News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ भने जिल्ला प्रशासन कार्यालय रसुवाले पुष्टि गरेको छ।
- २४ असारमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएपछि नाका पूर्णरूपमा अवरुद्ध भएको थियो।
- नेपाल र चीनको द्विपक्षीय पहलमा बेलिब्रिज निर्माण भई प्राविधिक परीक्षणपछि नाका खुल्ने निश्चित भएको छ।
१३ पुस, काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ ।
२४ असारमा भोटेकोशी नदीमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो । साथै, सडक सम्पर्क समेत विच्छेद भएको थियो ।
अधिकारीका अनसार नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भई भार बहन क्षमता लगायत प्राविधिक पक्षसमेत परीक्षण भइरहेको छ ।
चिनियाँ समकक्षी पक्षले रसुवास्थित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार १ जनवरीदेखि नाका सूचारु हुने निश्चित भएको हो ।
नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नाका खुल्ने निश्चित भएसँगै ड्राइपोर्टमा गाडी पार्किङ र सामान राख्ने गरी स्थान व्यवस्थापन गरिएको छ । ‘हामी नाका खुल्दा काम गर्न पूर्णतयार भएर बसेका छौं,’ उनले भने ।
चीन र नेपाल जोड्ने मुख्य नाका रसुवागढी बन्द भएपछि अहिले चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी सरेको छ ।
तातोपानी नाकासमेत लामो समय बाढी र पहिरोका कारण बन्द भएका कारण व्यापार अवरुद्ध भएको थियो । जसले गर्दा चाडबाडको समयमै चीनबाट नेपाल आउने सामान रोकिएका थिए । जसका कारण व्यापारीले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो ।

प्रतिक्रिया 4