+
+
Shares

रिलायन्स स्पिनिङ मिल्स : सोमबारदेखि खुल्दै आईपीओ, यस्तो छ विस्तृत विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सले पुस ७ देखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता आईपीओ निष्कासन गर्न लागेको छ।
  • कम्पनीले आईपीओबाट संकलन हुने रकम उद्योगको क्षमता विकासमा खर्च गर्ने जनाएको छ।
  • आईपीओ निष्कासनमा कानुनी विवाद आए पनि सर्वोच्च अदालतले निष्कासन प्रक्रिया अघि बढ्न दिने आदेश दिएको छ।

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोलि (पुस ७) देखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गर्दैछ । प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ ।

सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुल्ने भएको हो । वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट भइसकेको छ ।

निष्कासितमध्ये सबैभन्दा ठूलो हिस्सा (आम सर्वसाधारणको) आईपीओमा आवेदन दिने अवधि पुस ७ देखि ११ सम्म तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस २१ सम्म लम्बिने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यसै सन्दर्भमा रिलायन्स स्पिनिङ मिल्स र उसले निष्कासन गर्न लागेको आईपीओबारे विस्तृत विवरण :

रिलायन्स स्पिनिङ मिल्स स्थापना

यो करिब ३ दशकअघि स्थापित धागो उत्पादक तथा निर्यातमूलक कम्पनी हो । सुनसरीको खनार र दुहबीमा यसका दुईवटा धागो उद्योग कारखाना छन् ।
यो नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यात गर्ने औद्योगिक प्रतिष्ठान हो ।

कम्पनीमा हाल ४ हजारभन्दा बढी व्यक्ति कार्यरत छन्, जसमध्ये करिब १ हजार ३ सय महिला छन् । कम्पनीले वार्षिक ५ करोड अमेरिकी डलरभन्दा बढीको निर्यात गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुन्छ ।

अर्थतन्त्र र आर्थिक विकासमा कम्पनीको योगदान

युवा–शक्ति रोजगारीका लागि विदेश जाने क्रम निरन्तर चलिरहेको अवस्थामा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हुनुले आफूलाई मुलुकको समृद्धिको सारथीको रुपमा स्थापित गरेको छ । त्यसैगरी ५ करोड अमेरिकी डलरको निर्यातले मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्नुका साथै आर्थिक प्रणालीको सन्तुलनमा योगदान पुर्‍याएको छ ।

एउटा कम्पनीले तीन दशक लामो यात्रा सफलतापूर्वक पार गरेर मुलुकको प्रतिष्ठित कम्पनीमा स्थापित हुनु आफैमा दीर्घकालीन यात्राको सुनिश्चिता हो ।

त्यसबाहेक प्रतिष्ठित गोल्यान ग्रुपका सञ्चालकहरू पवन गोल्यान तथा अक्षय गोल्यान र उद्योगी शशिकान्त अग्रवाल कम्पनीको संस्थापन सेयरधनी हुनु विश्वासको बलियो आधार हो ।

आईपीओ निष्कासन गर्नुको उद्देश्य

दशकौं लामो विरासत बोकेको, हजारौंलाई रोजगारी दिएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको कम्पनीले आईपीओ जारी गर्नुको प्रमुख कारण आम–सर्वसाधारणसँग साझेदारी गर्दै अघि हिँड्नु हो ।

संस्थापक सेयरधनीले जारी पूँजीको ९० प्रतिशत आफैसँग राखेर करिब १० प्रतिशतमात्र जारी गर्नुले सर्वसाधारणबाट पूँजी अशुल्ने उद्देश्य मात्रै देखिँदैन । वर्षौंदेखि कम्पनीमा कार्यरत ४ हजारभन्दा बढी कर्मचारीलाई सेयरधनी बनाउने पवित्र उद्देश्य पनि यसभित्र निहीत छ ।

सर्वसाधारणलाई १० प्रतिशत मात्रै किन ?

सर्वसाधारणको लगानीमाथि खेलवाड हुने सम्भावना हुँदैन । कम्पनी घाटामा गएको वा घाटामा जाने सम्भावना भएमा संस्थापक सेयरधनीले ठूलो हिस्सा सेयर निष्कासन गरेर आफू उत्रिने जुक्ति निकाल्छन् । तर यसमा ९० प्रतिशत सेयर संस्थापकहरुसँगै हुनुले उनीहरु कम्पनीप्रति उत्तिकै जिम्मेवार रहने सुनिश्चित गर्दछ ।

आईपीओबाट संकलन हुने रकमको उपयोगिता

कम्पनीले सेयर बिक्रीबाट गर्ने आम्दानीलाई कुनै ऋण घटाउन वा घाटा पूर्तिका लागि नभई उद्योगको क्षमता विकास गर्न खर्च गर्ने जनाएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ ।

उद्योगलाई अझ उन्नत र विश्वस्तरीय बनाउन आईपीओबाट आउने रकम उपयोग हुने कम्पनीले विवरणपत्रमा स्पष्ट पारेको छ ।

न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने

आईपीओ निष्कासन गर्दा खरिदकर्ताले आवेदन गर्न पाउने न्यूनतम संख्या कति हुने भन्नेबारे नियामक निकाय धितोपत्र बोर्डले विभिन्न नीतिमार्फत तोकिदिएको छ ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ मा निष्कासन गरिने धितोपत्र साधारण सेयर भएमा दरखास्त दिन सकिने न्यूनतम सीमा १० ले भाग जाने संख्यामा हुने व्यवस्था छ ।

यसकारण सर्वसाधारणले न्यूनतम १० कित्तादेखि आईपीओमा लगानी गर्न पाउँछन् । तर बुक बिल्डिङ निर्देशिका २०७७ मा सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्ने व्यवस्था छ ।

संगठित संस्थाले धितोपत्र बाँडफाँट गर्दा प्रतिआवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाँडफाँट गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । यसकारण साधारण र बुक बिल्डिङ विधिमार्फत गरिएको निष्कासनमा सर्वसाधारणले लगानी गर्न पाउने न्यूनतम सीमा फरक–फरक हुने हो ।

आईपीओ निष्कासनका विधि

धितोपत्रको सार्वजनिक निष्कासन साधारणतया दुई विधिबाट हुने गर्छ । निश्चित मूल्य विधि (फिक्स्ड प्राइस) र बुक बिल्डिङ विधि ।

निश्चित मूल्य विधिबाट धितोपत्र निष्कासन गर्दा अंकित मूल्य वा अंकित मूल्यमा प्रिमियम थप गरी तोकिएको मूल्यमा निष्कासन गरिन्छ भने बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासन गर्दा बजारले निर्धारण गरेको मूल्यमा हुने गर्दछ ।

बुक बिल्डिङ विधि र प्रक्रिया

बुक बिल्डिङ धितोपत्र निष्कासन गर्दा मूल्य निर्धारण गर्ने एक प्रक्रिया हो, जसमा निष्कासनकर्ता कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनका लागि प्रस्ताव गरिने मूल्य निर्धारण गर्ने प्रयास गर्दछ । बुक बिल्डिङका लागि नियामक निकायले निश्चित मापदन्ड तोकेको हुन्छ, जुन पूरा गर्नैपर्ने हुन्छ । बुक बिल्डिङ विधिमा कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग न्यूनतम खरिद संख्या, आशय मूल्य र मूल्यांकन विधिबारे सुझाव लिन्छ ।

संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यका आधारमा बिक्री मूल्य सीमा तोकी बोलकबोल प्रक्रियामार्फत सेयर बिक्री गरिन्छ । यस विधिअन्तर्गत निष्कासित सेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्नुपर्छ ।

बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन वर्ष नाफामा रहेको, साधारणसभाबाट निर्णय भएको, प्रतिसेयर नेटवर्थ चुक्ता पूँजीको कम्तीमा १५० प्रतिशत भएको र औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङ प्राप्त गरेको हुनुपर्छ ।

यस प्रक्रियामा बोर्डबाट स्वीकृति प्राप्त सूचीकृत कम्पनी, वित्तीय संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंकर, अवकास कोषलगायत योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाउन सक्छन् । बुक बिल्डिङ विधिले राम्रो वित्तीय अवस्था भएका कम्पनीलाई उचित बजार मूल्यमा सेयर जारी गर्न सहयोग पुर्‍याउँदै पूँजी बजारको विकासमा योगदान दिन्छ । प्रिमियममा सेयर निष्कासन गर्दा मूल्य नियामक निकायले तोक्ने भए पनि बुक बिल्डिङमा मूल्य निर्धारण संस्थागत लगानीकर्ताको माग–आपूर्तिको आधारमा बजारले तय गर्ने मुख्य फरक हो ।

कम्पनीले चाहेर मात्र बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न पाइँदैन, किनकि यो विधिबाट सेयर निष्कासन गर्नका लागि कम्पनीको प्रतिसेयर नेटवर्थ कम्तीमा १ सय ५० हुनुपर्छ । कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएपछि बाँकी रहने रकमलाई प्रति सेयरले भाग गरेपछि आउने रकम नै नेटवर्थ हो ।

जबकि साधारण एक सय मूल्यमा सेयर निष्कासन गर्नका लागि नेटवर्थ ९० भए पुग्छ । यस्ता धेरै मापदण्ड पूरा गर्न नसक्ने भएकाले कतिपय कम्पनीले चाहेर पनि बुक बिल्डिङ वा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न सक्दैनन्

यसअघि २०८० फागुनमा सर्वोत्तम सिमेन्टले यो विधिमार्फत सेयर निष्कासन गरेको थियो । त्यतिबेला सर्वोत्तमको प्रति सेयर मूल्य ३६० रुपैयाँ ९० पैसा थियो र त्यतिबेला पनि न्यूनतम ५० कित्ता किन्नैपर्ने थियो । त्यसपछि अहिले रिलायन्स स्पिनिङले यही विधिबाट सेयर निष्कासन गरेको हो ।

आईपीओ मूल्य महँगो हो ?

होइन, रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरेको थियो । आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको थियो । उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो ।

गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्‍याउँदै ८४४ प्रतिशतको छलाङ हानेको छ । प्रतिसेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ ।

यस हिसाबले आज सहभागी हुने लगानीकर्ताले पनि ८४४ प्रतिशत नाफा वृद्धि भएको कम्पनीलाई रिकभरी मूल्यमा जोड्नुअघिको सस्तो मूल्यमै सेयर पाउनेछन् । अर्थात्, हाल कम्पनीले तीब्र आर्थिक वृद्धि गर्दासमेत दुई वर्षअघिको नाफालाई आधार मानेर तय गरिएको मूल्यमै आईपीओ पाउनेछन् ।

कम्पनीको ईपीएस

कम्पनीको पछिल्लो ५ वर्षको प्रतिसेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ ।

गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ईपीएस ९ गुणा बढेको छ । २०८१/८२ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निकै मजबुत देखिन्छ ।

मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कुल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो ।

गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी वृद्धि भएको छ ।

आईपीओ प्रक्रियामा कानुनी झमेला

रिलायन्सको आईपीओ निष्कासन प्रक्रियामा कानुनी झमेलाहरु नआएका होइनन् । तर कम्पनीले अदालतको आदेशबाटै प्रक्रिया अघि बढाएको हो । धितोपत्र बोर्डले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै अवरुद्ध आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउन स्वीकृति दिएको थियो ।

त्यसपश्चात खगेन्द्रराज कँडेललगायत केही व्यक्तिजारी आईपीओ निष्कासन प्रक्रिया रोक्न माग गर्दै रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए । तर न्यायधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलाशले उक्त रिटमा मागबमोजिम नहुने अन्तरिम आदेश दिएसँगै आईपीओ रोक्ने प्रयासमा पूर्णबिराम लागेको छ ।

सर्वोच्चको आदेशले उच्च अदालत पाटनको फैसला र धितोपत्र बोर्डको निर्णयमा कुनै कैफियत वा त्रुटि नभएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?