११ मंसिर, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटघाटको तयारी अन्तिम चरणमा पुगेको छ ।
केहीबेरअघि मात्रै सहमतिको खाका तयार पार्ने काममा लागिरहेका कुमार बेन, असीम शाह र आसिफ शाहले रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गरेर निस्किएका छन् ।
‘वार्ता निष्कर्षउन्मुख छ । सकारात्मक निर्णय सुनाउँछौं,’ छलफलमा सहभागी एक सदस्यले अनलाइनखबरसँग भने ।
रवि र बालेनबीच आजै निर्णायक वार्ता र निष्कर्ष सुनाउने तयारी छ ।
निकटस्थहरुले बताएअनुसार, अब एकीकृत पार्टीमा बालेनको बरियता रविको भन्दा ठीक मुन्तिर हुनेछ । अनि बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम भएका छन् ।
रविसँग यसअघिका छलफल टुंगोमा पुग्ने संकेत नपाएपछि बालेनले आफ्ना साथी कुमार बेनको ज्वागल निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन माग्दै भेटघाट तीव्र पारेका थिए ।
७ पुसको राति कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका थिए ।
रवि र बालेनबीच बिहीबार अपराह्नसम्म चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको थियो । पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे छलफल चलेको थियो ।
रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।
बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ । यसका लागि कुमार बेन, असीम शाह लगायतले काम गर्ने, त्यसै संख्यालाई बालेनले सहमति जनाउने बुझिएको छ ।
हिजो ज्वागलमा बालेनसँग भेटपछि बाहिरिएका लामिछानेलाई सञ्चारकर्मीले लौरी कि घण्टी भनी सोध्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए ।
यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी यसअघि आम रुपमा स्थापित भइसकेकाले त्यस अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नभएको स्पष्ट जवाफ प्राप्त गरेका थिए ।
रवि र बालेनबीचको सम्वाद तिक्ततातर्फ उन्मुख हुन खोजेको देखेपछि सहकर्मीहरूले दुवै नेतालाई अविलम्ब मिल्न दबाब दिएका थिए ।
दुई नेताबीच बिहीबार साँझ फेरि वार्ता हुने भनिए पनि बस्न सकेको थिएन । बालेनले कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए । रवि र कुलमानबीच दोहोरो संवाद स्थापित नभइरहेका बेला कुलमानलगायत विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँ ल्याउने जिम्मेवारी बालेनले लिएका छन् ।
प्रतिक्रिया 4