१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलका अनुसार आजको छलफलले २१ फागुनमै चुनाव हुने बातावरण बनेको छ ।
‘चुनाव हुन्छ कि हुँदैन भन्ने कुराको अब स्पष्ट जवाफ आयो अब चुनाव हुन्छ,’ बैठकपछि सञ्चारमन्त्री खरेलले भने । उनका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध छन् ।
‘फागुन २१ को चुनाव यताउता नगरौं । विशेष परिस्थितिमा यो सरकारले काम गरिरहेको कारणले पनि उहाँले सरकारले गरेको कामको प्रशंसा गर्नुभयो,’ प्रचण्डबारे मन्त्री खरेलले भने । उनका अनुसार देउवाले पनि अबको कार्यदिशा प्रष्ट चुनावतर्फ रहेको बताएका छन् । ‘देउवाले कांग्रेसको प्राथमिकता अब संसद् पुनर्स्थापना होइन, चुनाव हो भनेर भन्नुभएको छ,’ उनले भने ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरू चुनावको विपक्षमा नभए पनि सुरक्षा चिन्ता जनाएका थिए । बैठक स्रोतका अनुसार ओलीले सुरक्षा चिन्ता जनाउँदा केही रोचक दृष्य देखिएको थियो ।
जहाँ– ओलीले चिन्ता गर्थे, जवाफ प्रधानमन्त्री कार्की भन्दा अघि बढेर देउवाले दिन्थे । ओलीका केही प्रश्नको जवाफ प्रचण्डले पनि दिएका थिए ।
ओलीलाई सम्झाउने कोशिस
बैठक स्रोतका अनुसार प्रधानमन्त्री कार्कीसहित देउवा, ओली र प्रचण्डबीचको छलफललाई सञ्चारमन्त्री खरेलले अगाडि बढाएका थिए । खरेलले चुनावी वातावरण बन्दै गएको, र प्रमुख दलहरूबाट त्यसमा जिम्मेवार भूमिका जरुरी पर्ने बताएका थिए ।
‘सञ्चारमन्त्रीले भूमिकासहित बैठक अगाडि बढाउनुभएपछि नेताहरू आफैंले कुरा राख्न थाल्नुभयो,’ स्रोत भन्छ, ‘बैठकभर शेरबहादुर देउवा हाबी हुनुभयो ।’ जबकि बोल्दै नबोल्ने अथवा थोरै शब्दमा जवाफ दिएर बैठक टुंग्याउने स्वभावका नेता हुन्, देउवा ।
तर आज बालुवाटारमा देउवा फरक भूमिकामा देखिएका थिए । शुरूमै देउवाले समानुपातिक तर्फको बन्दसूची बुझाउने मिति थप्नेबारे प्रस्ताव राखेका थिए ।
‘हाम्रो पार्टीभित्र अलिक समस्या छ, पाँच दिन जति बन्दसूची बुझाउने समय थप्दा राम्रो हुन्थ्यो,’ देउवाको प्रस्ताव थियो । तर २१ फागुनको चुनाव तलमाथि गर्न नहुने पनि देउवाले बताएका थिए ।

‘पार्टीमा समस्यै भयो के, के गर्ने होला,’ देउवाले बन्दसूचीको मिति थप्न जोड गरेका थिए । देउवाको यस्तो प्रस्तावमा ओली र प्रचण्डले पनि साथ दिएका थिए ।
‘हामी त समयमै दिन्छौं, तर सबैलाई सहज हुन्छ भने पाँच दिन थप्दा केही फरक पर्दैन,’ देउवालाई नै सहयोग पुग्नेगरी प्रचण्डले बोलेका थिए । यसमा ओलीले पनि विमति जनाएनन् । ‘मेरोमा झमेला छैन, एकै क्षणमा दिन्छु,’ ओलीले भनेका थिए ।
तर प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले यो विषय निर्वाचन आयोगसँग जोडिएको जवाफ दिए । ‘अस्ति शीतलनिवासमा पनि यो कुरा उठेकै हो, तर निर्वाचन आयुक्तले सकिँदैन भनिसक्नुभएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । प्रधानमन्त्री कार्कीले निर्धारित समयमै बन्दसूची बुझाएर पछि एक हप्ताभित्र संशोधन गर्ने विकल्प सुझाएकी थिइन् ।
‘सात दिनसम्म सच्याउन सकिन्छ, समयमै एउटा सूची चाहिँ बुझाइदिनुस्,’ प्रधानमन्त्री कार्कीले यसबारे थप कुरा गर्न नचाहेको संकेत गरिन् ।
यसपछि पनि देउवाले नै बोले । २१ फागुनमा चुनाव गर्न केही उच्च पहाडी र हिमाली जिल्लामा समस्या हुन सक्ने प्रसंग देउवाले उठाए । हिउँ पर्ने भएकाले समस्या हुने जिल्लामा चुनाव केही पछि सार्न सकिने विकल्प देउवाले राखेका थिए ।
यसपछि बल्ल प्रधानमन्त्री कार्कीलाई चुनावबारे औपचारिक आग्रह गर्न भनियो । प्रधानमन्त्री कार्कीले पनि सबै दलहरूले चुनावको तयारी गरिरहेको कुरा स्वागत योग्य भएको बताइन् ।

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ प्रधानमन्त्री कार्कीले औपचारिक आग्रह गरिन्, ‘सबै यसमा सहभागी हुनुपर्छ । तपाईंंहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो बातावरण बनिरहेको देख्छु, यो स्वागत योग्य छ ।’
भूमिका बाँड्ने क्रममा प्रधानमन्त्री कार्कीले बालुवाटार नेताहरूकै भएकोसम्म बताइन् । ‘यो घर तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
चुनावको आग्रह गरिरहँदा प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थारे पनि ब्रिफिङ गरिन् । सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको, विस्फोटक पदार्थ बरामद गरिएको, कैन्दीबन्दी फिर्ता भइरहेको जस्ता जानकारी प्रधानमन्त्री कार्कीले दिदै गर्दा बीचमा देउवा बोलेका थिए ।
‘ठीक छ, सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ, सेना परिचालन गरेर भएपनि गराउनु पर्छ,’ प्रधानमन्त्री कार्कीलाई रोकेर देउवा बोले । स्रोतका अनुसार, यसपछि भने ओलीले पनि बोल्न थाले ।

सेना परिचालन गरेर चुनाव गराउने देउवाको तर्कमा ओलीले खण्डन गरेका थिए । ‘सेना परिचालन भएपनि ऊ पर बसेर हेर्ने हो, मुख्य कुरा त प्रहरी नै हो नि,’ ओलीले सुरक्षामा ढुक्क हुने स्थिति नरहेको बताए ।
बैठक स्रोतका अनुसार सुरक्षा चिन्ता गर्ने क्रममा ओलीले फेरि यसअघि सार्वजनिक रुपमा भन्दै आएका कुरा व्याख्या गर्न थालेका थिए ।
‘संवैधानिक हिसाबले, राजनीतिक हिसाबले पनि यो सरकार उचित छैन । अब सरकार बनेको तीन महिनापछि उसले जेनजीको नाममा अर्को सम्झौता गरेको छ,’ चुनाव हुनेमा ओलीले अविश्वास गरे, ‘संविधान संशोधनको कुरा पनि उठेको छ, विदेशका मतदातालाई अधिकार दिने भन्छ, यसले यो सबै चुनाव गराउनु भइरहेको छ ?’
चुनाव सार्दै बंगलादेशकै जस्तो अवस्था निम्तने खतराप्रति ओलीले संकेत गर्दै थिए, देउवाले हस्तक्षेप गरे ।
‘बंगलादेशको कुरा नगर्नुस्, त्यहाँ पनि चुनाव भयो र ? त्यहाँको पनि कहीँ लोकतन्त्र हुन्छ ?,’ देउवाले ओलीलाई सम्झाउन खोजे ।
तर ओली रोकिएनन् । उनले विगतमा माओवादीसँग भएको सम्झौताका कुरा उठाए । ‘माओवादीसँग सम्झौता गर्दा ऊसँग सेना थियो, संगठन थियो,’ ओलीले जेनजीसँग सरकारले गरेको सम्झौताप्रति असन्तुष्टि जनाए ।
‘यहाँ त जम्मा ४०/५० जना केटाकेटी थिए होलान् । ती केटाकेटीहरूलाई बोलाएर पनि मैले पनि छलफल गरेँ,’ ओलीले बैठकमा भने, ‘उनीहरूले कुरासुरा बुझेको छैन, अल्लारे केटाकेटी आए, प्रयोग भए ।’ ओलीको जोड जेनजी आन्दोलन नभएर कतैबाट परिचालित विध्वंश थियो भन्नेमा रह्यो ।

२४ भदौमा छानिछानि घर जलाउने काम भएको ओलीले बताउँदै थिए, फेरि देउवाले बोले । ‘जलाए नि, किसुनजीको आश्रमको सुराइ त फुटाइदिए,’ देउवाले भनेका थिए ।
देउवाले पटकपटक सम्झाउँदा पनि ओलीले आफ्नो कुरा नछोडेपछि प्रचण्डले पनि अब चुनाव केन्द्रीत हुन आग्रह गरेका थिए । ‘अस्ति शीतलनिवासमै यो सबै कुरा भनिसक्नुभयो त, कमरेड,’ प्रचण्डले ओलीसँग आग्रह गरेका थिए ।
तर ओलीले भने प्रधानमन्त्री कार्कीलाई समेत सम्झाउन खोजे । २३ भदौको घटनामा आफू नभएर गृहमन्त्री र सुरक्षा निकायका प्रमुख जिम्मेवार हुने ओलीले तर्क गरे ।
‘आयोगमा पूर्वगृहमन्त्री जान्छु भन्नुभएको छ । अब मेरो कुरा गर्दा त्यहाँ प्रधानमन्त्री रेस्पोन्सिवल हुँदैन,’ ओलीले तर्क गरे, ‘सम्बन्धित मन्त्रालयको कुरा हो, सुरक्षा निकायको कुरा हो । प्रधानमन्त्रीलाई बलजफ्ती तान्नुपर्ने कुरै छैन ।’
ओलीले तर्क गर्ने क्रममा हालका मन्त्रीहरूले गरेको कमजोरीमा भोलि प्रधानमन्त्री कार्की तानिन नहुने बताएका थिए । ‘बिजुली कतिमा किन्नुपर्ने, कतिमा किनियो भन्ने छ,’ ओलीले भने, ‘भोलि तपाईं (प्रधानमन्त्री कार्की) त्यहाँ उभिने भन्ने हुन्छ ।’
प्रतिक्रिया 4