+
+
Shares

मुद्रास्फीति न्यून बिन्दुमा झर्नु ‘आर्थिक मन्दी’ दोहोरिने संकेत हो ? 

आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याले आर्थिक मन्दी दोहोरिने खतरा बढेको अर्थशास्त्री बताउँछन् । उनीहरूका अनुसार मुूल्य स्थायित्व नभई अर्थतन्त्र सबल हुँदैन ।

भुवन पौडेल भुवन पौडेल
२०८२ पुष ३ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका वाह्य सूचक सबल भए पनि आन्तरिक आर्थिक गतिविधि विस्तार हुन नसकेको जनाएको छ।
  • चालु आव कात्तिकको मुद्रास्फीति १.११ प्रतिशतमा झरेको छ जुन पछिल्लो ५० वर्षयताकै न्यून हो।
  • अर्थशास्त्रीहरूले न्यून मुद्रास्फीति आर्थिक सुस्तता र मन्दी दोहोरिने खतरा बढाएको बताएका छन्।

३ पुस, काठमाडौं । अर्थतन्त्रका वाह्य सूचक सबल देखिए पनि आन्तरिक गतिविधि विस्तार हुन सकेको छैन । समग्र बजारको मागमा सुधार आउन नसक्दा आन्तरिक अर्थतन्त्र सुस्तमात्र नभई मुद्रास्फीति पनि एक प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति, आयात, निर्यात, शोधनान्तर लगायत अर्थतन्त्रका वाह्य सूचक हालसम्मकै बलियो अवस्थामा रहेको जनाएको छ । तर, आन्तरिक अर्थतन्त्रमा आम्दानीमा गिरावट, बेरोजगारी, कमजोर लगानीको अवस्था तथा न्यून आन्तरिक उत्पादन समस्या जटिल बन्दै गएको छ ।

आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याले आर्थिक मन्दी दोहोरिने खतरा बढेको अर्थशास्त्री बताउँछन् । उनीहरूका अनुसार मुूल्य स्थायित्व नभई अर्थतन्त्र सबल हुँदैन । मूल्यवृद्धि र आर्थिक वृद्धिको सम्बन्ध पनि सकारात्मक रहँदै आएको छ । नेपालका सन्दर्भमा पनि अहिले देखिएको न्यून मुद्रास्फीति अर्थतन्त्रका लागि सकारात्मक संकेत होइन ।

आर्थिक वृद्धिदर उच्च भयो भने मूल्यवृद्धि पनि उच्च हुने अर्थशास्त्री डा. निरज पौड्यालले बताए । ‘हाम्रो अहिलेको मुद्रास्फीतिले सकारात्मक संकेत गर्दैन,’ पौड्यालले भने,‘ यसले आर्थिक जटिलतातर्फ डाहोेर्‍याएको स्पष्ट हुन्छ, मूल्यवृद्धि कम हुनुपर्छ भन्ने धारणा छ तर मूल्यवृद्धि धेरै कम हुनु पनि जोखिमपूर्ण हुन्छ र साथै धेरै उच्च अंकको मूल्यवृद्धि झनै बढी खतरनाक हुन्छ ।’

अहिले सर्वसाधारणले आफ्नो आम्दानीलाई खर्च वा लगानी नगरेको अवस्था छ । खर्च वा लगानी नबढ्नु भनेको आर्थिक सुस्तता हो । नेपालजस्तो देशको लागि वास्तवमा ५–६ प्रतिशतको मुद्रास्फीति उपयुक्त हुने बताउँदै पौड्यालले अर्थतन्त्रको अवस्था हेरेर मुद्रास्फीति कति ठिक कति बेठिक भन्ने निर्धारण हुने तर्क गरे ।

‘धनी देशहरूका लागि भनेको २, ३ प्रतिशतको मुल्यवृद्धि पनि बढी हुन सक्छ,’ उनले भने, ‘किनभने, उनीहरूको आर्थिक वृद्धिदर पनि हुँदैन, अर्थतन्त्र एउटा तहमा पुगेर रोकिएको हुन्छ ।’

मूल्यवृद्धि जति कम हुँदा आर्थिक वृद्धि हुने सम्भावना उत्तिकै न्यून हुने उनको बुझाइ छ । त्यसैले पछिल्लो समयमा राष्ट्र बैंकले मुद्रा आपूर्ति (मनी सप्लाई) घटाउँदै आएको छ ।

त्यस्तै बजारमा देखिएको तरलता पनि खिच्ने क्रम जारी राखेको छ । केन्द्रीय बैंकले मनी सप्लाई कम गर्नु वा तरलता खिच्नु भनेको मूल्यलाई बढाउन खोजेको पौड्यालको भनाइ छ ।

अहिलेको मुद्रास्फीतिले आर्थिक शिथिलताको अवस्था छर्लङ्ग पारेको उनले बताए । ‘प्रविधिक रूपमा आर्थिक मन्दी भन्न नमिल्ने भए पनि अवस्थामा फरक छैन,’ उनले थपे ।

उनका अनुसार अर्थतन्त्र सुस्त भइसकेको हुनाले चालु आवको आर्थिक वृद्धिदर न्यून हुने पक्का छ । कहिलेकाहीँ मूल्यवृद्धि पनि उच्च, आर्थिक वृद्धिदर पनि कम भएको अवस्था पनि हुने बताउँदै उनले त्यसलाइ ‘स्ट्यागफ्लेसन’ भनिने जानकारी दिए ।

त्यसैगरी अर्का अर्थशास्त्री डा. डिल्लीराज खनालले मूल्य स्थायित्व नभएको खण्डमा आर्थिक स्थायित्व पनि सम्भव नहुने बताए ।

खनालका अनुसार मूल्यवृद्धि न्यून हुँदा ब्याजदर घट्ने, लगानीको प्रतिफल नहुने, निजी क्षेत्र निरुत्साहित जस्ता समस्या हुन्छ । निजी क्षेत्रको लगानी निरुत्साहित भएपछि त्यसले अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने उनको भनाइ छ ।

‘अर्थतन्त्रमा निजी क्षेत्रको योगदान नै ८१ प्रतिशत रहेको दाबी छ,  धेरै कम भयो भने अर्थतन्त्र संकुचित हुन्छ,’ खनालले भने, ‘मान्छेको हातमा पैसा हुन्न, खरिद गर्ने क्षमता हुँदैन, त्यसले समग्र अथतन्त्रलाई नै नकारात्मक बनाउँछ ।’

मौद्रिक स्थायित्व भनेको पनि यसैको व्यवस्थापन रहेको उनले बताए । पछिल्लो समय मुद्रास्फीति भारतका कारणले पनि न्यून भएको उनले बताए ।

‘भारतमा मुल्यवृद्धि ०.७१ प्रतिशतमात्र भएकाले नेपालमा आयात हुँदा पनि कम भित्रिएको हो, नेपालको कुल आयातमा भारतसँग मात्रै ८१ प्रतिशत हिस्सा छ,’ उनले भने, ‘त्यसले गर्दा पनि आयातित मूल्यवृद्धि नै न्यून हुँदा नेपालको मुद्रास्फीति कम भएको हो ।’

आन्तरिक रूपमा अधिक तरलता भयो तर माग तथा लगानी बढेन, सर्वसाधारणको क्रयशक्तिमा सुधार नआएपछि घटेको मूल्यवृद्धिले अर्थतन्त्र ओरालो लागेको संकेत गर्ने उनको विश्लेषण  छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आव कात्तिकको मुद्रास्फीति १.११ प्रतिशतमा झरेको छ । यो पछिल्लो ५० वर्षयताकै न्यून हो ।

चालु आव कात्तिकसम्म विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब पुगेको छ । त्यसैगरी रेमिट्यानस आप्रवाह ३१.४, निर्यात ७७.५ र आयात १८.७ प्रतिशतले बढेको छ ।

सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड र राजस्व परिचालन ३ खर्ब २६ अर्ब ५५ करोड छ । त्यसैगरी यो अवधिमा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले मात्रै बढेको छ । यी तथ्यांक हेर्दा पनि अर्थतन्त्र चलायमान हुन नसकेको स्पष्ट हुन्छ ।

मूल्यवृद्धि १ प्रतिशतमा आउनु त्यति सकारात्मक नभएको अर्का अर्थशास्त्री डा. रमेशचन्द्र पौडेलले बताए । उनका अनुसार राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल मूल्यवृद्धि कायम भएकाले सकारात्मक देखिए पनि अर्थतन्त्रका लागि राम्रो नभएको उनको भनाइ छ ।

‘मुद्रास्फीति घट्दा उत्पादनका साधनहरूको ज्याला पनि त्यसैगरी घट्छ,’ पौडेलले भने, ‘पूँजी उपयुक्त प्रतिफल पनि नपाउने अवस्था रह्यो ।’

उत्पादनका साधनहरू हतोत्साहित हुने पनि पौडेलको बुझाइ छ । ‘२ प्रतिशतभन्दा तलको मुद्रास्फीतिले उत्पादनका गतिविधि निरुत्साहित गरेको छ,’ पौडेलले भने, ‘मुद्रास्फीति १ प्रतिशतमा आउनु भनेको समस्या हो ।’

तर, यस्तो समस्याले गरिबलाई क्षति नपुर्‍याउने उनको तर्क छ । साथै, समग्र मागलाई क्षति नपुर्‍याए पनि उत्पादन बढाउने गतिविधि प्रोत्साहन नगर्ने उनको विश्लेषण छ ।

‘वर्किङ क्लासलाई सामान किन्दा सस्तो पर्ने भयो, तर यसको असर प्रडक्टिभिटी कम भएको हुनाले ज्यालामा पनि पर्छ,’ उनले भने ।

निर्यात उच्च भएको अवस्थामा मुद्रास्फीति न्यून भएको भए सकारात्मक हुन सकिन्थ्यो, यसले रोजगारी सँगै निर्यात बढाउँथ्यो ।

‘हाम्रो निर्यात भनेको उत्पादन आयात गर्ने अनि त्यसलाई पुन: निर्यात गर्ने हो,’ पौडेलले थपे, ‘रोजगारीविहीन निर्यात (जबलेस एक्सपोर्ट) मा मुद्रास्फीति घट्नु भनेको एकखालको मन्दीको संकेत हो ।’

अहिलेको अर्थतन्त्रमा देखिएको समस्याको समाधान ‘कस्ट अफ प्रडक्सन’ तथा मुद्रास्फीति घटेको बेलामा लगानीका नयाँ रणनीति बनाउनु रहेको पौडेलको सुझाव छ ।

सरकारले पूँजीगत खर्च बढाउने उपाय सोच्नुपर्ने उनको भनाइ छ । सरकारले समयमा खर्च र लगानीका नीतिलाई नयाँ रणनीति साथ अघि बढाउन आवश्यक रहेको उनले बताए ।

‘राम्रो देखिने तर भित्रीरूपमा अर्थतन्त्र अप्ठ्यारो परेको छ,’ उनले भने । चालु आव पाँच महिनासम्म सरकारको पूँजीगत खर्चको अवस्था ८ प्रतिशतमा सीमित छ ।

केन्द्रीय बैंकका विभिन्न अध्ययनले पनि नेपालको मूल्यवृद्धि ६ देखि ७ प्रतिशतसम्म हुनुपर्ने देखाएका छन् । चालु आव सरकारले नै मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको र सोही अनुसार केन्द्रीय बैंकले मनी सप्लाई व्यवस्थापन गर्ने जनाएको छ ।

सरकारले ५ प्रतिशतको मुद्रास्फीति मार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तर, चालु आव कात्तिकको मुद्रास्फीतिले अर्थतन्त्र स्थिर छ भन्ने स्पष्ट भएको राष्ट्र बैंकका एक पूर्वकार्यकारी निर्देशकले बताए ।

‘आर्थिक गतिविधिमा सुधार नै नभए पनि मन्दी दोहोरिने देखिन्छ,’ ती पूर्वकार्यकारी निर्देशकले भने, ‘मुद्रास्फीतिको तथ्यांकमा केन्द्रीय बैंकले पुन: एक पटक गणना विधिमा समीक्षा गर्नुपर्ने देखिन्छ ।’

कर्जा माग बढेको छैन, वित्तीय क्षेत्रको ब्याजदर समेत न्यून बिन्दुमा आएको अवस्थामा समेत लगानी बढ्ने तथा उत्पादनमा सुधार आउने संकेत नै नहुनु भनेको अर्थतन्त्रका लागि आगामी दिन सहज छैन भन्ने रहेको उनको तर्क छ ।

चालु आव पहिलो त्रैमासको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुमान आउन बाँकी भएकाले मन्दी नै नदोहोरिए पनि अर्थतन्त्र सहज अवस्थामा नभएको उनको बुझाइ छ ।

आन्तरिक उत्पादनका कारण भन्दा भारतका कारण मूल्यवृद्धिमा कमी आएको उनको भनाइ छ । कोरोना महामारीमा पनि अत्यधिक आयातका कारण अपनाइएका कसिला नीतिका कारण मन्दीमा पुगेको अर्थतन्त्रमा उत्पादन नबढ्दा पुन समस्या दोहोरिन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

निरन्तर घट्दो मुद्रास्फीति आर्थिक गतिविधि, आन्तरिक उत्पादन विस्तार र माग सिर्जनाका लागि सकारात्मक नभएको उनको भनाइ । आर्थिक गतिविधिको अवस्था यस्तै रहेको खण्डमा अर्थतन्त्र पुन: मन्दीमा जाने उनको विश्लेषण छ ।

आर्थिक गतिविधि सुस्त भएसँगै उपभोग र उत्पादन घटेको, विगतको तुलनामा इन्धनको मूल्यमा कमी आएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा विगतको तुलनामा थप कमजोर हुँदा आर्थिक गतिविधि बढाउन सहज नभएको उनको भनाइ छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?