+
+
Shares

डिजिटल प्लेटफर्म आचारसंहिता कार्यान्वनयको मुख्य चुनौती : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:१९

२१ पुस, काठमाडौं । निर्वाचन आयोगले डिजिटल प्लेटफर्महरू निर्वाचन आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको छ ।

सोमबार आयोगमा केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठक बसेको थियो ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकले डिजिटल प्लेटफर्महरू आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको हो ।

उक्त बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधरसहित समितिका अन्य पदाधिकारी समेत उपस्थिति थिए ।

आयोगका अनुसार बैठकमा आचारसंहिताको प्रभावकारी परिपालना एवं कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य, प्रचलित कानुनले तोकेका नियामक निकायको भूमिका, आचारसंहिता कार्यान्वयनका चुनौती र नियन्त्रणका विविध पक्षमा छलफल भएको छ ।

सहभागी सदस्यहरूबाट आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक जस्ता विधिहरूलाई एकसाथ अघि बढाउन उपयुक्त हुने धारणा व्यक्त भएको छ ।

छलफलपछि आयोगले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण, सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्ने लगायतका विषयमा ध्यान जानुपर्ने धारणा व्यक्त भएको छ ।’

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्त्वपूर्ण भएको र आयोगले सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने बताए ।

आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्ने प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेको बताए ।

निर्वाचन आयुक्त डा. तुलाधरले राजनीतिक दलहरूसँग समेत परामर्श गरेर आचारसंहिता लागु गर्ने जानकारी गराइन् । निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना तथा भ्रमपूर्ण जानकारी न्यूनीकरणमा आयोग सचेत रहेको उनको भनाइ छ ।

अनुगमन समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुनशम्शेर जबराले विगतका कमजोरीलाई सुधार गरी यस पटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे ।

निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक रहेकाले सूचना प्रविधिको दुरुपयोगबाट हुने चुनौती रोक्न आयोगले सबै पक्षसँग सहकार्य गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?