३ पुस, जनकपुरधाम । नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा निर्वाचननका लागि उम्मेदवार सिफारिस मापदण्ड विपरीत गरेको आरोप लागेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही ४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ गते भएको बैठकबाट मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको नाम एकल सिफारिस गरिएको थियो ।
सो सिफारिस मापदण्ड विपरीत भएको नेपाली कांग्रेसका महासमिति सदस्य इन्जिनियर डा. राजेश्वर सिंह कुशवाहाको आरोप छ ।
कुशवाहाका अनुसार केन्द्रीय समितिले मंसिर १५ र १७ गते पठाएको १० बुँदे मापदण्डमा हाल बहाल प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस गर्न नपाइने र प्रत्यक्षतर्फ एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था छ । तर मापदण्डविपरीत हाल बहाल प्रदेशसभा सदस्य सिंहको नाम एकल रूपमा सिफारिस गरिएको र आफ्नो उम्मेदवारी निवेदनसमेत दर्ता नगरिएको आरोप उनले बताए ।
दावेदारी नै प्रस्तुत नगरेका व्यक्तिको नाम सिफारिस गर्नु अलोकतान्त्रिक, स्वेच्छाचारी र बाहुबली प्रवृत्ति भएको कुशवाहाको आपति छ ।
उनले यसबारे मंसिर २४ गते नै केन्द्रीय तथा प्रदेश पदाधिकारीलाई जानकारी गराइसकेको उल्लेख गर्दै, मंसिर २५ गते केन्द्रबाट पुन: मापदण्ड पालना गर्न जारी परिपत्रको आधारमा उक्त सिफारिस निर्णय अविलम्ब खारेज गर्न माग गरेका छन् ।
केन्द्रीय निर्देशनअनुसार आफ्नो उम्मेदवारी समावेश गरी पुन: निष्पक्ष रूपमा सिफारिस गर्न क्षेत्रीय कार्यसमितिसँग उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया 4