१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा गठबन्धन गर्नेबारे भएको छलफलप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरिसकेको भन्दै यसबारे आपत्ति जनाएका हुन् ।
‘आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो l तर एमालेसँग गठबन्धन गर्ने `भुमिगत तयारी´ को गर्दैछ ?,’ उनले भने, ‘यसमा विल्कुलै असहमति छ l यस्तो गर्न मिल्दैन l महासमितिको निर्णयविपरीत निर्णय लिनु आत्मघाती हुनेछ l’
शर्माले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय सर्वसम्मति गरेको भए पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर किन लगाइयो भनेर प्रश्न पनि गरे ।
‘निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले गरेका थियौं तर, पुनर्स्थापनामा हस्ताक्षर गर्न किन भनियो सांसदहरूलाई ?यो कसले गरायो, किन हुन दिइयो ?,’ उनले प्रश्न गरे ।
त्यस्तै उनले पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे पनि आपत्ति जनाए । मतदाताको रुचिअनुसारका उम्मेदवारबारे छलफल गरिरहँदा ६०/४० को भागबन्डासहितको टेलिफोन आएको पनि बताए ।
‘समानुपातिक सूची बनाइरहँदा- मतदाताको रुचि कोकस्ता उपर हुनसक्छ हामी छलफल गर्दै थियौं l मध्यरातमा एकाएक आयो ६०/४० का लागि टेलिफोन,’ उनले भने, ‘यो गम्भीर गल्ती थियो l सूची सच्याउन जरुरी छ l अग्रज नेताहरू स्पष्ट हुनुस्, अवसर अरुलाई दिइनुपर्छ l’
त्यस्तै आफूहरू फुटेको नभई सिंगो कांग्रेसको नेतृत्व गर्न चाहिरहेको पनि बताए । उनले भने, ‘दृढतापूर्वक भन्छु – हामी नेतृत्व गर्नेछौं l कांग्रेस छोडेर जालान् या फुटाउलान् भन्ने कसैले नसोच्नू l हामी पर्खिन्छौँ पनि फर्किन्छौं पनि।’
प्रतिक्रिया 4