+
+
Shares

रास्वपामा कुलमान पक्षका केन्द्रीय सदस्य पठाउन किन ढिला ?

केन्द्रीय सदस्य पाउने संख्या थोरै, आकांक्षी धेरै

एकतापछि रास्वपामा सहभागी हुने केन्द्रीय सदस्यको नाम चयन गर्न कुलमान पक्षलाई सकस भएको छ । आकांक्षीको संख्या धेरै भएपछि नाम तय गर्न नसकेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते २१:३३

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार बालेन शाह र कुलमान घिसिङ पक्षका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेर शपथ खुवाउने तयारी थियो । तर अन्तिम समयमा घिसिङ पक्षका नेताहरू शपथमा सहभागी भएनन् ।

केन्द्रीय सदस्यका लागि घिसिङ पक्षमा आकांक्षी धेरै भएपछि शपथमा नगएको पाइएको छ । ‘हाम्रो पक्षको नाम फाइलन भएको छैन । केन्द्रीय सदस्य बन्न आकांक्षीको संख्या धेरै भयो । रास्वपाबाट पाएको संख्या कम छ,’ घिसिङ निकटका एक नेताले भने ।

ऊर्जामन्त्री समेत रहेका घिसिङ व्यस्त रहेका कारण पनि नाम फाइनलमा ढिलाइ भएको सो पार्टीका अन्य नेताहरू बताउँछन् ।

‘मन्त्रीज्यू मन्त्रालयमा व्यस्त हुनुभयो । हिजो राति नै नाम टुंगो लगाउने भनेको हो । मन्त्रालयको कामले उहाँले समय दिन भ्याउनु भएन,’ ती नेताले भने, ‘रास्वपाबाट शपथको लागि बोलाएको हो । हामीले नै नाम दिन सकेनौं ।’

उज्यालो पार्टीबाट केन्दीय सदस्यमा कति संख्यामा जाने भन्ने पनि तय भएको छैन । समानुपातिकमा १८ जनाको नाम उज्यालो पार्टीबाट सहभागी भएकाले त्यसैको हाराहारीमा केन्दीय कमिटीमा लैजाने तयारी छ । ‘तर समानुपातिकको सूचीमा परेका सबै केन्द्रीय समितिमा जाने भन्ने होइन,’ ती नेता भन्छन् ।

तत्कालीन उज्यालो पार्टीको विधानमा केन्द्रीय कमिटीको आकार ३०१ सदस्य हुने व्यवस्था थियो । जसमा निर्वाचन आयोगमा ५१ जना दर्ता भएको थियो । र, पछि बढाएर ९४ जना पुर्‍याएको थियो । तर हाल रास्वपामा समाहित भएपछि तत्कालीन उज्यालो पार्टीको केन्द्रीय कमिटीबाट ४–५ जना मात्र पर्ने भएपछि नाम तय गर्न गाह्रो भएको कुलमान पक्षका नेताहरूको दाबी छ । बाँकी सदस्य केन्द्रीय कमिटीभन्दा बाहिर रहेका पनि केन्द्रीय सदस्यको दौडमा छन् ।

‘रास्वपाबाट १८ देखि २१ जनासम्मको केन्द्रीय कमिटीमा लैजाने कुरा आएको छ । तर यति नै संख्यामा भन्ने तय भएको छैन,’ ती नेताले भने । कुलमान पक्षबाट केन्द्रीय सदस्य बन्ने आकांक्षीको संख्या ५० जनाभन्दा बढी छन् । ‘संख्या कम आकांक्षी धेरै भएपछि मिलाउन गाह्रो भएको हो,’ ती नेताले भने ।

पार्टी एकता हुँदा घिसिङलाई उपसभापति बनाउने सहमति भइसकेको छ । अन्य पदाधिकारीमा पनि कुलमान पक्षले दाबी गरिरहेका छन् ।

रास्वपाले पार्टी एकता एवं समायोजनलाई निष्कर्षमा पुर्‍याउनका लागि उपसमिति पनि गठन गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा उपसमिति बनाएको हो । अब उपसमितिले विवाद सामाधान र समायोजनको काम टुंगो लगाउने छ ।

‘एकतापछि सबै पक्षलाई समेटेर केन्द्रमा ल्याउने गृहकार्य भइरहेको छ । छिटै टुंगो लाग्छ,’ महामन्त्री बुर्लाकोटीले भने ।

केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश र जिल्ला जिल्लामा समायोजनको प्रक्रिया अगाडि बढाउने गृहकार्य भइरहेको छ । केन्द्रीय सदस्य र पदाधिकारीमा प्याकेजमा सहमति गर्ने तयारी छ ।

आइतबार बालेन समूहका २६ जना र विवेकशील साझा पार्टी छाडेर रास्वपासँगको एकतामा समाहित भएका ७ जनालाई शपथ गराइएको थियो । कुलमान पक्षका नेताको पनि छिट्टै शपथ हुने रास्वपाका नेताहरूले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?