार्टी सभापति पक्षले नेपाली कांग्रेसकोे परम्परा तोड्दै निर्वाचनको प्रपञ्च गरेकोप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।

लोकतन्त्र र पार्टी संगठनलाई मजबुत बनाउन छलफल र सहमतिको प्रक्रियाबाटै उम्मेदवारहरूको नामावली टुङ्गो लगाउनु पर्ने उनीहरूको भनाइ थियो ।

तर, जिल्ला कार्यसमितिले चुनावी प्रक्रियामार्फत् उम्मेदवारहरूको नाम टुंगो लगाएको थियो । प्रदेश कार्यसमितिका अनुसार जिल्लाले बैतडीबाट प्रत्यक्षतर्फ सभापति चतुरबहादुर चन्दसँगै विष्णुदत्त जोशी र जानकी भट्टको नाम सिफारिस गरेको थियो ।

प्रदेश कार्यलयमा दर्ता भएको ऐर र चन्दको निवेदन केन्द्रमा पुगेपछि जिल्ला सभापति चन्द र सचिव देवराज जोशीले संयुक्त रूपमा केन्द्रलाई आकांक्षी सिफारिसबारे जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?