२२ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
मंगलबार गृहमन्त्री अर्याल, गृहसचिव राज कुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिबिच भएको छलफलका क्रममा मन्त्री अर्यालले सम्बन्धित निकायलाई सो निर्देशन दिएका हुन् ।
‘कानुनले दिएको अधिकार, व्यवहार र हाम्रा असल अभ्यासलाई समेत मनन गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश प्रमुख सचिव तथा सचिवहरुले निर्वाह गर्नु पर्ने प्रभावकारी भूमिकाका जोड दिऔं,’ गृहमन्त्री अर्यालले भनेका छन् ।
सम्पूर्ण कर्मचारीहरूले प्रशासकको भूमिका भन्दा पनि सहजकर्ता, समन्वयकर्ता एवंम उत्प्रेरकको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको उनले बताए ।
‘तपाईंहरु आफूले प्राप्त गर्नु भएको प्रशासकीय अधिकारलाई र आफ्नो निर्णयको शक्तिलाई बोध गरेर प्रदेश र सङ्घबिच समन्वयात्मक भूमिका खेल्दै निर्वाचनलाई सफल पार्न लागि पर्नुहोस्,’ उनले भने ।
सुरक्षा संयन्त्रहरू चुस्त र मजबुत बनाउनु पर्ने धारणा राख्दै, गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सहयोग र समन्वय कायम गरी समाजलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा जोड दिए ।
त्यस्तै संविधानको मर्म अनुरुप तिनै तहबिच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको आधारमा सङ्घीयतामा सुरक्षाको विषयलाई केन्द्रबिन्दुमा राखेर सङ्घ र प्रदेशको सम्बन्ध, सम्पर्क बढाई असल अभ्यासलाई अझ सुदृढ बनाउनु पर्ने धारणा राखे ।
बैठकमा गृह सचिव राज कुमार श्रेष्ठले निर्वाचनमा सुरक्षा संवेदनशीलता, भौगोलिक अवस्था र अन्य विषय र कारणसमेत पहिचान गरी विगतको अभ्यास र कमी कमजोरी भए सुधारसमेत गरी प्रभावकारी रुपमा सकारात्मक परिणाम देखिने गरी निर्वाचन कमान्ड पोस्टबाट सुरक्षा व्यवस्था मिलाउन ध्यान दिनु पर्नेमा जोड दिनु भयो। साथै राजनीतिक दलसँग सहयोग, समन्वय गरी स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रोयाक्टिभ भई कार्य गर्न निर्देशन दिए ।
बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, बागमती प्रदेशका बाबुराम अधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, कर्णाली प्रदेशका प्रमुख सचिव विरेन्द्र कुमार यादव, सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्याल र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि र गृह मन्त्रालयका पदाधिकारीहरुको उपस्थिति रहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4