२३ पुस, काठमाडौं । मन्त्रालय सम्हालेको तीन साता नपुग्दै भूमि व्यवस्थामन्त्री कुमार इङ्नामले मालअड्डाहरूमा घुसका बाछिटाहरू देखे । विभागदेखि मन्त्रालयसम्म बेथिति र घुसखोरीका सूचनाहरू आउन थाले ।
छोटो पदावधिमा केही न केही सुधार गर्ने अठोट लिएका कानूनका प्राध्यापक त्यो हदसम्मको बेथितिबाट अलि दिग्दार देखिन्थे । सञ्चारकर्मीहरूसँग कुरा गर्दै जाँदा मन्त्री इङनामले आफूकहाँ आएको एउटा रोचक उजुरीको कुरा सुनाए ।
त्यो उजुरीको विवरणमा विश्वास गर्ने हो भने, पूर्वमन्त्री बलराम अधिकारी फेरि अर्को घुस लेनदेनको विवादमा जोडिएका छन् । उनी यसअघि नै केही घुस कारोबार र विवादास्पद अडियो प्रकरणमा मुछिएका थिए ।
ओली सरकारका पालामा भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेका अधिकारीले पाँच करोड रुपैयाँ लिएर ‘चिनियाँ लामा’ लिएको भनी भूमि व्यवस्था तथा सहकारी व्यवस्था मन्त्री कुमार इङनामसमक्ष उजुरी परेको हो ।
मंगलबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा भूमि व्यवस्था तथा सहकारीमन्त्री कुमार इङनामले आफूकहाँ त्यो गुनासो आएको भन्दै त्यसरी गलत ढंगले नियुक्त हुने व्यक्तिलाई आफूले पदमुक्त गर्न प्रयास गरिरहेको बताए ।
मन्त्री इङ्नामका अनुसार, बौद्धस्थित स्तुपाहरूमा बौद्ध धर्मावलम्बीहरूलाई निश्चित ठाँउसम्म मात्रै पूजापाठ गर्न जान दिने अभ्यास रहेछ । त्यहाँ जाँदा पनि जुत्ता र कम्मरपेटी खोल्नुपर्ने अभ्यास रहेछ ।
तर ‘चिनियाँ लामा’ले ५/१० हजार रुपैयाँ लिएर जोसुकैलाई जुत्ता र पेटी सहित विशेष स्थानमा पूजा गर्न जाने दिने गरेको उजुरी आफूकहाँ आएको बताए ।
‘धार्मिक थलोमा आस्था अनुसार पूजा गर्न जाँदा पनि पैसा उठाउने विकृति फैलिएको रहेछ’ उनले सञ्चारकर्मीहरूसँग भने, ‘चिनिया लामा बन्नका लागि अहिले पदमा रहेका व्यक्तिले पूर्वमन्त्रीलाई पाँच करोड रुपैयाँ बुझाएका रहेछन् ।’
‘ती पूर्वमन्त्री को हुन् ?’ भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री इङनामले ओली सरकारको पालामा मन्त्री भएका बलराम अधिकारीलाई रकम बुझाएकोबारे आफूकहाँ उजुरी परेको बताए । तर उनले लिखित रूपमा भने उजुरी नपरेको स्पष्ट पारे ।
बौद्धनाथस्थित धार्मिक गुरुलाई ‘चिनियाँ लामा’ नामले सम्बोधन गरिन्छ । गुठी संस्थान अन्तर्गत चलेको उक्त धार्मिक संस्थामा गुठी संस्थाले नै नियुक्ति गर्ने अभ्यास छ । भूमि व्यवस्था मन्त्रालय मातहत रहेको गुठी संस्थानबाट नियुक्त भएका चिनियाँ लामाकाबारेमा प्रश्न उठेको हो ।
आफूकहाँ उजुरी परेपछि अहिले पदमा बहाल रहेका चिनियाँ लामालाई पदबाट हटाउन खोजेको मन्त्री इङ्नामले बताए । उनका अनुसार, केही व्यक्तिले अहिलेका मुख्यसचिव सुमनराज अर्याल र अरू सचिवहरूलाई पनि त्यसबारेमा उजुरी गरेका थिए ।
भूमि व्यवस्था मन्त्रालय सम्वद्ध स्रोतका अनुसार, ‘चिनियाँ लामा’ले गरेको गडबडी र विवादास्पद नियुक्तिबारेको गुनासो मुख्यसचिव सुमनराज अर्यालसम्म पुगेको थियो । त्यो सूचना पाउनासाथ मुख्यसचिव अर्यालले भूमि व्यवस्था मन्त्रालयका सचिवलाई त्यसबारे जानकारी गराएर आवश्यक कदम चाल्नु भनेर निर्देशन दिएका थिए ।
‘काम गर्न अप्ठेरो छ, यसमा पनि अवरोध हुने देखिएको छ’ मन्त्री इङ्नामले पत्रकारहरूसँग भने, ‘मैले थाहा पाएसम्म घुस्याहाहरूलाई निकालेरै छाड्छु ।’
अनलाइनखबरले पूर्वमन्त्री बलराम अधिकारीलाई उनीविरुद्धको उजुरीबारे सोधेको थियो । पूर्वमन्त्री अधिकारीले त्यतिबेलाका चिनियाँ लामाको नियुक्तिबारे विवाद भएको र त्यसपछि पुरानै व्यक्तिलाई निरन्तरता दिइएको बताए ।
‘उहाँको पदावधि सकिएको थियो, उहाँका बारेमा कयौंले विरोध पनि गरेका थिए । विवाद भएपछि हामीले पुरानैलाई निरन्तरता दिएको हो’ मन्त्री अधिकारीले भने, ‘मैले निर्णय गरेको पनि होइन, गुठी संस्थानको निर्णय हो । घुस खायो भन्ने कुरा झुटा आरोप हो ।’
पूर्वमन्त्री बलराम अधिकारी घुस विवादमा मुछिएको यो पहिलो घटना भने होइन । पदमा बहाल हुँदै उनीमाथि कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिमा रकम लेनदेन गरेर नियुक्त गरेको भन्ने कुराकानी सहितको अडियो बाहिरिएको थियो ।
त्यसबाहेक पोखराको लिचीबारी घुस प्रकरणमा पूर्वमन्त्री अधिकारीमाथि घुस लिएको आरोप लागेको थियो । उनका छोरालाई विचौलियाहरूले ३२ लाख रुपैंया दिएको भन्ने अडियो सार्वजनिक भएको थियो भने तत्कालीन मन्त्री अधिकारीको भाई शालिकरामको खातामा ५ लाख डिपोजिट भएको भेटिएको थियो । कास्कीका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेलले ७० लाख रुपैयाँ दिएको भन्ने अर्को अडियो समेत बाहिरिएको थियो ।
२२ असोज, २०८२ मा अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा लिचीबारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री बलराम अधिकारी, तत्कालिन सचिव अर्जुनकुमार पोखरेल र पोखराका प्रमुख मालपोत अधिकृत चिरञ्जिवी पौडेलमाथि भ्रष्टाचारको आरोपमाथि छुट्टै अनुसन्धान हुने भनी सूचित गरेको थियो ।
‘
प्रतिक्रिया 4