News Summary
Generated by OK AI. Editorially reviewed.- अफगानिस्तान क्रिकेट बोर्डले नयाँ फ्रेन्चाइज आधारित टी–२० लिग 'अफगानिस्तान प्रिमियर लिग' सन् २०२६ को अक्टोबरमा यूएईमा आयोजना गर्ने घोषणा गरेको छ।
- एपीएलमा पाँच सहर-आधारित टिम सहभागी हुनेछन् र राष्ट्रिय तथा विदेशी खेलाडीको सहभागिता रहने एसीबीले जनाएको छ।
- एसीबीले ट्रान्स ग्रुप र आईटीडब्लु युनिभर्सको संयुक्त कम्पनीसँग साझेदारी गरी प्रतियोगिताको टिम पहिचान, प्रायोजक र ड्राफ्ट प्रक्रिया टुंग्याउने जनाएको छ।
६ पुस, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले नयाँ फ्रेन्चाइज आधारित टी–२० लिग ‘अफगानिस्तान प्रिमियर लिग’ (एपीएल) आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिताको पहिलो सिजन सन् २०२६ को अक्टोबरतिर यूएईमा हुने योजना बनाइएको छ।
एपीएलमा पाँच सहर-आधारित टिम सहभागी हुनेछन्। प्रतियोगितामा अफगानिस्तानका राष्ट्रिय टोलीका प्रमुख खेलाडीका साथै विदेशी खेलाडी र उदाउँदा स्थानीय प्रतिभाको सहभागिता रहने एसीबीले जनाएको छ। खेलाडी ड्राफ्ट वा अक्सन सन् २०२६ को जुन–जुलाईमा हुने सम्भावना छ।
यसअघि एसीबीले सन् २०१८ मा पनि अफगानिस्तान प्रिमियर लिग आयोजना गरेको थियो। त्यतिबेला क्रिस गेल, ब्रेन्डन म्याकलम, शाहिद अफ्रिदीजस्ता चर्चित खेलाडी सहभागी भए पनि भुक्तानी समस्या र लिगको विश्वसनीयतासम्बन्धी प्रश्न उठेपछि प्रतियोगिता एकै सिजनमै बन्द भएको थियो।
एसीबी अध्यक्ष मिर्वाइस अशरफले एपीएललाई अफगानिस्तान क्रिकेटका लागि महत्वपूर्ण कदम भन्दै यसले खेलाडीलाई नयाँ अवसर दिने र अन्तर्राष्ट्रिय स्तरमा अफगान क्रिकेटको पहिचान बढाउने बताए।
एपीएल आयोजना गर्न एसीबीले ट्रान्स ग्रुप र आईटीडब्लु युनिभर्सको संयुक्त कम्पनी ‘क्रिकेट भेन्चर’ सँग साझेदारी गरेको छ। आगामी चरणमा टिमको पहिचान, प्रायोजक र खेलाडी ड्राफ्ट प्रक्रिया टुंग्याइने एसीबीले जनाएको छ।
यसका साथै अफगानिस्तानमा हरेक वर्ष जुलाई–अगस्टमा पाँच घरेलु टिम सहभागी हुने शपगीजा क्रिकेट लिग भने निरन्तर हुँदै आएको छ।
प्रतिक्रिया 4