News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकालेको समानुपातिक तर्फको बन्दसूचीमा २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको छ।
- निर्वाचन आयोगले दलहरूको बन्दसूचीमा कानुन बमोजिमको कलस्टर अनुसार नाम रहे/नरहेको छानबिन गरिरहेको छ।
- उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन २० माघमा हुनेछ र २१ फागुनमा मतदान हुनेछ।
१७ पुस, काठमाडौं । नेकपा एकालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ ।
निर्वाचन आयोगका एमालेले बुझाएको सूचीमा ५६ जिल्लाबाट प्रतिनिधित्व छ ।
मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट प्रतिनिधि शून्य छ ।
झापाबाट ९ जनाको प्रतिनिधित्व रहेको छ ।
झापा ठेगाना भएकाहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल र मधेशी महिलामा बिना शाह महतो छन् ।
समानुपातिक तर्फको बन्दसूची बुझाउने समय यही पुस १३ र १४ गते थियो । एमालेले निर्धारित समयमै गएर बन्दसूची बुझाएको थियो ।
एमालेले ११० जनाकै नाम दिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फको निर्वाचन र १६५ जना प्रत्यक्ष तर्फको निर्वाचनबाट निर्वाचित हुन्छन् ।
प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुनेछ ।
समानुपातिक तर्फका उम्मेदवारको सन्दर्भमा भने निर्वाचन आयोगले प्राप्त बन्दसूची उपर छानबिन सुरु गरेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार ‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे/नरहेको हेर्ने कार्य जारी छ ।’
उनका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ । प्रवक्ता भट्टराई भन्छन्, ‘अध्ययन पश्चात २० गते नै हामी दलहरूलाई के–के मिलेको छैन भनेर पत्राचार गर्छौं । त्यसपछि उहाँहरुले मिलाएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’
आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही २७ पुससम्म संशोधन गर्न पाउनेछन् ।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई २९ पुसमा दिइनेछ ।
उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय ३० पुसका लागि तोकिएको छ ।
त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने कायोगको कार्यतालिका छ ।
आयोगको कार्यतालिका अनुसार आगामी ४ माघमा उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन भएपछि उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिनेछ । यसका लागि ५ माघदेखि १० माघसम्मको समय तय गरिएको छ ।
११ गतेदेखि १७ माघसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन उपर जाँचबुझ गरेर आयोगले निर्णय गर्नेछ ।
आयोगको तालिका अनुसार आगामी २० माघको बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुनेछ ।
२१ फागुनमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिक्रिया 4