+
+
Shares

पर्यटक आगमन उच्च कीर्तिमानबाट चुक्यो नेपाल, २०२५ मा भित्रिए ११ लाख ५८ हजार

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८२ पुष १७ गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक आएका छन्, जुन २०१९ को तुलनामा ३ प्रतिशत कम हो।
  • पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले सेप्टेम्बरको जेन जी आन्दोलन र प्राकृतिक प्रकोपले पर्यटक आगमनमा असर गरेको बताए।
  • २०२६ मा बोर्डले आसियान क्षेत्रबाट पर्यटक आगमन ५० प्रतिशत बढाउने योजना बनाएको छ।

१७ पुस, काठमाडौं । पर्यटक आगमनको सर्वाधिक उच्च संख्या छुनबाट नेपाल पुन: चुकेको छ ।

सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार १ सय ९१ पर्यटकलाई स्वागत गरेको नेपाल २०२५ मा त्यो संख्या नजिक पुगेर पनि कीर्तिमान छुन चुकेको हो ।

नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

यो २०१९ को तुलनामा ३ प्रतिशत कम हो । २०२४ को तुलनामा भने ३.९ प्रतिशतले आगमन बढेको छ ।

गत वर्ष २०२४ मा ११ लाख ४७ हजार ५ सय ४८ पर्यटकलाई नेपालले स्वागत गरेको थियो । २०१८ मा नेपालमा पर्यटक आगमन वृद्धिदर सबैभन्दा उच्च थियो । त्यसबेला १८ प्रतिशत रहेको वृद्धिदर एसिया प्रशान्त क्षेत्रकै बढी थियो ।

त्यसयता भने वृद्धिदर ह्वात्तै घटेको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनसार गत सेप्टेम्बरको जेन जी आन्दोलन र त्यसलगत्तै दुई प्राकृतिक प्रकोपले पर्यटक आगमनमा असर गरेको छ । असोज र कात्तिकमा बेमौसमी वर्षाले देशैभरिको जनजीवन प्रभावित बनेको थियो ।

त्यसले दुई छिमेकी देशबाट हुने आगमनमा असर गरेको उनले बताए । यी दुई कारण नभएको भए यस वर्ष साढे १२ देखि १३ लाख पर्यटक नेपाल भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए ।

यद्यपि, आन्दोलन लगत्तै जुरुक्कै उठेको पर्यटन क्षेत्रले आगामी दिनका लागि भने सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।

‘जस्तोसुकै आन्दोलन भए पनि नेपाल पर्यटनकै लागि बनेको मुलुक हो, यहाँ पर्यटकलाई कुनै जोखिम हुँदैन भन्ने सन्देश तीव्र रिकभरीले दिएको छ,’ उनले भने, ‘यो नेपाली पर्यटनको आगामी दिनका लागि शुभ सन्देश हो ।’

२०२५ डिसेम्बरमा मात्र ९८ हजार १ सय ९० पर्यटक नेपाल आएका छन् । २०२४ डिसेम्बरमा ९२ हजार ३३ आएका थिए ।  २०१९ डिसेम्बरमा भने १ लाख ८ सय ६६ पर्यटकलाई नेपालले स्वागत गरेको थियो ।

सार्कबाट घट्दो ट्रेन्ड, मध्यपूर्वमा सुधार

यस वर्षको आगमन हेर्दा सार्क मुलुकबाट नेपालमा पर्यटक आगमन घटेको छ । सार्कबाट कुल ४ लाख ८ हजार १ सय ३ पर्यटक नेपाल आए । जुन २०२४ को तुलनामा २.३ प्रतिशत कम हो ।

नेपालको पर्यटन बजारमा सबैभन्दा ठूलो स्रोत सार्क मुलुक नै हो । कुल आगमनको ३५.२ प्रतिशत हिस्सा यी मुलुकको छ । एसियाका अन्य देशबाट भएको आगमनमा सामान्य सुधार भएको छ । यी देशबाट कुल २ लाख ५३ हजार ३ सय ११ पर्यटक नेपाल आए । अघिल्लो वर्ष २ लाख ५२ हजार ५ सय ६७ आएका थिए ।

ओसियाना क्षेत्रबाट ५३ हजार ६ सय ९५ आएका छन् । अघिल्लो वर्ष ४८ हजार २ सय ९ आएका थिए । अमेरिकी देशबाट १ लाख ३५ हजार ५ सय ३ पर्यटक यस वर्ष आए । गत वर्ष १ लाख ३४ हजार १ सय ५ आएका थिए ।

त्यस्तै युरोपेली देशबाट २ लाख २१ हजार १८ पर्यटक नेपाल आएका छन् । गत वर्ष २ लाख १४ हजार ४५ आएका थिए । मध्यपूर्वबाट यस वर्ष २० हजार ५ सय ४ पर्यटक आएका छन् । गत वर्ष १६ हजार ६ सय ४८ आएका थिए ।

अफ्रिकी देशबाट ४ हजार ३ सय २० पर्यटक आएको तथ्यांक छ । अघिल्लो वर्ष ४ हजार ४ सय ५६ आएका थिए । अन्य क्षेत्रबाट ६२ हजार ५ जना आएका छन् । गत वर्ष यो संख्या ५९ हजार ६ सय ९२ थियो ।

निरन्तर घट्दै भारतीय र चिनियाँ पर्यटक

नेपालले हवाईमार्गबाट भित्रिने सबै भारतीयलाई पर्यटकका रूपमा गणना गर्छ । चिनियाँ भने स्थल र हवाई दुवै मार्गबाट आउने नागरिक पर्यटक मानिन्छन् ।

बोर्डका अनुसार यी दुवै देशबाट आउने पर्यटक आगमन निरन्तर घट्दो क्रममा छ । २०२५ मा भारतबाट २ लाख ९२ हजार ४ सय ३८ पर्यटक आएका छन् । यो २०२४ को तुलनामा ८ प्रतिशत कम हो । त्यसबेला ३ लाख १७ हजार ७ सय ८१ आएका थिए । कोभिडभन्दा अगाडिको तुलनामा भने भारतीयको आगमन बढिरहेको छ ।

 

तर, चिनियाँ पर्यटक भने कोभिड अगाडिकै अवस्थामा पनि पुग्न सकेको छैन । यस वर्ष चीनबाट ९५ हजार ४ सय ८० आए । यो २०२४ को तुलनामा ६.३ प्रतिशत कम हो । २०१९ को तुलनामा भने ४३.७ प्रतिशत कम हो । त्यसबेला १ लाख ६९ हजार ५ सय ४३ चिनियाँ पर्यटक आएको तथ्यांक छ ।

सार्क देशमध्ये श्रीलंकन नागरिकको आगमन सर्वाधिक २४.२ प्रतिशतले सुधार भएर ३७ हजार ५ सय ५० पुगेको छ । बंगलादेशी पर्यटक समेत १७.८ प्रतिशतले सुधार भएर ५७ हजार ५ सय ४५ पुगेको छ ।


प्रमुख १० स्रोत बजार कुन ?

पर्यटन बोर्डका अनुसार नेपालमा पर्यटक आउने मुख्य स्रोत बजारको पहिलो स्थानमा भारत छ । भारतबाट २ लाख ९२ हजार ४ज सय ३८ आएका छन् । अमेरिका दोस्रो स्थानमा छ । त्यहाँबाट १ लाख १२ हजार ३ सय १६ पर्यटक आएको तथ्यांक छ ।

चीन तेस्रो स्थानमा छ । त्यहाँबाट ९५ हजार ४ सय ८० पर्यटकलाई नेपालले स्वागत गरेको छ । बेलायत चौथो स्थानमा छ । त्यहाँबाट  ५८ हजार ६ सय ८४ आएका छन् ।

त्यस्तै बंगलादेश पाँचौं स्थानमा छ । त्यहाँबाट ५७ हजार ५ सय ४५ पर्यटक आएका छन् । यसबाहेक अस्ट्र्ेलियाबाट ४९ हजार ३ सय ५७, श्रीलंका ३७ हजार ५ सय ५०, थाइल्यान्ड ३० हजार २ सय ४३, जर्मनी ३० हजार २ सय २७ र जापानबाट २४ हजार ७ सय ६३ पर्यटक आएको तथ्यांक छ ।

टप १० देश

भारत : २ लाख ९२ हजार ४ सय ३८

अमेरिका : १ लाख १२ हजार ३ सय १६

चीन : ९५ हजार ४ सय ८०

बेलायत : ५८ हजार ६ सय ८४

बंगलादेश : ५७ हजार ५ सय ४५

अस्ट्रेलिया : ४९ हजार ३ सय ५७

श्रीलंका : ३७ हजार ५ सय ५०

थाइल्यान्ड : ३० हजार २ सय ४३

जर्मनी : ३० हजार २ सय २७

जापान : २४ हजार ७ सय ६३

२०२६ को योजना के ?

पर्यटन बोर्डले २०२६ मा भने वृद्धिदर बढाउन अझ आक्रामक प्रवर्द्धनमा लाग्ने योजना बनाएको सीईओ जोशी बताउँछन् । आन्दोलनपछि गरिएका प्रयासले सकारात्मक परिणाम दिएको भन्दै उनले सोसल साइट क्याम्पेनिङ र सेलिब्रेटी तथा सञ्चारमाध्यमबाट गरिने प्रचार प्रसारको कामलाई तीव्रता दिने योजना रहेको समेत जानकारी दिए ।

दीपकराज जोशी, सीईओ, नेपाल पर्यटन बोर्ड

 

बोर्डले २०२६ लाई ‘आसियान पर्यटन वर्ष’ समेत घोषणा गरेको छ । यो अभियान अन्तर्गत २०२६ मा आसियान क्षेत्रबाट कम्तीमा ५० प्रतिशत पर्यटक आगमन बढाउने योजना बनाइएको छ ।

अहिले यो क्षेत्रबाट वार्षिक १ लाख हाराहारी पर्यटक आउने गरेका छन् । जसमा थाइल्यान्ड, म्यानमार, भियतनाम, कम्बोडिया लगायत देश पर्छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?