२१ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको भन्दै निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम्, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन् ।
पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेको थियो ।
सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले ‘मुलुकको अवस्था निकै संवेदनशील छ’ रहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीको सचिवलायका अनुसार उनले भनेकी छन्, ‘ प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ । समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ।’
यसका लागि भूमिका खेलिदिन पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डललाई समेत प्रधानमन्त्री कार्कीको आग्रह छ ।
निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्नेमा पनि प्रधानन्त्री कार्कीको जोड लरहेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘निर्वाचन त हुन्छ नै । अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ । नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ ।’
भेटमा मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठमुलुकका सामु निर्वाचन नै निकासको एक मात्र लोकतान्त्रिक विकल्प रहेकाले यसमा सरकार सफल हुनुपर्ने बताएका छन् ।
निर्वाचनको वातावरण बन्दै पनि गइरहेको भन्दै उनले भनेका छन्, ‘निर्वाचन सफल पार्न हामी सरकारको साथमा छौँ। निर्वाचनमार्फत जननिर्वाचित संसद आए मात्र मुलुकमा लोकतन्त्र जीवित रहन्छ। मुलुकले निकास पाउँछ ।’
प्रतिक्रिया 4