News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोलीमा शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्।
- एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले विश्वकपमै नेपाली सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाएका छन्।
- बसिर अहमद राष्ट्रिय टोलीमा पुनरागमन भएका छन् भने कुशल मल्ल र मोहम्मद आदिल आलम विश्वकप टोलीमा परेनन्।
२२ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा हुँदा शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेरले राष्ट्रिय टिमबाट विश्वकपमै डेब्यू गर्ने अवसर पाएका हुन् ।
उनले अब नेपाली सिनियर टोलीका लागि पहिलो खेल नै विश्वकपमा खेल्न सक्नेछन् । शेर मल्लसँगै बसिर अहमदको पनि टिममा पुनरागमन भएको छ । बसिरले गत असारमा भएको लिग २ शृंखलापछिको टी-२० शृंखलामा खेलेका थिए ।
त्यसपछि भएको टी-२० विश्वकप छनोटम भने मौका नपाएका बसिर एनपीएलमा गरेको प्रदर्शनपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा अटाउन सकेनन् ।
एनपीएलमा चम्किएका शेर
एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेलेका शेरले लगातार दोस्रोपटक उपाधि पनि जिते । उपाधि मात्रै नभएर यो सिजन गज्जबको प्रदर्शन पनि गरेका थिए । यो सिजन सबैभन्दा बढी चर्चा जसको भयो ती शेर मल्ल नै थिए । शेरले अघिल्लो सिजनभन्दा धेरै निखारिएको प्रदर्शन गरे ।
लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुख्य पात्रमध्येका शेरले मिस्ट्री स्पीनमार्फत विपक्षी ब्याटरलाई समस्यामा पारेका थिए । पावरप्लेमै टोलीका लागि विकेट निकालेर दिए ।
कप्तान रोहित पौडेलले उनको भविष्य उज्जवल भएको प्रतिक्रिया समेत दिएका थिए । त्यही अनुरूप शेर विश्वकप खेल्ने टोलीमा पनि परेका छन् ।
तल्लोक्रममा ब्याटिङबाट योगदान दिन सक्ने उनी यस संस्करणको एनपीएलमा बलिङमा सबैभन्दा उत्कृष्ट रहे अनि १० खेलमा १७ विकेट लिएर संयुक्त रूपमा शीर्षस्थानमा रहेका थिए ।
उनको मिस्ट्री स्पिन वाङ्खडे स्टेडियमको पिचमा सहयोगी पनि बन्न सक्छ ।
यसअघि यू-१९ र नेपाल ‘ए’ बाट खेलिसकेका शेर अब राष्ट्रिय टोलीबाट पनि खेल्ने छन् ।
संकटका बेला नायक बन्न सक्ने बसिर
विराटनगर किङ्सबाट दुई सिजन एनपीएल खेलेका बसिर अहमदले यसअघि पनि नेपाल ‘ए’ अनि राष्ट्रिय टोलीबाट भने खेलिसकेका छन् । निरन्तर टोलीमा स्थान बनाइराख्न भने सकेका थिएनन् ।
यद्यपी उनले नेपाल ‘ए’ अनि घरेलु क्रिकेटमा त्रिभुवन आर्मी क्लबबाट खेल्दा पनि मध्यक्रममा भरपर्दो ब्याटरका रूपमा आफूलाई प्रमाणित गरेका छन् ।
यस संस्करणको एनपीएलमा उनले ९ खेलमा १९१ रन बनाएका थिए । टिमलाई संकटबाट पार लगाउने क्षमता भएका बसिरले त्यस क्षमताअनुसारको प्रदर्शन पनि गरिसकेका छन् ।
कर्णाली याक्सविरुद्धको खेलमा उनले संघर्षपूर्ण अवस्थाबाट टिमलाई जित दिलाएका थिए ।
नेपालले हङकङमा भएको चारदेशीय टी-२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध ९२-८ को अवस्थामा पुगेपछि बसिरले नन्दन यादवसँग मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए तर नेपाल ३ रनले पराजित हुन पुग्यो ।
आदिल र कुशल परेनन्
नेपालका लागि टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा खेलेका आदिल आलम र कुशल मल्ल भने विश्वकप खेल्ने टोलीमा परेनन् ।
आदिलको प्रदर्शन विश्वकप छनोटदेखि एनपीएलमा पनि राम्रो हुन सकेको थिएन । विश्वकप छनोटमा २ खेल खेल्दा १८ रन बनाएका आदिलले एनपीएलमा ८ खेलमा ९३ रन मात्र बनाउन सके ।
यस्तै कुशल मल्लले पनि पछिल्लो समय राम्रो लय देखाउन सकेनन् । विश्वकप छनोटमा ५ खेलमा ३३ रन मात्र बनाएका थिए । एनपीएलमा कुशल मल्लले ७ खेलमा ३० नटआउटको उच्च स्कोरसहित १३५ रन बनाए । १ विकेट मात्र लिन सके ।
प्रतिक्रिया 4