१६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद् नरहेको बताएका छन् । उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन निर्देशन समेत दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा कस्मेटिक सुधार भए पनि सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद नभएको धारणा राखे ।
मन्त्री सिन्हाले भने, ‘काठमाडौं विमानस्थलबाट यात्रा गर्दा मेरो अनुभव सुखद रहेन, कस्मेटिक सुधार भयो होला, सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद छैन ।’ उनले असहज अनुभूति आफैंले भोगेको भन्दै ससाना कुरालाई सम्बोधन गर्न चुकेको टिप्पणी गरे ।
विमानस्थलमा परिवर्तन र सुधार जरुरी रहेको भन्दै उनले हवाई सुरक्षामा समेत दत्तचित्त भएर काम गर्न निर्देशन दिए । अब आफूसँग मन्त्रीका रुपमा धेरै समय नरहेको बताउँदै उनले भने, ‘यो अवधिमा अब कुनै दबाबविना काम गर्नुस, बाहना नबनाउनुस्, तपाईंलाई चुनौती भयो, दुई महिनामा एभियसन सेफ्टीमा, यो दुई महिना काफी छ, म काम चाहन्छु, तपाईं खटिनुस् ।’
‘दुई महिनामा केके गरेर देखाइदिन सक्नुहुन्छ, निर्वाचन पछि आउने नयाँ सरकारलाई काम थालेर देखाइदिनुस्,’ मन्त्री सिन्हाले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको लेखा र सम्पत्ति सुरक्षामा पनि पनि उनले सार्वजनिक असन्तुष्टि जनाए । कालो सूची र नयाँ विमानस्थल नियमित चल्ने योजना प्राप्त गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
भैरहवा र पोखरामा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सम्भावना खोज्ने काममा अग्रसरता लिन उनले निर्देशन दिए । उनले भने, ‘भैरहवा र पोखरा विमानस्थलमा भएको लगानी त्यसले प्राप्त गर्ने राजस्वले उठाउँछ कि उठाउन्न, त्यसले प्राधिकरणको सफलता मापन गर्छ ।’
प्रतिक्रिया 4