८ पुस, विराटनगर । मोरङ उद्योग व्यापार संघले आयोजना गर्न लागेको अन्तर्राष्ट्रियस्तरको ‘विराट ट्रेड एक्स्पो–२०२५’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
विराटनगर–१, शान्ति चोकमा आयोजना हुने एक्स्पोको तयारी पूरा भएको हो । व्यापार मेला १९ पुससम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा जर्मन प्रविधिबाट निर्मित आकर्षक ह्याङ्गर संरचनाभित्र दुई सय ३० वटा स्टलहरू रहने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।
मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरूका साथै कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् ।
छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानमा उत्पादन भएका वस्तु पनि प्रदर्शनीमा राखिने छ ।
करिब दुई करोड ५० लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको यस मेलालाई दुई लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ ।
एक्स्पो अवधिभर २० देखि ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ ।
प्रतिक्रिया 4