
News Summary
Generated by OK AI. Editorially reviewed.- डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने मितेरी पुलको स्थानमा बेलिब्रिज बनाउने तयारी भइरहेको छ।
- चिनियाँ पक्षले ८१ जना कामदार र आवश्यक सामग्री ल्याउन अनुमति मागेको छ र तीन महिनाभित्र बेलिब्रिज जडान गर्ने प्रतिबद्धता जनाएको छ।
- रसुवामा बाढीले ११ जनाको मृत्यु र सडक अवरुद्ध हुँदा रसुवागढी सुक्खा बन्दरगाह र जलविद्युत् आयोजना प्रभावित भएका छन्।
१० भदौ, काठमाडौं । डेढ महिनाअघि तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने मितेरी पुलको स्थानमा तत्काललाई बेलिब्रिज बनाउने तयारी गरिएको छ । चिनियाँ पक्षको सहयोगमा बेलिब्रिज बनाउने गरी तयारी अघि बढेको हो ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार, नेपाल-चीन जोड्ने प्रमुख व्यापारिक नाका ठप्प भएको अवस्थामा तत्काल खुलाउने प्रयास भइरहेको छ ।
‘हालै चिनियाँ पक्षले कामदार पठाउन क्लीयलेन्सका लागि पत्र पठाएको थियो,’ उनले अनलाइनखबरसँग भने, ‘त्यही अनुसार जिल्ला प्रशासन कार्यालय, रसुवाले मन्त्रालयमा पत्र पठाएपछि कूटनीतिक प्रक्रिया अघि बढेको छ ।’
स्रोतका अनुसार, नेपाली पक्षबाट चाँडै अनुमति प्राप्त भए तीन महिनाभित्रमै बेलिब्रिज जडानको काम गरिसक्ने चिनियाँ पक्षले प्रतिबद्धता जनाएका छन् ।
त्यसका लागि ८१ जना चिनियाँ कामदार, आवश्यक औजार, उपकरण र अन्य सामग्री ल्याउन चिनियाँ अधिकारीहरूले अनुमति मागेका छन् । त्यसका लागि अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले दुई दिनअघि मन्त्रालयमा पत्र पठाएको थियो ।
रसुवामा २४ असारमा बाढी गएलगत्तै बसेको विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणको बैठकले मितेरी पुल निर्माणका लागि चीनसँग अनुरोध गर्ने निर्णय गरेको थियो । पहिले चीनकै सहयोगमा बनेको भन्दै त्यसका लागि फेरि चिनियाँ पक्षलाई नै अनुरोध गर्ने निर्णय थियो ।
त्यसयता नेपाली पक्षबाट निर्माण हुने क्षेत्रमा भएका अवरोध हटाउने काम भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी बताउँछन् ।
‘अहिले नेपाली कामदारहरू प्रयोग गरेर त्यो क्षेत्रलाई क्लीयर गर्ने काम गरिरहेका छौं, कूटनीतिक विषयमा समाधान हुने वित्तिकै काम अघि बढ्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।
रसुवाको ल्हेन्दे खोलामा एकाबिहानै आएको बाढीमा परेर ११ जनाको मृत्यु भएको थियो । बाढीले मितेरी पुल बगाउनुको साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध पारेको थियो ।
रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत् आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरू बगाएको थियो ।
विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरू बगेका थिए । तीन वटा हाइड्रोमध्ये रसुवागढीमा धेरै क्षति भएको थियो ।
प्रतिक्रिया 4