+
+
Shares

दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर कोरियाले २० पुस बिहान करिब ७:५० बजे राजधानी क्षेत्रबाट समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।
  • दक्षिण कोरियाली सेनाले मिसाइल प्रक्षेपणबारे अमेरिका र जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ।
  • जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले यसलाई क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा भएको बताएका छन्।

२० पुस, सियोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् ।

दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७:५० बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो ।

ती क्षेप्यास्त्रहरू करिब ९०० किलोमिटर उडेर समुद्रमा खसेका छन् । दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपणसम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन् ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उक्साहटको जवाफ दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदानप्रदान भइरहेको जनाएको छ ।

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई, क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्‍याएको बताए ।

विशेषज्ञहरूका अनुसार यी प्रक्षेपणहरू उत्तर कोरियाले हालैका हप्ताहरूमा देखाउँदै आएको हतियार प्रदर्शनको पछिल्लो कडी हुन् ।

उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलनअघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुनसक्ने विश्लेषण गरिएको छ ।

यो सम्मेलन पाँच वर्षपछि पहिलोपटक हुने अपेक्षा छ । पर्यवेक्षकहरूका अनुसार सम्मेलनले अमेरिकासँगको नीतिगत दिशा र लामो समयदेखि रोकिएका वार्ताहरू पुन: सुरु हुने–नहुने सङ्केत दिन सक्छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता विफल भएपछि आणविक हतियार विस्तारमा ध्यान केन्द्रित गर्दै आएका छन् ।

युक्रेन युद्धको पृष्ठभूमिमा रुससँगको सहकार्य र चीनसँगको सम्बन्ध सुदृढ गर्दै उहाँले कूटनीतिक प्रभाव बढाएको विश्लेषण छ ।

दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार पार्टी सम्मेलन जनवरी वा फेब्रुअरीमा हुनसक्ने सम्भावना छ ।

आइतबारको प्रक्षेपण राष्ट्रपति लीको चारदिने चीन भ्रमणअघि भएको हो । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्दै उत्तर कोरियाको प्रमुख सहयोगी तथा ठूलो व्यापारिक साझेदार चीनलाई कोरियाली प्रायद्वीपमा शान्ति प्रवर्द्धनका लागि रचनात्मक भूमिका खेल्न आग्रह गर्ने तयारीमा छन् ।

दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि उत्तर कोरियालाई वार्तामा फर्काउन चीनको प्रभाव प्रयोग गर्न अनुरोध गर्दै आएका छन्, तर बेइजिङको वास्तविक प्रभाव कति छ भन्नेबारे प्रश्न उठ्दै आएको छ ।

पछिल्ला वर्षहरूमा उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रयासलाई चीन र रुसले बारम्बार अवरुद्ध गरेका छन् ।

प्रक्षेपणपछि दक्षिण कोरियाले आपतकालीन राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएको थियो ।

बैठकमा अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन हुने गरी गरिने ब्यालेस्टिक मिसाइल प्रक्षेपण तत्काल रोक्न उत्तर कोरियालाई आग्रह गरेका छन् । परिषद्को छलफल र आवश्यक कदमबारे राष्ट्रपति लीलाई जानकारी गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच, उत्तर कोरियाले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । शनिबार अमेरिकाले भेनेजुएलाका नेता निकोलस मदुरोलाई नियन्त्रणमा लिई अमेरिका लगेको घटनापछि क्षेत्रीय तथा विश्व राजनीतिमा तरङ्ग देखिएको छ ।

 सियोलस्थित इवा वुमन्स युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्राध्यापक लीफ–एरिक इस्लीका अनुसार यस्ता घटनाले किम जोङ–उनजस्ता नेताहरूलाई आणविक प्रतिरोध क्षमतामा अझ जोड दिन प्रेरित गर्न सक्छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले आइतबार किमले शनिबार एक हतियार कारखानाको निरीक्षण गरी त्यहाँ उत्पादित बहुउद्देश्यीय सटीक निर्देशित हतियारहरूको समीक्षा गरेका जनाएको छ । उनले उत्पादन क्षमता करिब २.५ गुणा बढाउन निर्देशन दिएको उल्लेख गरिएको छ ।

गत साता उत्तर कोरियाले लामो दूरीको रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको थियो भने डिसेम्बर २५ मा पहिलो आणविक–सञ्चालित पनडुब्बी निर्माणमा प्रगति देखाउने तस्वीरहरू सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?