News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिग फुटबल प्रतियोगिता पुस ३० गतेदेखि सुरु हुने घोषणा गरेको छ।
- प्रतियोगिताको उद्घाटन खेल काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ।
- राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका चार टोली गरी १७ टोली सहभागी हुनेछन्।
२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता पाँच दिन पछाडि सरेको छ ।
एन्फाले आइतबार साँझ सार्वजनिक गरेको खेलतालिका अनुसार पुस ३० गतेदेखि लिग सुरु हुनेछ । यसअघि पुस २५ देखि हुने तय थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । यस्तै सोही दिन श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।
राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछ ।
एन्फाले ४८ खेल सम्मको मिति र खेलस्थल समेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।
एन्फाले आउने माघ २८ गते झापामा वार्षिक साधारण सभा र अर्ली इलेक्सन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन, मोफसलको प्रतियोगिता र दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै माघ २३ देखि फागुन ९ गतेसम्म रेस्ट डे राखिएको छ । यस्तै निर्वाचनलाई मध्यनजर गर्दै फागुन १६ देखि २३ गतेसम्म पनि रेस्ट डे राखिएको छ ।
राष्ट्रिय लिगका खेलहरु उपत्यकाको तीन मैदान दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ ।
राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
सबै तालिका


प्रतिक्रिया 4