
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको लिची बगैंचा नामसारी गराउने र विभिन्न ठाउँका जग्गा छुट दर्ता गरिदिने नाममा बिचौलिया सुजन लामाले करोडौं रुपैयाँ उठाएको पाइएको छ।
- सुजन लामाले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग मिलेर जग्गा छुट दर्ता गराइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट पैसा उठाएका छन्।
- सुजन लामा विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा चार ठाडो उजुरी परेको छ र उनीसँग मिलेर राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेश गुरुङले संरक्षण गर्ने काम गरेको गुनासो छ।
३२ असार, पोखरा । पोखराको लिची बगैंचा नामसारी गराउने र विभिन्न ठाउँका जग्गा छुट दर्ता गरिदिने नाममा बिचौलिया सुजन लामाले करोडौं उठाएको पाइएको छ ।
मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सेटिङ गरेर विभिन्न ठाउँको छुट जग्गा दर्ता गराइदिने भन्दै लामाले करोडौं उठाएको पाइएको हो ।
४० वर्ष पुरानो फैसलाअनुसार पोखरा–१६ अमरदीपमा रहेको करिब १३५ रोपनीभन्दा धेरै जग्गा विभिन्न व्यक्तिको नाममा ल्याइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग पैसा उठाएको गुनासो पीडितको छ ।
पोखराका विभिन्न ठाउँका जग्गा मालपोत प्रमुख अधिकारीसँग मिलेर छुट दर्ता गराइदिने भन्दै करोडौं रुपैयाँ असुलेको पाइएको हो ।
पोखराको लिची बगैंचासँगै रहेको जग्गा छुट दर्ता गराइदिने भन्दै तामाङ थरका एक जनाबाट मात्रै ११ करोड रुपैपाँ लामाले लिएका छन् भने अर्की एक महिलाको घरजग्गा नै खाइदिएर उठीबास लगाइदिएका छन् ।
देउतीमाया गुरुङ नाम गरेकी महिलाको लामाले रामबजारको घर खाइदिएका छन् । अहिले त्यो घर अर्कै व्यक्तिले किनिसकेका छन् । छिनेडाँडातिरको छुट जग्गा दर्ता गराइदिने नाममा घर बैंकमा राखेर पैसा निकालेर लामाले लगेका थिए ।
देउतीमायाको छोरीले जग्गा रोक्काका लागि वकिल मार्फत अदालतमा गए पनि वकिलसमेत बिचौलियासँग मिलिदिएकोले अहिले बिचल्लीमा परेकी छन् । जग्गा छुट दर्ता गराउने भन्दै उनले आफन्त मार्फत लिएको पैसा समेत तिर्न नसकेपछि अहिले देउतीमाया विरुद्ध नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी परेको छ ।
देउतीले प्रहरीमा समेत उजुरी गरेकी थिइन् तर कुनै सुनुवाइ नभएपछि अहिले उल्टो पीडित बन्न पुगेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेश गुरुङसँग मिलेर लामाले ठगी धन्दा नै चलाएको पीडितले गुनासो गरेका छन् । लामा विरुद्ध जाहेरी दिन जानेलाई राजेश गुरुङ नामका व्यक्ति मार्फत रोक्ने काम गरिएको पीडितहरुको गुनासो छ । लामालाई मुख्य रुपमा संरक्षण गर्ने काम नै राजेशले गर्ने गरेको उनीनिकट स्रोतको भनाइ छ ।
माघ ११ गते मन्त्रिपरिषद्ले जसको फिल्डबुकमा नाम छ, हकदार स्पष्ट खुलेको, भोगचलन गरिरहेको छुट जग्गा दर्ता गर्ने निर्णय गरेको थियो । यसअघि विभिन्न कारणले दर्तामा छुटेको, मालपोत दस्तुर बुझाइरहेको, भोगचलन सबै यकिन भएका जग्गा दर्ता गर्ने काम अहिले भइरहेको छ ।
भूमि समस्या समाधान आयोगले समेतले यस्ता जग्गा छुट दर्ता गर्न सक्ने मालपोत कार्यालय कास्कीका अधिकृत शोभाखर पोखरेलले जानकारी दिए ।
भूमि आयोग कास्कीका पदाधिकारीहरुसँग समेत मिलेर कास्कीका विभिन्न ठाउँका छुट दर्ता गर्ने भन्दै लामाले विभिन्न व्यक्तिहरुबाट पैसा उठाएका हुन् । सुजनका विरुद्ध प्रहरीमा ४ वटा ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विशालसिंह ठकुरीले ७ लाख ५० हजार रुपैयाँ फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । लामाले धाकधम्की दिएको भन्दै रामबहादुर गुरुङले शान्तिसुरक्षाको माग गरेका थिए । देउतीमाया गुरुङले अर्काकै चेक दिएर ठगी गरेको र घरजग्गा समेत खाइदिएको भन्दै उजुरी दिएको प्रहरीको भनाइ छ ।
मानसिक तनाव दिएको भन्दै लालबहादुर थापामगरले पनि लामा विरुद्ध ठाडो उजुरी दिएका थिए ।
छुट जग्गा दर्ता गराउन लामाले मालपोत, नापी कार्यालय प्रमुखदेखि प्रहरी प्रशासनसम्मलाई हातमा लिने भन्दै पैसा उठाउने गरेको पीडितहरुले बताएका छन् । लामाले पोखरा–१६ को अमरदीपमा रहेको करिब १३५ रोपनी जग्गा हडप्न चलखेल सहित राजीनामा दिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वभूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, वर्तमान मन्त्री बलराम अधिकारी समेतलाई प्रभाव पारेको नेताहरु नै बताउँछन् ।
लामाले गुप्तासँग गरेको कुराकानीको अडियो नै सार्वजनिक भएको छ भने रञ्जिता समेत यो काण्डमा मुछिएकी छन् ।
रञ्जितालाई पोखरामा ल्याउने, घुमाउने, होटलमा राख्ने काम लामाले गर्ने गरेका थिए । लामाले छुट जग्गा दर्ता गराउन गिरोह नै निर्माण गरेका थिए । लामाले पैसा उठाएका अधिकांश मानिसहरुले कतै पैसा पनि नआउने र जग्गासमेत दर्ता नहुने त होइन भनेर खुल्न डराइरहेका छन् ।
लिची बगैंचा जग्गा प्रकरणमा लामाले ३ जना कर्मचारीकै सरुवा गराएका थिए भने मालपोत कास्की प्रमुखमा रामचन्द्र अधिकारीलाई नै ल्याएर काम फत्ते गराउने कसरत गरेका थिए ।
यसअघि नापी कार्यालयले कित्ता यकिन नगरिदिएको भन्दै लामाले विभिन्न राजनीतिक शक्ति प्रयोग गरेर नापी प्रमुख नरबहादुर चन्द र नापी अधिकृत दिनेश लामिछानेको सरुवा नै गराएका थिए ।
कास्की मालपोतमा सुरुदेखि नै पूर्व कार्यालय प्रमुख अधिकारी र अहिलेका प्रमुख पौडेलबीच सरुवाका विषयमा टसल समेत परेको थियो । पौडेल सरुवा भएर आएपछि अधिकारी अदालत समेत पुगेका थिए । तर, उनको माग बदर भएपछि उनी सरुवा भएर लमजुङ पुगेका हुन् । अधिकारीले लिचीबोट जग्गा दर्ता नामसारी गर्न आर्थिक लाभ समेत लिएको आरोप छ ।
मालपोत कास्कीका प्रमुख चिरञ्जीवीको यही जग्गा प्रकरणले सरुवाको निर्णय समेत गराउन लामा सफल भएका थिए । तर, सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले भने सो विषयमा बुझेर मात्र निर्णय गर्ने भनेर रोकेका थिए ।
४० वर्षभन्दा पुरानो फैसला देखाउँदै पोखरा–१६ अमरदीपको लिची बगैंचा बारीका रुपमा चिनिएको जग्गा हडप्ने चलखेल भएको हो । तत्कालीन राजाले राणाहरुलाई बिर्ता दिएको जग्गा अर्कैको नाममा गएको भन्दै २०३१ सालमा अदालतमा परेको मुद्दाको फैसला बोकेर करिब १३५ रोपनी जग्गा हत्याउन चलखेल भएको हो ।
‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरिरहेको छ, मन्त्रीज्यू ! हामी यहाँ हेरेर यसरी बसेर हुन्छ ?’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बिचौलिया सुजन लामाले भनेको सार्वजनिक अडियोमा सुनिएको छ । उनले पोखराको जग्गाले हेरिरहेको भनेको यही लिची बारी हो । जुन जग्गा हत्याउन लामाले हकदार खडा गर्नेदेखि राजनीतिक शक्तिको आडमा कर्मचारीलाई दबाब दिनेदेखि कर्मचारी सरुवा समेत गराएका थिए ।
२०५९ सालमा नयाँ नापी आएर हालसाविक गरेको, पुर्जा स्रेस्ता कायम भएको जग्गा हडप्ने खेल भइरहेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी नै दिएका छन् । स्थानीयले केही शंकास्पद व्यक्तिले आफूहरुको घरजग्गामा घुम्ने, थर्काउने, धम्क्याउने काम गरेको भन्दै सुरक्षाको माग समेत गरेका छन् । जग्गाको दाबी गरिरहेका सुरज शाह ठकुरीहरुले भने त्यो जग्गाको असली हकदार आफूहरु नै रहेको दाबी गरिरहेका छन् ।
२०३१ सालमा विभिन्न व्यक्तिहरुले किर्ते गरी आफूहरुको जग्गा हडपेको भन्दै दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहले कास्की जिल्ला अदालतमा मुद्दा हालेका थिए । जिल्ला अदालतले उनीहरुको मागअनुसार जग्गा कायम गर्न फैसला भएको थियो ।
तत्कालीन जिल्ला, अञ्चल र पश्चिमाञ्चल गरी तीन वटै अदालतले दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहका नाममा जग्गा कायम हुने फैसला नै गरेको छ । तर, अदालतको फैसलाअनुसार त्यो बेलादेखि कुनै दुर्गादेवी वा कुनै लोकदिव्यश्वरी जग्गा आफ्नो नाममा गराउन गएनन् ।
सो जग्गा तत्कालीन राजाले राणाहरुलाई बिर्तामा दिएको जानकार बताउँछन् । २०१६ सालमा बिर्ता उन्मूलन भयो तर त्यो जग्गा भने बिर्ताबाट रैकर कायम नभएको हो । सो जग्गाका विषयमा विभिन्न विवाद थियो भने मुद्दाहरु अदालतसम्म पुगेको फैसलाबाट देखिन्छ । पारिवारिक जग्गा किचलोका कारण मुद्दा मामिला भएको कागजातले देखाउँछ । तर, पछि सो अदालतले दुर्गादेवी र लोकदिव्यश्वरीको कायम हुने फैसला गरे पनि विभिन्न व्यक्तिहरु मार्फत किनबेच भइसकेको थियो ।
विभिन्न व्यक्तिहरुसँग पैसा उठाएर दुर्गादेवी र लोकदिव्यश्वरी शाहको नाममा जग्गा फिर्ता ल्याउने चलखेल पछिल्ला मुख्य रुपमा दुई वर्षदेखि नै चलेको हो । लामाले मुख्य रुपमा दुर्गादेवी शाहको जग्गा फिर्ता ल्याउने भन्दै पैसा उठाउनेदेखि मन्त्री, नेता, कर्मचारीसम्मलाई प्रभाव पार्ने गरेको कर्मचारीहरुको भनाइ छ ।
अदालतको फैसलाअनुसार दुर्गादेवीको नामको जग्गा फिर्ता ल्याउने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएको कर्मचारीलाई दबाब दिने, मन्त्री र नेताहरुसँगको सम्बन्ध र शक्तिको दुरुपयोग गर्ने नेतृत्व लामाले गरेका हुन् ।
लोकदिव्यश्वरीका नाममा जग्गा ल्याउने भन्दै कसरत गर्ने तथा हकदार खडा गरेर मालपोत कार्यालय कास्कीमा निवेदन दिने फेरि अर्को गिरोह छ । ओखलढुंगा घर भई पोखरा बस्ने प्रकाश दाहाल, नेकपा माओवादी केन्द्र पर्वतका संयोजक समेत रहेका उमाकान्त भुर्तेल र पोखरामा निजी विद्यालय समेत चलाएका देव मल्लले लोकदिव्यश्वरीको नाममा रहेको जग्गा फिर्ता ल्याउने भन्दै चलखेल गरेको आरोप छ ।
राजनीतिक शक्ति समेत जोडिएर गर्न खोजिएको यो प्रपञ्चमा सबैभन्दा बढी दाहाल खटिएका थिए । दुर्गादेवी र लोकदिव्यश्वरी दुवै जनाको हकदार खोजेर जग्गा हडप्न प्रपञ्च गर्दै यिनै दुई समूहले मालपोत कार्यालय कास्कीमा निवेदन समेत दिएका हुन् । दुर्गादेवीको नाममा तत्कालीन अदालतले उल्लेख गरेको नक्सा नम्बर २५, २६ र २८ नम्बरको जग्गा पाउन हकदार खडा गरिएको हो ।
यस्तै गरी लोकदिव्यश्वरीको नाममा कायम गर्न अदालतले गरेको फैसलाअनुसार नक्सा नम्बर २, १२, २०, २१, २२ र २७ को जग्गा हत्याउन बिचौलिया प्रकाश दाहालको नेतृत्वमा चलखेल भएको कार्यालयको भनाइ छ ।
दुर्गादेवीको जग्गा हात पार्न नातिनी बुहारी गीतादेवी शाह, नाति सुरज शाह ठकुरी, भीमसेन शाह, सुनिल शाहलाई हकदारको रूपमा खडा गरिएको छ । लिचीबारी हत्याउन चलखेल गरेका लामा र दाहालले कार्यालय प्रमुख तथा कर्मचारीलाई त्रासमा राख्ने गरेका थिए । एमालेका नेताहरुसँग नजिक लामा जनजाति संघ गण्डकीका महासचिव समेत हुन् । घरजग्गाको काम गर्ने क्षेत्रमा लामालाई नामुद बिचौलियाका रुपमा चिनिन्छ ।
प्रतिक्रिया 4