२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।
सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा भेला आयोजना गरिएको जानकारी दिए । उनले भेलामा संस्थापन पक्षमा रहेका शीर्ष नेताहरूलाई भने नबोलाइएको बताए ।
‘भोलि साढे १० बजे केन्द्रीय सदस्यमात्रै हामी बस्छौं । शीर्ष नेताहरू कसैलाई पनि बोलाउँदैनौं,’ ती नेताले भने, ‘संस्थापन पक्षबाट जितेका २५ केन्द्रीय सदस्यको समूहलाई पनि बोलाएका छौं ।’
यसअघि पनि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूलाई बोलाएर पटक–पटक भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरू निर्वाचनअगावै महाधिवेशन हुन नहुने पक्षमा अडान राख्दै आएका थिए ।
यसैबीच संस्थापन पक्षले विशेष महाधिवशेनको काउन्टरमा युवा भेला आयोजना गर्दै छ । २७ पुसका लागि तय भएको भेला बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको छ ।
‘आमनिर्वाचन, १५ औं महाधिवेशन र युवाको भूमिका’ नाम दिएर हुन लागेको भेलाको आयोजकमा संयुक्त भ्रातृ संगठनहरूलाई राखिएको एक नेताले जानकारी दिए । भेलाको संयोजनको जिम्मा नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङलाई दिइएको छ ।
प्रतिक्रिया 4