२६ पुस, काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, त्यहाँका राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र अमेरिकामा मुद्दा चलाइएको विषयलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत भएको भन्दै विरोध गरेका छन् ।
यस्तो कार्यले सार्वभौमसत्ता, अहस्तक्षेप र अन्तर्राष्ट्रिय न्यायका मान्यतामाथि गम्भीर आघात पुगेको उनको भनाई छ ।
एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
विश्व परिस्थितिबारे धारणा सार्वजनिक गर्दै ओलीले पछिल्लो समय विश्व राजनीति झन् तरल, जोखिमपूर्ण र पूर्वानुमान गर्न नसकिने बन्दै गएको उल्लेख गरेका छन् ।
नियममा आधारित अन्तर्राष्ट्रिय प्रणाली कमजोर हुँदै जानु, बहुपक्षीयता क्षीण हुनु र संयुक्त राष्ट्र सङ्घको भूमिका निष्प्रभावी बनाइँदै जानु चिन्ताको विषय भएको उनको निष्कर्ष छ।
ओलीका अनुसार शक्ति राष्ट्रहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण कुनै सार्वभौम राष्ट्रको भूभागबारे उसको अनुपस्थितिमै निर्णय हुने, नेतामाथि प्रत्यक्ष हत्या धम्की, अपहरण, आतङ्कवादी हमला र त्यसको नाममा हजारौँ निर्दोष नागरिक, महिला र बालबालिकाको नरसंहार जस्ता घटना बढ्दै गएका छन् ।
कृत्रिम बौद्धिकता र सूचना प्रविधिको सामरिक प्रयोग तथा जलवायु सङ्कटले पनि नयाँ खालको असुरक्षा सिर्जना गरिरहेको ओलीको धारणा छ ।
यिनै सन्दर्भमा एमालेले स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्धलाई नेपालको कूटनीतिक आधार मान्दै आएको ओलीले स्पष्ट पारेका छन् ।
सरकारमा होस् वा विपक्षमा, पञ्चशील, असङ्लग्नता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मान्यताको पालना गर्दै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र अहस्तक्षेपको पक्षमा एमाले दृढ रहेको उनले उल्लेख गरे ।
अतिवाद, कट्टरपन्थ, संरक्षणवाद, अराजकतावाद तथा दक्षिणपन्थी एवं पश्चगामी राजनीतिको विरोध गर्दै ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने परराष्ट्र नीतिलाई उनले दोहोर्याका छन् ।
कुनै पनि देशले आफ्नो विचारधारा, विकास ढाँचा वा रणनीति अरूमाथि लाद्न नहुने र कुनै राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोकिनु पर्ने उनको धारणा छ ।
भेनेजुएलाको घटनासँगै एमालेले युक्रेनको भौगोलिक अखण्डता विभाजित हुने गरी उसको अनुपस्थितिमा भइरहेका छलफल, ग्रिनल्याण्ड नियन्त्रणमा लिने प्रयास तथा युद्धविरामका बाबजुद गाजा र वेस्ट ब्याङ्कमा प्यालेस्टिनी जनतामाथि भइरहेको ज्यादतिप्रति पनि आपत्ति जनाएका छन् ।
साथै बङ्गलादेशमा हिन्दु लगायत अल्पसङ्ख्यक समुदायमाथि भइरहेका हमलाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न पनि आग्रह गरेका छन् । म्यान्मारमा शीघ्र लोकतन्त्र बहालीको मागसमेत गरेका छन् ।
प्रतिक्रिया 4