१४ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन शाहबीच भएका दुई वटा सहमतिले आगामी निर्वाचनको मुख्य प्रतिस्पर्धा पुराना र नयाँ दलबीच हुने देखिएको छ ।
रास्वपाका सभापति लामिछाने र उनेपाका अध्यक्ष अनुपकुमार उपाध्यायबीच सोमबार भएको सात बुँदे सहमतिमा घिसिङ रास्वपा उपसभापति बन्ने उल्लेख छ ।
आइतबार बिहान मात्र रास्वपा सभापति लामिछाने सँगको सातबुँदे सहमतिले मेयर शाहलाई प्रधानमन्त्री र रास्वपा संसदीय दलको नेता बनाउने सहमति भएको थियो । उक्त सहमतिमा पार्टीको नेतृत्व लामिछानेले गर्ने र सरकारको नेतृत्व शाहले गर्ने उल्लेख छ ।
यो सहमतिले आफूहरूमा आशाको नयाँ सञ्चार गरेको जेजनी पुस्ताका प्रतिनिधिहरू बताउँछन् । जेनजीफ्रन्टका सल्लाहकार सरोज गौतम यो सहमतिबाट आफूहरू एकदमै उत्साहित भएको बताउँछन् । उनी भन्छन्, ‘यो सहमति देउवा, ओली र दाहालको म्युजिकल चेयरमाथि खतराको घण्टी हो । बालेन–रविको पक्षमा २०१४ भारतमा मोदी वेभ आए जस्तै वेभ आउने सम्भावना देख्छु ।’
विश्लेषक चन्द्रदेव भट्ट पुराना दललाई पनि ध्रुवीकरणतर्फ डोहोर्याउने सम्भावना देख्छन् । भट्ट भन्छन्, ‘अब कांग्रेस, एमाले लगायतका दलबीच गठबन्धनको सम्भावना देख्छु । पुराना दललाई धक्का दिन सक्छ ।’
स्थापित दलहरूलाई चुनौती दिने दाबी सहित आएका तीनवटा चर्चित अनुहारको मिलनले चुनावी परिणाम प्रभावित हुनसक्ने उनको विश्लेषण छ । उनी भन्छन्, ‘निर्वाचन परिणामबारे ठोकुवा गर्नु अहिले एकदमै छिटो हुन्छ तर नयाँ तालमेल र गठबन्धन अवश्य बढ्ने छ ।’
कांग्रेस–माओवादी, एमाले–माओवादी लगायतका दलहरूले यसअघि पनि पटक-पटक चुनावी तालमेल गरेको अनुभव छ । जेनजी आन्दोलनपछि विचार मिल्ने दलहरूबीच एकीकरण सुरु भइसकेको थियो ।
एकीकरणको होडबाजी
नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी) सहित १६ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरिसकेको छ । त्यस्तै मधेशवादी दलहरू पनि लगभग एक ठाउँमा आइसकेका छन् ।
समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिनमा उनेपा र रास्वपा बाहेकका दलहरूबीच पनि एकतामा जोडिए । नेकपासँग रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एकीकरण भयो । नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठले १० बुँदे सहमतिमा हस्ताक्षर गरे ।
त्यस्तै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी छाडे । उनीहरू उपेन्द्र यादव र महन्थ ठाकुरले नेतृत्वको पार्टीमा सहभागी भए ।
उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल र ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आइतबार पार्टी एकता गर्ने सहमति गरेका थिए ।
यसअघि नै लोसपा, ह्रदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लालको तराई मधेश लोकतान्त्रिक पार्टी एकताको घोषणा गरिसकेका छन् ।
अर्का विश्लेषक नीलाम्बर आचार्य भने भागबन्डाकै आधारमा सहमति गर्दा ‘सबै नेताहरू उस्तै त रैछ नि’भन्ने सन्देश जान सक्ने बताउँछन् । यद्यपि दलहरू जुट्नुलाई सकारात्मक रुपमालिनु पर्ने उनेको विश्लेषण छ । आचार्य भन्छन्, ‘छरिनु भन्दामिल्नु राम्रो हो । बलियो शक्ति निर्माण हुन्छ, लोकतन्त्रलाई राम्रै गर्छ ।’
प्रतिक्रिया 4