News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच बृहत राजनीतिक समायोजन भएको छ।
- समायोजन पत्रमा दलको नाम रास्वपा रहने र थारु बहुल क्षेत्रलाई विशेष क्षेत्र घोषणा गर्ने कानुनी प्रक्रिया सुरु गर्ने सहमति भएको छ।
- रास्वपा सभापति रवि लामिछानेले पार्टीको उत्साह देखेर उपसभापति स्वर्णिम वाग्लेलाई आगामी बजेट तयारी गर्न भनेका छन्।
२१ पुस, काठमाडौं । राष्ट्रिय सभा गृहको हल सोमबार खचाखच थियो । भित्र नअटेका कार्यकर्ता बाहिर चौरमा घाम तापिरहेका थिए । पार्टीबाट शीर्ष तहका नेताहरूको अनुहार खासै नदेखिए पनि करिब एक बजे कार्यकर्ताको जमघट सुरु भइसकेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच बृहत राजनीतिक समायोजन गर्ने सो कार्यक्रममा थारु संस्कृति झल्कने पोषाकमा पनि केही सहभागी देखिए । कार्यक्रममा भाषणसँगै नाचगान र संस्कृतिक रमझम झल्कने प्रस्तुति भए । पश्चिमको लयमा गाइने ‘राइझुमा झुमा क्यामस…’ देखि थारुवानका संस्कृति सभागृहमा गुञ्जिए ।
सभागृहमा नअटेका कार्यकर्ता चौरमा रहँदा कतिपय नेता त्यतै भेटघाटमा देखिन्थे । बिनिता कठायतदेखि प्रमोद न्यौपानेसम्मका नेता कार्यक्रतासँगको जमघट र अन्तरवार्ता दिन व्यस्त थिए ।
त्यहीँ भेटिए – दाङ–२ बाट चुनावका आंकाक्षी विशाल अधिकारी । अधिकारीले यसअघि पनि एमालेका हेभिवेयट शंकर पोखरेलसँग प्रतिस्पर्धा गरेका थिए । उनका विरुद्ध करिब १६ हजार मत ल्याए । ‘यसपटक झन बलियो बनेका छौं । वैकल्पिक शक्तिमा पनि नयाँ अध्याय सुरु भएको छ । सबै भुगोल र पहिचान बोकेकालाई यसमा जोड्दै जाँदा झन आत्मविश्वास बढेको छ,’ उनले भने ।
जेनजी आन्दोलनको जगमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लिएर वैकल्पिक राजनीतिक शक्तिहरूमा उत्साह देखिएको अधिकारीले बताए । स्वतन्त्र तथा नयाँ शक्ति मानिएको रास्वपाका नेता अधिकारीले यो निर्वाचनलाई देशका दीर्घकालीन समस्या समाधान गर्ने अवसरका रूपमा हेरेका छन् ।

अधिकारीका अनुसार, जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार स्वतन्त्र रूपमा काम गरिरहेको छ र पुराना दलहरूको केन्द्रीय सत्ता हातमा नहुँदा उनीहरू मनोवैज्ञानिक रूपमा कमजोर भएका छन् । ‘अघिल्लो निर्वाचनमा जस्तो पुराना दलहरूको प्रभाव यो पटक कम हुने देखिन्छ । युवाहरू उत्साहित छन्,’ अधिकारीले भने ।
उनले बालेन्द्र शाह (बालेन), कुलमान घिसिङलगायत वैकल्पिक व्यक्तित्वहरू र जेनजीका नेताहरू उम्मेदवार बन्ने सम्भावनालाई जोड दिँदै थप भने, ‘यो निर्वाचनमा विचार र एजेन्डा मिल्नेहरूबीच ध्र्रुवीकरण हुँदैछ ।’
अधिकारी आफैं यसअघि निर्वाचन लडिसकेका व्यक्ति हुन् र यो पटक पनि तयारी गरिरहेका छन् । उनको मुख्य चासो आगामी संघीय संसद्ले देशका ज्वलन्त समस्या—भ्रष्टाचार, बेरोजगारी, सुशासनलगायत—समाधान गर्न सक्छ कि सक्दैन भन्ने छ ।
‘अब बन्ने नयाँ संसद्ले थप समस्या सिर्जना गर्ने होइन, आमूल परिवर्तनको बाटो लिनुपर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसकै सन्देश आजको यो समायोजनसभाले दिएको छ । र, हामी हरेक नेता/कार्यकर्ता यसलाई लिएर उत्साही छौँ ।’
सभागृहमा भेटिए अर्का युवा, सस्मित पोखरेल । रास्वपामा सहप्रवक्ता प्रस्ताव भएका उनी आगामी निर्वाचनलाई लिएर उत्साही छन्् । आफैं काठमाडौं–५ को उम्मेदवारीका लागि तयारी गरिरहेका छन् ।
सस्मितका लागि रास्वपाको यो लहर एक–दुई दिनको उपज होइन । स्व. उज्वल थापाले १०/१५ वर्षअघि विवेकशील नेपाली दलमार्फत रोपेको वैकल्पिक राजनीतिको बिउको प्रतिफल हो । ‘त्यतिबेला जुन सपना देखियो, आज त्यो सपना पूरा हुने नजिक पुगेको छ । हामीले मूलधारका दलहरूलाई बलियो राजनीतिक चुनौती दिन सफल भएका छौं,’ उनले भने ।
अहिलेको नयाँ दलहरूको राजनीतिक ध्रुवीकरणले जनतामा हराउन थालेको आशा जगाएको उनको बुझाइ छ । विशेषगरी रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ जस्ता व्यक्तित्वहरूको प्रभावले निराश भएर ‘ब्रेन ड्रेन’को बाटो रोज्न लागेका युवाहरूका लागि यो ‘अन्तिम आशा’ रहेको दाबी उनले गरे । जेनजी आन्दोलन र वैकल्पिक शक्तिहरूको एकताले एउटा बलियो प्रधानमन्त्रीको उम्मेदवार दिने आधार तयार भइरहेको उनले बताए ।
कानुनका विद्यार्थी सस्मितको रुचि मुद्दा मामिलाभन्दा नीति निर्माणमा बढी छ । उनले विभिन्न सांसदहरूको टिममा बसेर कानुन निर्माणमा प्रत्यक्ष अनुभव बटुलिसकेका छन् । विवेकशीलदेखि काठमाडौं महानगरपालिकामा बालेनको सल्लाहकार भएर शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेका उनले अबको संसदमा आफ्नो अनुभव साट्ने मौका करिरहेको बताए ।
‘काठमाडौं–५ मा उठ्ने मेरो आकांक्षा छ । त्यहीँ जन्मेको, हुर्केको भएर पनि सो क्षेत्र मेरो रुचि हो । त्यहाँका जनताको लागि आफू एउटा बलियो विकल्प बन्छु भन्ने विश्वास छ । हिजोआज नयाँ शक्तिबीच भइरहेको एकता र समायोजनले पनि यसमा थप बल पुर्याइरहेको छ,’ उनले भने ।
सँगसँगै थारु समुदायका युवाहरू पनि राष्ट्रिय सभामा देखिए । मिडियामा खासै बोल्न नचाहेका उनीहरू आगामी निर्वाचनमा भने रास्वपाले पुराना दलहरूलाई पराजित गर्नुपर्नेमा दृढ देखिए । अनौपचारिक कुराकानीमा एक युवाले भनिन्, ‘धेरै बोल्न हामी जान्दैनौँ । तर, त्यही हो– फागुनको चुनावमा पुराना पार्टीले हार्नुपर्छ । नयाँ चाहिन्छ ।’
पुराना पार्टीले ‘देश विकास गर्न नसकेको’ बताएका उनीहरूले नयाँ, त्यसमा पनि रास्वपा अबको आशा भएको दाबी गरे ।
रास्वपा नेता सोबिता गौतमले पनि मिडियासँगको अन्तरक्रियामा नयाँ एकताहरूले उत्साह भरेको बताइन् । नेपाली राजनीतिको इतिहासमा वैकल्पिक शक्तिले निर्णायक हस्तक्षेप गर्नुपर्ने उनले बताइन् ।
‘राजनीतिमा यसअघि रास्वपाका सांसदहरूले जुन मानक स्थापित गर्नुभएको छ, त्यही मानकमा टेकेर काम गर्नुपर्छ,’ गौतमले भनिन्, ‘हिजो हामीले संसदीय अभ्यासमा जसरी काम गर्र्यौं, अब आउने सांसदले त्यसरी नै काम गर्नुपर्छ । तयारी नै पुगेको छैन भने तयारी गर्नुपर्छ ।’
यसरी नेता/कार्यकर्ता सभागृहमा आउँदा समायोजन सभामा बालेन शाह र कुलमान घिसिङ भने देखा परेनन् । बालेननिकट एक नेताका अनुसार उनीहरू आउने कार्यक्रम पनि थिएन । यसमा धेरै नेता/कार्यकर्तालाई बोलाइएको पनि थिएन । सभापति रवि लामिछानेसहितका नेता र नागरिक उन्मुक्ति पार्टीका नेता र थरुहट/थारुवान अभियन्ताहरू समायोजन सभामा आएका थिए ।

रास्वपाबाट उपसभापतिहरू डीपी अर्याल, स्वर्णिम वाग्लेलगायत पदाधिकारी उपस्थित हुँदा घिसिङनिकट नेताहरू त्यहाँ देखिएनन् । बालेन शाहतर्फका केही नेता भने देखिए ।
बरु कार्यक्रममा स्टेजमा पनि रवि लामिछाने निकै हाबी भएको देखियो । स्टेजको दुईतर्फ नै लामिछानेको ठूला फोटो टाँसेको रास्वपाले भर्खरै भित्रिएका चर्चित अनुहार बालेन र कुलमानलाई उत्ति नै स्थान दिएको देखिएन ।
कार्यकर्ता पनि रास्वपातर्फका नै धेरै देखिए । आइतबार मात्र केन्द्रीय सदस्य मनोनीत भएका जेनजी अगुवा पनि उक्त कार्यक्रममा पुगेका थिए । खेमराज साउद, शिव यादवलगायतका अगुवा त्यहाँ थिए ।
यसरी नेता/कार्यकर्ताले सभागृह ढाक्दा रास्वपा सभापति भने ढिला गरी कार्यक्रमस्थल पुगे । एक बजेबाट कार्यक्रम सुरु हुने भनिए पनि करिब सभा तीन बजे सभागृहमा लामिछाने पुगेका थिए । त्यसपछि मात्र कार्यक्रम औपचारिक रुपमा सुरु भयो । विभिन्न तहका नेताहरूले भाषण गरे ।
यही कार्यक्रममा रास्वपा र नागरकि उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच बृहत राजनीतिक समायोजन सहमति भयो । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरे ।
९ बुँदे सहमतिको पहिलो नम्बरमा जेनजी आन्दोलनको अपनत्व लिँदै समुन्नत र सामाजिक न्यायका लागि राष्ट्रिय उद्देश्यहरूमा गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनागत सुधारहरूमार्फत आर्थिक सामाजिक उन्नयनका लागि इमान्दार भएर समर्पित हुने भनिएको छ ।
दोस्रो बुँदामा दलको नाम रास्वपा नै रहने र चुनाव चिह्न, झन्डा सबै रास्वपाकै रहने भनिएको छ । त्यस्तै, भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै थारु समुदायहरूको धार्मिक–सांस्कृतिक प्रणालीको संरक्षण र प्रवर्द्धन गर्न संविधानको मर्मअनुसार थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने समझदारी पनि भएको छ ।
यसरी आमकार्यकर्ताको ढाडस पाएका लामिछाने समायोजन सभामा उत्साही देखिए । यतिसम्म कि, उनले उपसभापति स्वर्णिम वाग्लेलाई आगामी बजेटको तयारी गर्न थाल्न समेत भने । पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु– ‘डाक्टर साप आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस् ।’
प्रतिक्रिया 4