+
+
Shares

कुलमानको आगमनसँगै थप मजबुत बन्यो रास्वपा

‘उहाँले रविज्यूको फोन उठाउनुभएको थिएन । खाली कुरा गर्छन्, मिल्दैनन् भनेर सबै निराश जस्तै थियौँ । तर, एकाएक सुदन गुरुङहरु आएर लिएर गए,’ कुलमाननिकट एक नेताले अनलाइनखबरसँग भने ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष १४ गते २३:२१

१४ पुस, काठमाडौं । पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब पुरानाहरुको विररुद् उठेको आवाज करिब एक ठाउँमा संगठित भएको छ । यसअघि नै विवेकशील साझा पार्टी रास्वपामा मिलिसकेको थियो ।

जेनजी आन्दोलनका केही अगुवाहरू पनि रास्वपामा प्रवेश गरिसकेका थिए ।

जेनजी आन्दोलनमा संलग्नहरूको समेत राजनीतिक, नैतिक र भौतिक समर्थन तीनवटा संगठित समूहमा केन्द्रित देखिएको थियो । त्यसैले चुनावका लागि यी तीन शक्तिहरू मिल्नुपर्ने दबाब जेनजी आन्दोलनकारीहरूले पनि दिँदै आएका थिए ।

पुराना पार्टीहरूको बर्चस्व तोड्नका लागि छुट्टा छुट्टै चुनावमा भाग लिँदा सम्भव नहुने निष्कर्ष निकाल्दै यी तीन शक्तिहरु एक ठाउँमा आएका हुन् । यद्यपि जेनजी आन्दोलनपछि वैकल्पिक शक्तिको नाममा अन्य राजनीतिक दलहरू पनि खुलेका छन् ।

यी तीन शक्तिबीचको एकतामा दलभित्रको संरचनामा पदीय भागबन्डाका कुरा पनि मिसिएका छन् । सभापतिमा रवि लामिछाने रहने छन् । बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । कुलमान घिसिङ चाहिँ पार्टीका सभापति पछिको पहिलो दर्जाको उपसभापति रहनेछन् । समानुपातिक सूचिमा १८ जना उज्यालो नेपाल पार्टीका तर्फबाट र बालेनका तर्फबाट ४० जना रहने भद्र सहमति छ ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन पद बाडफाँट गरेर अघि बढेका उनीहरूको मूल उद्देश्य कुशासनविरुद्ध उभिने र योग्यता प्रणालीलाई स्थापित गर्ने भन्ने छ ।

यो सहमति जुटाउन तीन शक्तिबीच पटक-पटक छलफल भएको थियो । उक्त छलफलले पहिलो चरणमा रास्वपा र बालेनबीच सहमति जुटायो । सोमबार दोस्रो चरणमा कुलमानसँग सहमतिमा पुग्यो ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच सहमति भएपनि कुलमानसँग कुरा मिल्न सकेको थिएन ।

पार्टी गठनसँगै विभिन्न वैकल्पिक शक्तिसँग छलफलमा जुटेका कुलमानले जेनजी अगुवादेखि अन्य नेतासँग भेट गरेका थिए । यतिसम्म कि, काठमाडौं महानगरका मेयर बालेन शाहसँग त तस्वीर नै सार्वजनिक गर्दै लेखेका थिए, ‘देश बनाउने हकमा हामीसँगै छौँ ।’

कुलमानले उक्त पोस्ट हालेकै दिन यता रास्वपा र विवेकशीलको एकता भएको थियो । त्यसबेला नै बालेनसँग करिबकरिब सँगै अघि बढ्ने संकेत गरेका कुलमानले समानान्तर रुपमा रास्वपासँग पनि छलफल जारी राखेका थिए । पार्टीबाट वार्ता समिति नै बनाएर एकता र सहकार्यको लागि छलफल जारी राखे ।

यसरी वैकल्पिक शक्तिसँग एक भएर बढ्ने भन्दै अघि बढेका कुलमानले रास्वपा र विवेकशीलको मिलनपछि आफ्नो बार्गेनिङ पावर बढाउन बालेनसँगको फोटो सार्वजनिक गरेको टिकाटिप्पणी समेत भएको थियो ।

त्यसपछि पनि निरन्तर संवादमा रहेका कुलमान बालेन र रवि लामिछानेसँगै पटकपटक बसे । रवि–बालेन मिलनपछि पनि यो क्रम जारी रह्यो । आइतबार रातीसम्मै यी नेताहरू छलफलमा थिए ।

तर, उक्त छलफल विना निस्कर्ष टुंगियो । त्यसपछि दुबै दल आ–आफ्नो तर्फबाट समानुपातिक सूची तयार गर्न थाले । उज्यालो नेपाल पार्टीले त निर्वाचन आयोगमा समानुपातिकको सूची नै बुझायो । रास्वपा पनि समानुपातिक सूची बनाउनकै लागि केन्द्रीय कमिटी बैठकमा बसेको थियो ।

उज्यालो नेपाल पार्टीले पनि यता निर्वाचन आयोगमा सूचि बुझाउँदा–नबुझाउँदै कुलमान फेरि रास्वपासँग संवादमा जुटे । बौद्धको अन्तरा होटलमा पार्टी नेतासँग छलफल गरेपछि कुलमान रवि भेट्न निस्किएका थिए ।

अन्तरा होटलमा उज्यालो नेपाल पार्टीका केन्द्रीय कमिटीका केही व्यक्ति सहभागी थिए । उनीहरुको आन्तरिक बैठक चलिरहेको थियो । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको सूचि तयार पार्ने काम भइरहेको थियो ।

उक्त बैठकमा सहभागी एक सदस्यका अनुसार अन्तरामा उज्यालो नेपालको बैठक चल्दै गर्दा रास्वपा सभापति रवि लामिछानेको फोन पटकपटक आइरह्यो । तर, कुलमानले उठाएका थिएनन् । ‘यिनीहरु खाली भनिरहन्छन्, तर मिल्ने कुरै गर्दैनन्,’ भन्दै आफूनिकटका सँग भन्दै थिए ।

‘उहाँले रविज्यूको फोन उठाउनुभएको थिएन । खाली कुरा गर्छन्, मिल्दैनन् भनेर सबै निराश जस्तै थियौँ । तर, एकाएक सुदन गुरुङहरु आएर लिएर गए,’ कुलमाननिकट एक नेताले अनलाइनखबरसँग भने ।

जेनजी स्रोतका अनुसार पनि कुलमानलाई द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले गाडीमा बोकेर लगेको पुष्टि गरे । बालेनसहितको त्रिपक्षीय वार्ताका लागि सुदन गुरुङसहित जेनजी अगुवा जेम्स कार्की र ओजस्वी थापाले गाडीमा राखेर कुलमानलाई वार्तास्थल पुर्‍याएको उनले बताए ।

त्यसको केही समयअघि मात्र सुदन गुरूङले रास्वपा कार्यालयमै गएर केन्द्रीय समिति बैठक सुरू हुनुअघि कुलमानलाई पनि मिलाएर लैजान दबाब दिएका थिए ।

कुलमानलाई वार्तास्थल पुर्‍याउने मध्येका जेनजी अगुवा ओजस्वी थापाले अनलाइनखबरसँग भने, ‘उहाँहरु बौद्धमा हुनुहुन्थ्यो । हामीले त्यहीँ गएर उहाँलाई अनुरोध गर्यौँ । त्यसपछि गाडीमै बोकेर वार्तास्थलसम्म ल्यायौँ । मिल्नलाई सकेको दबाब हामीले सबै पक्षलाई दियौँ ।’

त्यस्तै, अर्का जेनजी अगुवा जेम्स कार्कीले भने, ‘हामीले आज तीनै जना नेतालाई भेटर – ‘तपाईंहरु जसरी पनि मिल्नुपर्छ । यसरी त तपाईंहरुले नै जेनजीलाई डिभाइड गर्न खोज्दै हुनुहुन्छ । जसरी पनि मिल्नुको विकल्प अहिले छैन । कम्तिमा हाम्रो लागि भएपनि मिलिदिनुस् भन्यौँ । त्यसपछि एक्लाएक्लै जाने मुड बनाइसक्नुभएको उहाँहरु वार्तामा पुनः बस्न तयार हुनुभयो ।’

यसअघि पनि रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाह बीच एकता भएपछि कुलमान घिसिङसँग पनि एकताको प्र्रयास पटकपटक भएको थियो । यता उज्यालो नेपालले पनि समानान्तर रुपमा प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि संवाद गरिरहेको थियो । बालेन रास्वपासँग मिलेपछि पनि रवि–बालेन–कुलमानबीच चरणचरणमा त्रिपक्षीय संवाद भएका थिए ।

तर, पदीय बाँडफाँटमा सहमति जुट्न सकेको थिएन । उज्यालो नेपाल पार्टीकै केन्द्रीय सदस्य अनुसार रास्वपासँग एकताका लागि आफूहरु अत्यधिक भएर प्रस्तुत हुँदा पनि उक्त दलका सभापति रवि लामिछानेले एउटा शक्तिलाई अवमूल्यन गरेको हुँदा एकता टरेको बताएका थिए ।

रास्वपाबाट एक प्रकारले ‘पोलिटिकल ह्युमलिएसन’ भएको बताउँदै यसले आफ्नो ढंगले समानुपातिक सूची बनाएर निर्वाचन आयोगमा दर्ता गराउन पनि भ्याइसकेको थियो ।

‘रविले कुटिल र हेपाहा प्रवृत्ति देखाए । सुरुमा ३० प्रतिशत सहित मिलौं भनेका उनले अहिले १५ प्रतिशत हिस्सेदारी लिएर आउने भए आउ भन्न थाले,’ यसअघि सहमति हुन नसक्नुको कारण देखाउँदै ती केन्द्रीय सदस्यले भनेका थिए ।

त्यसो त वैकल्पिक शक्ति एक बनाउने यी तीन पक्षको पहल अहिले एकाएक देखिएको हैन । कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन नगर्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग संवाद गरेका थिए । त्यसबेला रास्वपाको सभापति आफू हुनुपर्ने अडान कुलमानले राख्दा कुरा मिलेको थिएन । जबकी त्यसबेला पार्टी उपसभापतिसहित भावी प्रधानमन्त्रीको रुपमा कुलमानलाई अघि बढाउन पनि रास्वपा तयार थियो । तर, उनी सभापतिको अडानमै रहँदा दुईपक्षमा सहमति जुट्न सकेन ।

बरु कुलमानले बालेनसँगको फोटो सार्वजनिक गर्दै आफ्नो पक्षमा माहोल बनाउन लागे । वैकल्पिक शक्तिको केन्द्रमा आफूलाई देखाउन हरसम्भव प्रयत्न गरे ।

तर, जब रास्वपा सभापति रवि लामिछाने नख्नु कारागारबाट रिहा भए, एकाएक तीव्र गतिमा वैकल्पिक शक्तिबीच संवाद अघि बढ्यो । रवि, बालेन र कुलमानबीच विभिन्न चरणमा छुट्टाछुट्टै भेटवार्ता भयो ।

तर, अन्तिम अवस्थामा गत आइतबार झिसमिसेमा बालेन र रविबीच सहमति भयो । कार्यकारी भूमिका पाउनुपर्ने अडान कायम राख्दा कुलमान उक्त एकतामा छुटे । कुलमान पक्षधरको तर्क थियो, ‘एउटाले सभापति पाउने, अर्कोले प्रधानमन्त्री । हामीलाई चाहिँ के ?’

यतिसम्म कि, उज्यालो नेपाल पार्टीले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव नै अस्वीकार गर्‍यो । पार्टीको नाम, चुनाव चिह्न, सभापति, प्रधानमन्त्री सबै रास्वपाबाट हुने भएपछि उज्यालो नेपाल पार्टी बिच्किएको थियो ।

आफ्नो अस्तित्व मासेर रास्वपामा नजाने उज्यालो नेपालको अडान थियो । उल्टै रविसँग एकता गरिसकेका बालेनले पनि धोका पाउने भन्दै रवि–बालेन एकतामाथि कुलमानले टिप्पणी गरे ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार शनिबार दिउँसो १ बजेदेखि साझ ५ बजेसम्म बौद्धको एक होटलमा बसेको उज्यालो पार्टी बैठकमा कुलमानले भनेका थिए, ‘सबैको हकमा वीन-वीन हुनुपर्छ । मिल्ने भनेपछि कसैको अस्तित्व पूरै सकिने भन्ने हुँदैन । अरुको केही होइन भन्ने खालको वातवरण हुन हुँदैन । सबैलाई एउटा शक्तिको रुपमा स्वीकारेपछि शक्तिको रुपमा लिनुपर्छ ।’

रास्वपाले अवमूल्यन गरेको निष्कर्ष पनि उज्यालो नेपाल पार्टीले निकालेको थियो । ‘सभापति, भावी प्रधानमन्त्री सबै उतैको भएपनि हामीलाई त लतारिएर आईहाल्छन् भन्ने हिसाबले सोचेको थियो । यो हाम्रो शक्तिमाथिको अवमूल्यन हो,’ उनेपाका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भनेका थिए ।

यसरी कुलमानले आफ्नो अडान नछाड्दा उज्यालो नेपाल पार्टीकै कतिपय केन्द्रीय सदस्य निराश देखिएका थिए । रवि–बालेनबीच एकता भएको रात नै कुलमान वार्तास्थलबाट बाहिरिएको खबर आएसँगै एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भनेका थिए, ‘खै ! उहाँलाई कसले पो सल्लाह दिएको हो । रवि र बालेन छोडेर अहिलेको समयमा एक्लै हिँडेर कहाँ पो पुगिन्छ भन्ने लाग्छ ?’

तर, अन्ततः कुलमान घिसिङ अन्तिम घडीमा आएर रास्वपामै मिसिएका छन् । यसअघि रास्वपाबाटै आएको प्रधानमन्त्री अफर छोडेका उनले सोही पार्टीबाट बालेनलाई प्रधानमन्त्रीका उम्मेदवारमा स्वीकार्दै एकता गरे । जुन बुँदा र विषयमा कुलमानको असन्तुष्टि थियो, त्यसकै वरपर रहेर नै रास्वपासँग मिल्न बाध्य बन्नुपर्‍यो । अन्तत: ७ बुँदे सहमतिसँगै अब उनी रास्वपाबाटै फागुन २१ को निर्वाचनमा होमिने भएका छन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?