News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजित कार्यक्रममा भलिबल खेलाडी हिमाल सुनारीलाई 'पिपल्स च्वाइस अवार्ड' प्रदान गरेको छ।
- सुनारीले क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा र उसु खेलाडी विजय सिन्जालीलाई पछि पार्दै अवार्ड जितेका हुन्।
- सुनारी गण्डकी प्रदेशको च्याम्पियन टिमका प्रमुख खेलाडी हुन् र उनले प्रतियोगिताकै बेस्ट सर्भरको उपाधि जितेका छन्।
२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरेका छन् ।
पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा सुनारीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । दर्शकको भोटिङको आधारमा पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको हो ।
हिमाल सुनारीले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली पनि परेका थिए ।
रेखा पौडेल भोटिङमा दोस्रो स्थानमा रहिन् । त्यस्तै पूजा महतो तेस्रो, विजयी सिन्जाली चौथो र इभाना थापा चौथो स्थानमा रहे ।
हिमाल नवौं एनभीए भलिबल लिगमा उपविजेता बनेको टोलीका महत्वपूर्ण सदस्य हुन् भने पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपमा पनि उपविजेता टोलीको हिस्सा बने ।
तेस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा च्याम्पियन बनेको गण्डकी प्रदेश टोलीका प्रमुख खेलाडीका रूपमा उनले प्रतियोगिताकै बेस्ट सर्भरको उपाधि जितेका थिए ।
नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ लोकप्रिय उनी सामाजिक सञ्जालमा पनि सर्वाधिक रुचाइएका खेलाडीमध्ये पर्छन् ।

प्रतिक्रिया 4