१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूको भावनासँग सहमत भए पनि संस्थापन पक्षले बहुमतका आधारमा गरेको निर्णयमा विद्रोह गरेर जान नसकिएको बताएका छन् ।
काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका नेता–कार्यकर्ताहरूसँग शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा उनले केन्द्रीय कार्यसम्पादन समितिले बहुमतको आधारमा गरेको निर्णयमा विद्रोह गर्न नसकिएको बताएका हुन् ।
‘विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा जुन बहुमतको निर्णय छ, त्यो मान्न बाध्य छौं,’ नेता कोइरालाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘निर्णयमा विद्राह गरेर जान सकिएन । निर्णय प्रक्रियामा बहुमतको निर्णय त मान्नै पर्यो ।’
नेता कोइरालाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका नेता–कार्यकर्ताहरूको भावना सम्बोधनका लागि केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गराउन खोजे पनि सफल हुन नसकेको पनि बताए । ‘मैले कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरेँ । मेरो प्रयास सफल भएन,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेता भने ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले शुक्रबार बहुमतबाट १५ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै अन्य तीन जना नेताहरूले फरक मत राखेका थिए ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री थापाले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पुसभित्रै आफूहरूले डाक्ने उद्घोष गरेका थिए । संस्थापन पक्ष विशेष महाधिवेशनको विपक्षमा छ । यस्तै, नेता कोइराला यसअघि नै पुसभित्र नियमित महाधिवेशन नगरिए केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवशेन बोलाउनुपर्ने पक्षमा उभिँदै आएका थिए ।
उनले शनिबारको छलफलमा आफूनिकट नेताहरूलाई पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानका लागि संवाद सुरू गरेको पनि बताएका छन् । ‘सोलुसन दिनका लागि संवाद मैले सुरू गरेँ,’ कोइरालाले छलफलका क्रममा भने ।
छलफलमा सहभागी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलका अनुसार नेता कोइरालाले आइतबार पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका नेताहरूसँग छलफल गर्ने भएका छन् ।
शनिबारको छलफलमा पनि अभियानमा संलग्न नेताहरू देवराज चालिसे, उज्वल बराल, दिक्पालबहादुर शाही, कालिबहादुर सहकारीलगायत सहभागी थिए । नेता कोइरालाले छलफलमा सहभागी नेताहरूलाई आफूले राय सुझाव लिनका लागि विशालनगर बोलाएको जानकारी गराएका थिए ।
हस्ताक्षर संकलन अभियानमा संलग्न नेताहरूले कोइरालालाई विशेष महाधिवेशनको अपनत्व लिन आग्रह गरेको नेता शाहीले जानकारी दिए । ‘विशेष महाधिवेशन पक्षधर साथीहरूले विशेष महाधिवेशन तपाईंको पक्षमा थियो र तपाईंले अपनत्व लिनुपर्छ यसमा भन्ने कुरा राख्नुभयो,’ उनले भने ।
उनीहरूले नेता कोइरालालाई पार्टीको शीर्ष नेतृत्व र महामन्त्रीहरूका बीचमा सहमतिका लागि पहल गर्न पनि आग्रह गरेका थिए । ‘तपाईं बीचमा भएर सबैलाई मिलाउने कुरा गर्नुपर्छ । महामन्त्रीहरू, पार्टीका शीर्ष नेताहरूलाई राखेर कुन क्षेत्रमा कसरी सहमति हुन सक्छ, यी कुराहरु मिलाउनुस भन्ने किसिमको साथीहरूले राख्नु भयो,’ शाहीले भने ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अहिलको विषम परिस्थितिको समुचित निकाससँगै मुलुकमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरणबारे छलफल भएको जानकारी दिए ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशन सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको उनले बताए ।
छलफलमा सहभागी कांग्रेस दोलखाका सभापति बर्मा लामाले पनि नेता कोइरालाले आफूहरूसँग पछिल्लो परिस्थितिका बारेमा राय–सुझाव लिएको प्रतिक्रिया दिए । ‘त्यस्तो निर्णय केही होइन, डाक्टर सापले राय सुझाव लिनुभएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘दुवै पक्षलाई प्याचअप गर्नुपर्छ भन्ने कुरा भयो ।’
प्रतिक्रिया 4