News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक निकायमा नियुक्ति, योग्यता र पदाधिकारी संख्या एकरुपता गर्न कार्यदल गठन गरेको छ।
- कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाउने र सार्वजनिक निकायको संरचना पुनरावलोकन गर्ने निर्णय गरेको छ।
- सरकारी निकायमा दरबन्दी रिक्त रहँदा औचित्य अध्ययन गरी सुझाव पेश गर्ने निर्णय सचिव बैठकले गरेको छ।
१० पुस, काठमाडौं । सार्वजनिक निकायमा हुने नियुक्ति, योग्यता, पदाधिकारी संख्या लगायत विषयमा एकरुपता कायम गर्न सरकारले कार्यदल गठन गरेको छ ।
७ पुसमा बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिवको संयोजकत्वमा अर्थ, गृह, कानून न्याय तथा संसदीय मामिला र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रहेको कार्यदल गठन गरेको हो । सो कार्यदलले एक महिनाभित्र कार्यालयमा प्रतिवेदन बुझाउने कार्यभार पाएको छ ।
सार्वजनिक निकायका रुपमा गठन हुने/भएका परिषद्, बोर्ड, केन्द्र, समिति लगायतका पदाधिकारीको नियुक्ति, योग्यता र पदाधिकारी संख्या लगायतमा एकरुपता कायम गर्न खोजिएको बैठकको निर्णय छ ।
साथै बैठकले यस्ता निकायमा औपचारिकतामा मात्र सिमित हुने बैठकलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । विभिन्न मन्त्रालयसँग सम्बन्धित सार्वजनिक नीतिमा व्यवस्था भएका समिति, परिषद्, बोर्ड, केन्द्र लगायतको नियमित रुपमा बैठक नबस्ने, औपचारिकताका लागि मात्र बस्ने, बैठकमा महत्त्वपूर्ण एजेन्डामा छलफल र निर्णय नहुने गरेको भन्दै सरकारले यसमा कडाइ गर्ने निर्णय गरेको हो ।
साथै यस्ता संरचनाको आवश्कता तथा संरचनामा रहने पदाधिकारीको सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने भए सम्बन्धित मन्त्रालयले सोको प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरिएको छ ।
कुनै सरकारी निकायमा लामो समयसम्म दरबन्दी रिक्त रही निमित्तबाट चलिरहेको अवस्थामा उक्त दरबन्दीको औचित्यको सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन गरी एक महिनाभित्र सुझाव पेश गर्ने निर्णय सो बैठकले गरेको छ ।
प्रतिक्रिया 4