११ पुस, काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको स्मरणपत्रमा माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुनैपर्ने उल्लेख गरिएको छ ।
स्मरणपत्रमा भनिएको छ, ‘हामी पुन: स्पष्ट पार्न चाहान्छौं, विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैधानिक अधिकार हो । विधानले तोकेको समयसीमा ‘तीन महिना’ अर्थात् २०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्छ ।’
विशेष महाधिवेशनको मिति, स्थान तोक्न निर्णय गर्नका लागि माग गरिएको छ ।
कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुरुपको बनाउन, समसामयिक नीति निर्माण गर्न महाधिवेशन अनिवार्य रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
१४ औं महाधिवेशनका ५४.५८ प्रतिशत हस्ताक्षर सहित २९ असोजमा निवेदन पेश गरिएको थियो । विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्दछ ।
विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्धय थापा र शर्मालाई शुक्रबार स्मरणपत्र बुझाएका छन् । स्मरणपत्र बुझेपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताए ।
प्रतिक्रिया 4