२२ पुस, काठमाडौं । गत २६ मंसीरमा भूमि व्यवस्था मन्त्री कुमार इङ्नामलाई आफ्नो मन्त्रालय मातहतका निकायहरू घुसखोरीले बदनाम छन् भन्ने थाह थियो । मन्त्री हुनुभन्दा दुई महिनाअघि जग्गाको सानो टुक्रो मिलाउन मालपोत कार्यालय जाँदा उनले हैरानी खेपेका रहेछन् ।
गत कात्तिक कुरा हो । कुमार इङनामको निवास अगाडि बाटोनिर पर्ने दुई पैसा जग्गा नमिलेको रहेछ । एउटा कुर्सी पनि नअट्ने जग्गा मिलाउन उनी मालपोत कार्यालय जानुपर्ने भयो । उनी सोझै भू-सेवा केन्द्रका मान्छेहरू सँग ठोकिए ।
लेखापढी सेवा भनेर मालपोत कार्यालयबाहिर साइबोर्ड राख्ने र बिचौलियाको काम गर्ने कतिपयले अचेल नाम फेरेर भू-सेवा केन्द्र राख्ने गरेका छन् ।
‘अचेल मालपोत अधिकृत र कर्मचारीहरुले कहाँ सोझै पैसा माग्छन् र ?’ मन्त्री इङ्नामले आफ्नो अनुभव सुनाए, ‘मैले त्यतिबेला राजस्व तिरेर पनि भूसेवा केन्द्रमा पाँच हजार रुपैंया तिर्नुपर्यो ।’ त्यसरी रकम बुझाउनुपर्दा उनलाई निकै झोँक चलेको रहेछ ।
भूमी व्यवस्थामन्त्री भएको दुइ सातापछि ९ पुसमा मन्त्री इङ्नाम केही सहयोगीहरू लिएर मालपोत कार्यालय, डिल्लीबजार पुगे ।
त्यहाँ एकजना व्यक्ति मालपोतको ढड्डा बोकेर हिडिरहेका थिए, सोधखोज गर्दा उनी कर्मचारी नभएको खुल्यो । मन्त्रीको टोलीले सोधखोज गर्यो, गोप्य रुपमा गएकालाई ढड्डा बोक्नेले मन्त्रीको टोली भनेर चिनेनन् । नोकझोक भयो ।
त्यही दिनको घटनालाई लिएर कतिपयले मन्त्रीसँगै विचौलियाले घुस मागेको भनेर समेत सामाजिक सञ्जालमा हल्ला चलाए । तर विचौलियाले रकम लिएको घटना मन्त्री हुनुभन्दा पहिलेको रहेछ ।
उनीहरू त्यहीँ डुल्दा एक महिला रोइरहेकी थिइन् । उनका पतिले जग्गा पास गर्न जग्गाधनीमा नाम रहेकी पत्नीलाई पनि मालपोतमा लगेका रहेछन् । ‘अब जबर्जस्ती हुने भयो र मेरो केही पनि नरहने भयो’ भनेर ती महिला मालपोतकै कुनामा सुक्सुकाइरहेकी थिइन् ।
मन्त्री इङ्नामले डिल्लीबजारका प्रमुख मालपोत अधिकृतलाई बोलाए । र ‘जुनसुकै बाहनामा पनि सेवाग्राहीलाई कार्यालयभित्र रुने र रुवाउने वातावरण सिर्जना नगर्न’ चेतावनी दिए ।
त्यसपछि मन्त्रीसमक्ष बौद्धनाथ क्षेत्रको गुनासो आयो । जहाँ पूर्वमन्त्री बलराम अधिकारीमाथि पाँच करोड रुपैंया घुस लिएर चिनियाँ लामा नियुक्त भएको व्यहोरा थियो ।
मन्त्रीका अनुसार, ‘घुस बुझाएर नियुक्त भएकाहरुले धार्मिक संस्थामा भावनात्मक रुपमा लेखेर असुली धन्दा चलाइरहेका थिए । मंगलबारको पत्रकार भेट्घाटमा उनले भने, ‘थाह पाएसम्म घुस्याहाहरूलाई निकालेरै छाड्छु ।’
त्यसपछि भूमीमन्त्रीको सचिवालयमा एकपछि अर्को गुनासो र सूचना आउन थाल्यो । सेटिङ मिलाएर मालपोत कार्यालय जानेहरु भूमि व्यवस्था विभागमै सेटिङ गर्न केही कर्मचारीहरुको व्यवस्था गरेका रहेछन् ।
मालपोत कार्यालयको प्रकृति र अवस्था अनुसार दुईदेखि १५-२० लाख रुपैंया मागेर ती कर्मचारीहरुले पदस्थापन गर्ने रहेछन् । ‘हरेक कार्यालयमा यसरी सेटिङ गर्ने हुँदारहेछन्’ मन्त्री इङ्नाम भन्छन्, ‘संलग्न भएको पुष्टि भएकालाई जिम्मेवारीबाट हटाउन भनेको छु ।’ विभागका एक कर्मचारीलाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ ।
मन्त्रालयले पछिल्लो केही दिनमा भक्तपुर, ललितपुर र चाबहिल मालपोत कार्यालयका प्रमुखहरुलाई हटाएर जिम्मेवारीमुक्त गरेको छ । आगजनीले गर्दा काम हुन नसकेपनि चावहिल मालपोतमा कर्मचारीहरुले लेखापढी व्यवसायीबाट मासिक २४ लाख रुपैंया उठाएको भेटिएपछि मन्त्रीले ‘एक्सन’ लिएका थिए ।
‘काम गर्न निकै अप्ठेरो रहेछ, तर कति गर्न सकिन्छ, थाह छैन’ मन्त्रीले आफ्ना कुरा टुंग्याउदै सञ्चारकर्मीहरूसँग भने, ‘घुस्याहाहरूलाई जेलमै हाल्नुपर्ने हो । तर यो निकै गाह्रो काम रहेछ ।’
प्रतिक्रिया 4