News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले २७औं स्थापना दिवसमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ।
- बोर्डका सीईओ दीपकराज जोशीले सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गर्दै आसियानलाई उच्च सम्भावनायुक्त बजार भने।
- २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटक आउने अनुमान गरिएको र ३ प्रतिशत वृद्धि भएको जानकारी दिइएको छ।
१६ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डले २७औं स्थापना दिवसका अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।
सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो ।
‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिने छ,’ उनले भने ।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि पर्यटनमन्त्री अनिलकुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ थिए ।
सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए ।
उनका अनुसार २०२५ भित्र ३१ वटा टुरिज्म मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन् ।

उनले जेनजी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारण मार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी समेत दिएका छन् ।
‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभएर बहुक्रस सेक्टर क्षेत्र हो,’ जोशीले भने । २०२५ मा विभिन्न क्षेत्रका २ हजार ६ सय पेसागत जनशक्ति तालिम प्रदान गरेको जानकारी दिँदै सीईओ जोशीले नीतिगत तहका अनुसन्धान, बजार–आधारित अध्ययन र सस्टेनेबल टुरिज्म प्रोजेक्ट अन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको जानकारी गराएका छन् ।
बोर्डले २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्ग भन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।
आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।
त्यसैगरी बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटाले बोर्डले नतिजा दिने गरी काम भइरहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँग समन्वय हुने गरी कार्यक्रम केन्द्रित गरिएको जानकारी गराएका छन् ।
त्यसैगरी बोर्डको कर्मचारी संगठन अध्यक्ष सन्तोषविक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावलीमा सुधार र कर्मचारी पदपूर्तिमा ध्यान दिन आवश्यक रहेको बताए ।
कार्यक्रममा पाटा सीईओ नुरअहमद हमिद, वर्ल्ड टुरिज्म नेटवर्क र यूएन टुरिज्मबाट भिडियो सन्देश जारी गरिएको छ । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इनफोकस पनि विमोचन गरिएको छ ।
प्रतिक्रिया 4