+
+
Shares

जेनजी आन्दोलनपछि खुलेका नयाँ दलबीच निर्वाचनमा तालमेल गर्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १९:२८

१२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन समूहबाहेक जेनजी आन्दोलनपछि खुलेका नयाँ दलहरूले आगामी निर्वाचनमा तालमेल गर्ने समझदारी गरेका छन् ।

हिमालय होटलमा आज करिब पाँच घण्टासम्म चलेको संयुक्त बैठकमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरूको बन्दसूची पेस गर्दा सबै पक्षलाई समेटेर पेस गर्ने र प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा तालमेल गर्ने समझदारी गरेको हो । त्यसको गृहकार्य गर्न कार्यदल गठन गर्ने समझदारी समेत भएको छ ।

बैठकमा सहभागी समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले भने, ‘जेनजी आन्दोलनपछि खुलेका सबै दल आगामी निर्वाचनमा जुटेर अगाडि बढौं भन्ने समझदारी भएको छ । त्यसको मोडालिटी टुंगो लगाउन ७ सदस्यीय कार्यदल बनाउन पनि सहमत भएका छौं ।’ कार्यदलमा कोको रहने भन्नेबारे भने टुंगो लाग्न बाँकी रहेको उनले बताए ।

बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, समुन्नत नेपाल पार्टीका सर्वेन्द्र खनाल, जनादेश पार्टीका रमण कुमार कर्ण, नागरिक बचाउ दलका माधव खतिवडा, जय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरी, जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक कुमार मण्डल, समावेशी लोकतान्त्रिक पार्टीका संरक्षक सुनिलबाबु पन्त, प्रगतिशील लोकतान्त्रिक पार्टीका डा. घमान सिंह गुरुङ, सर्वोदय नागरिक पार्टीको अध्यक्ष गणेशकुमार मण्डल, नेपाल जनता दलका अध्यक्ष नवराज सुवेदी, आवाज पार्टीका डा. सुन्दर सिंह बोहोरा लगायत सहभागी थिए ।

बैठकमा उज्यालो नेपाल पार्टीका जितराम तामाङ र श्रम संस्कृति पार्टीका केन्द्रीय सचिवालय सदस्य अमित थापा समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?