+
+
Shares

गुगल ट्रान्सलेटमा समावेश हुँदै तामाङ भाषा

तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन-तामाङका अनुसार फागुनभित्र तामाङ भाषालाई गुगल अनुवाद प्रणालीमा लैजाने तयारी भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १८:५६

२४ पुस, काठमाडौं । तामाङ भाषालाई फागुनसम्म गुगल अनुवादमा लैजाने तयारी भएको छ ।

तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन-तामाङका अनुसार फागुनभित्र तामाङ भाषालाई गुगल अनुवाद प्रणालीमा लैजाने तयारी भइरहेको छ ।

यसका लागि एक लाख वाक्य लक्षित गरिएकोमा काठमाडौं विश्विद्यालयको प्राविधिक टोलीले तयार गरेको वेबसाइट tmt.ilprl.ku.edu.np मा ५० हजार तामाङ शब्दहरू इन्ट्री भइसकेको योन्जनले बताए ।

‘आउँदो फागुनसम्म तामाङ भाषालाई गुगल अनुवाद सेवामा प्रवेशका लागि पहल गरिने छ,’ बिहीबार काठमाडौंको बौद्धस्थित तामाङ अध्ययन प्रतिष्ठानमा पत्रकार सम्मेलन आयोजना गरी उनले सुनाए ।

उक्त प्रणाली जनवरी महिनाभरि समुदाय तहमा प्रतिक्रिया र सुझाव लिन खुला गरिएको छ । सही अनुवादका लागि चारवटा अनुवाद मोडलहरू रहेको र यसमा सम्पादन गरी सुझाव दिन समेत सकिने अनुवाद टोलीका सदस्य इन्द्र तामाङले बताए ।

‘तामाङ अनुवाद उपयुक्त नलागेमा आ-आफ्ना प्रतिक्रिया र सुझावका लागि व्यवस्था गरिएको छ,’ तामाङले भने ।

समुदाय तहको प्रतिक्रियापछि एउटा मोडललाई प्रशिक्षित गराइने र थप सुधारका लागि तामाङ भाषी केही गाउँपालिकाहरूमा पुगेर थप प्रतिक्रिया लिइने तयारी रहेको अनुवाद टोलीले जनायो ।

‘गुगल रिसर्चका लागि ‘गुगल त्रैभाषिक मिसिन अनुवाद परियोजना’ को प्रारम्भिक उद्घाटन ११ पुसमा गरिएको थियो । तामाङ-नेपाली-अंग्रेजी भाषाहरू बीचको अन्तर-अनुवादका लागि यो परियोजना सक्रिय रहेको छ ।

प्राविधिक पक्षका लागि सूचना तथा भाषा प्रक्रिया, कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभाग, काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल र तामाङ अनुवाद पक्षका लागि तामाङ राष्ट्रिय पुस्तकालय (तारापु) का अध्यक्ष योन्जनबीच सहकार्यका लागि ४ साउन २०८२ मा हस्ताक्षर भएपछि अनुवाद थालिएको थियो ।

यो त्रैभाषिक मिसन अनुवाद मोडल तयारीमा काठमाडौँ विश्वविद्यालयका प्रा.डा. बालकृष्ण बल, डा. प्रकाश पौड्याल, रूपकराज घिमिरे र विपेशराज सुबेदी, डुबलिन सिटी विश्वविद्यालयका प्रविन आचार्य र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. बलराम प्रसाई छन् भने अनुवाद टोलीमा संयोजक योन्जनसँगै, इन्द्र तामाङ र अनुवादकहरू पेमाछिरिङ तामाङ, बुद्ध योन्जन लामा, उदय थिङ, यकिना अगाध र बिनुका लामा सहभागी छन् ।

नेपालका १४ लाख बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुने विश्वास गरिएको छ ।

हालसम्म नेपाली भाषाका अतिरिक्त दुइवटा मातृभाषा मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगलमा प्रवेश पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?