१३ पुस, काठमाडौं । गत ४ चैतमा टोखाबाट बरामद २५ करोडभन्दा बढी रकमका मालिक नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
मालिक पौडेल र यसका भरिया तथा ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड रुपैयाँ भन्दा बढीको मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।
उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेका हुन् ।
४ चैतमा टोखाबाट २५ करोड रुपैयाँ भन्दा बढी बरामद हुँदा यसका मालिक पौडेल भने फरार भएका थिए । उनी पछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर सुटुक्क रिहा भएका थिए ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय पौडेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाल शर्माको ३२ असारको इजलासले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका थिए । लामो समयसम्म फरार भएका उनी सुटुक्क अदालतमा उपस्थित हुनु र धरौटीमा रिहा हुनुले संशय पैदा गरेको थियो । जबकि २५ करोडका भरिया कुसाङ लामालाई भने पुर्पक्षका लागि पठाएकाले उनी कारागारमा थिए ।
३ वैशाखमा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले भरिया सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का लामालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
४ चैतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखास्थित झोरबाट चीनको केरुङतर्फ जान लागेको ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त रकमसहित चालक लामालाई पक्राउ गरेको थियो । लामा उक्त रकमको भरिया रहेको खुलेको थियो ।
पौडेलकै संलग्नतामा उक्त रकम ट्रकमा राखिएको सीसी क्यामेराको फुटेज समेत भेटिएको थियो । पौडेलले करिब साँझ साढे ६ बजेतिर उक्त रकम ट्रकमा राखेको फुटेजमा देखिएको थियो ।
त्यतिबेला मालिकको भने पहिचान हुन सकेको थिएन । बरामद ५००, २००, १०० दरका जम्मा १३ लाख ७५ हजार १५० युरो र १०० र ५० दरका ३ लाख २० हजार ८५० डलर (तत्कालीन प्रचलित मूल्यअनुसार २५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ), ट्रक र भरिया लामासहितलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन बुझाइएको थियो ।
भरिया मात्रै पक्राउ गरेर मालिकलाई चोख्याएको, मालिक खोइ भन्दै यो विषयले संसद्सम्म चर्चा पाएको थियो । केही समयपछि विभागले यसका मालिक पनि पहिचान गरेको थियो ।
‘संसद्सम्म यसका मालिकबारे प्रश्न उठेको थियो । जसका कारण पनि मालिक पहिचान गर्न हामीलाई चुनौती थियो । तर सफल भयौं,’ विभागका तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरेले भनेका थिए ।
विभागले २० चैतमा पत्रकार सम्मलेन गर्दै यो रकमका मालिक पौडेल रहेको बताएको थियो । तर त्यतिबेलासम्म पनि उनी फरार नै थिए । पक्राउ परेका भरिया लामा र फरार मालिक पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गतको कसुरमा २ वैशाखमा मुद्दा दायर गरिएको थियो ।

उनीहरूविरुद्ध बरामद भएको रकम बराबरको बिगो र जरिवाना मागदाबी गर्नुका साथै ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐनअनुसार जफतका लागि मागदाबी गरिएको थियो । फरार रहेको करिब ४ महिनापछि सुटुक्क अदालत उपस्थित भएका पौडेल सुटुक्कै रिहा भएका थिए ।
टोखा नगरपालिका–१० महादेवटार हाइटस्थित आफ्नै घरमा बसोबास गर्ने पौडेलकै मुख्य लगानी र योजनामा यो रकम चीन जान लागेको विभागको अनुसन्धानबाट खुलेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले काठमाडौंबाट युरो र अमेरिकी डलर चीन लगेर उताबाट सुन लिएर आउने गरको निष्कर्ष निकालेको थियो ।
पौडेलले प्रयोग गर्ने मोबाइल र भरिया लामाको मोबाइलमा समेत सूचना आदानप्रदान भएको र फोन सम्पर्क भएकोसमेत भेटिएको थियो । प्रहरीले ११ बजे राति चालक कुसाङलाई पक्राउ गर्नुभन्दा केही समय पहिला मात्रै पौडेल र लामाबीच फोनमा कुराकानी भएको विवरण समेत भेटिएको थियो ।
पौडेलकै संलग्नतामा उक्त रकम ट्रकमा राखिएको सीसी क्यामेराको फुटेज समेत भेटिएको थियो । पौडेलले करिब साँझ साढे ६ बजेतिर उक्त रकम ट्रकमा राखेको फुटेजमा देखिएको थियो ।
यतिसम्म कि, आर्थिक अवस्था एकदमै न्यून रहेका लामालाई यो ट्रक नै तस्करी गर्नका लागि पौडेलले किनिदिएको हुनसक्ने आशंका गरिएको थियो ।
लामा यसअघि पनि १३ पुस २०७३ मा ७ किलो सुनसहित पक्राउ परेका थिए । यो प्रकरणमा उनी ५ वर्ष जेल बसेर २०७८ मा छुटेका थिए ।
प्रतिक्रिया 4